अवार्डको पहिचान र कलाकारको कनेक्सन

दिपेन्द्र घिमिरे – ‘अवार्ड’ कुनै पनि ब्यक्ति वा संस्थाले सम्बन्धित क्षेत्रमा हासिल गरेको दक्षता, उसले गरेको योगदानलाई स्विकार्नु हो । उसको त्यही योग्यताको सम्मानमा प्रदान गरिने ठोस बस्तु वा नगद पनि हुन सक्छ जो सार्वजनिक रुपमा प्रदान गरिन्छ । सम्बन्धित ब्यक्ति वा संस्था कुनै पनि अवार्डको भागेदार तब बन्छ जब उसले त्यस अवार्डको गरिमालाई कायम राख्न सक्छ । अवार्ड आयोजकले आफ्नो बुद्धि विवेक र सम्बन्धित व्यक्ति वा संस्थाको बारेमा अध्ययन अनुसन्धान गरेर अनि अवार्ड प्रदान गर्दछ ।

नेपालमा चलचित्र बिकास कम्पनीले अवार्डको इतिहास सुरुवात गरेको थियो । सरकारी तवरबाट सुरु भएको उक्त अवार्डमा वर्षभरी प्रदर्शनमा आएका चलचित्रहरुबाट छानेर राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिन्थ्यो । पछी नेफ्टा अवार्ड हुँदै तत्कालीन समयमा गोपी कृष्ण मुभिजले संचालन गर्दै गरेको चलचित्र विकास कम्पनिमार्फत एनएफडिसी अवार्ड सुरु भयो  । लगभग नेफ्टा सँगसँगै अर्को एक अवार्ड पनि सुरुवात भयो ‘कामना अवार्ड’ ।

नेफ्टा र कामना पछि नेपालमा अन्य व्यक्तिगत र संस्थागत अवार्डहरुको थालनी भएको थियो । वर्तमानमा हेर्ने हो भने नेपालमा २ दर्जनको हाराहारीमा अवार्डहरु आयोजना हुँदै आएका छन् जुसमा ब्यक्ति विशेष र संस्थागत पनि छन् । देशदेखि विदेशसम्म गएर विभिन्न अवार्डहरु हुन थालेका छन् । पछिल्लो समय अवार्ड आयोजक, अवार्डको उदेश्य र गरिमामाथि नै प्रश्न उठ्न थालेका छन् । अवार्ड समारोहहरु दुर्गन्धित बन्दै गएको आरोप सुनिन थालेको छ ।

पछिल्लो समय नेपालमा आयोजना हुने केही मुख्य अवार्डहरु (सरकारी स्तरबाट दिइने बाहेक)

अवार्डमा बेथिति ?

तत्कालीन समयमा नेफ्टाले गर्ने अवार्डमा कलाकारहरुको भिड देखाउनका लागि कलाकारलाई तपाईँले अवार्ड प्राप्त गर्दै हुनुहुन्छ उपस्थित भइदिनु पर्यो भन्दै अनुरोध गर्ने प्रचलनको सुरुवात गर्यो । अवार्ड पाउने भए समारोहमा उपस्थित हुने नभए नहुने प्रचलनको सुरुवात भयो । जुन प्रचलनबाट नेपालमा अवार्डलाई हेरिने दृष्टिकोण फरक हुन थाल्यो । जानकारीबिना स्रष्टाहरु अवार्ड कार्यक्रमहरुमा उपस्थित हुन छाडे ।

अवार्ड कार्यक्रम हुँदै छ यहाँको उपस्थितीका लागि निमन्त्रणा गरेँ भनेर कुनै आयोजकले कुनै स्रष्टालाई सम्पर्क गर्यो भने स्रष्टाले मैले अवार्ड पाउँछु कि पाउँदिन भनेर सोध्न थालेका छन् । आखिर किन र के का लागि उक्त अवार्डमा मेरो उपस्थिती जरुरी छ भन्दापनि मैले अवार्ड प्राप्त गर्छु कि गर्दिन भन्ने सोच स्रष्टाहरुमा विकसित भएको छ । यसको कारण एउटै छ अवार्ड आयोजकहरुको बिगबिगी ।

जसले, जसरी, जस्तो अवस्थामा भएपनि अवार्ड कार्यक्रमको आयोजना गर्न थालेका छन । एउटा सानो कोठामा, रेस्टुरेन्ट, सभा भवन देखि लिएर पाँचतारे होटल सम्ममा अवार्ड कार्यक्रम आयोजना हुन्छन् आजभोलि । यही प्रचलनले अवार्ड समारोहरुमा बेथितीको सुरुवात गरेको हो ।

अवार्ड र कलाकारबीचको कनेक्सन

कलाकार र अवार्डबीचमा गहिरो नाता छ । झन पछिल्लो समय त त्यो नाता निकै गहिरो बन्दै गएको छ । नेपालमा पछिल्लो समय अवार्ड आयोजकहरु बढ्नुको भित्रि कारण अर्कै छ । जुन सतहमा देखिएको छैन । आखिर के कनेक्सन छ अवार्ड र कलाकार बीच सबैको लागि कौतुहलताको बिषय हो यो । पछिल्लो समय हाम्रो देश नेपालमा दर्शक भन्दा बढी कलाकारहरु छन् । श्रोताभन्दा बढी गायकहरु छन् ।कलाकार भनिँदाको उसको फाइदा र काइदा के हो त आखिर ?

पछिल्लो समय विदेश जानका लागि कलाकार बन्नेहरु धेरै छन् । देशमा केहि गर्न नसकेपछि लगानी गरेर कलाकार बन्ने अनि त्यहि ‘कलाकार’लाई प्रयोग गरेर विदेश जान तम्सिएकाहरुको भिड बाक्लो छ । विभिन्न देशहरुले आफ्नो देश जानका लागि बनाएका प्राबधानहरुमा कलाकारहरुका लागि विशेष सहुलियत दिँदै आएको छ । ‘भिसा’प्राप्त गर्नका लागि आमनागरिकलाई भन्दा कलाकारलाई थोरै सहज छ । कलाकार हुँ भन्दै कला क्षेत्रमा गरेका केहि डकुमेन्ट पेश गरेमा सहज रुपमा भिसा प्राप्त गर्न सकिन्छ । हो त्यहि डकुमेन्ट भित्र पर्छ ‘अवार्ड’ ।

सम्बन्धित क्षेत्रमा हासिल गरेको दक्षताको मुल्यांकन गर्दै प्रदान गरिने अवार्ड कुनै पनि कलाकारको विदेश पलायनका लागि महत्वपुर्ण ‘डकुमेन्ट’ बन्ने गरेको छ । उदाहरणका लागि यदि तपाई अमेरिका जान चाहानुहुन्छ भने अमेरिकाले कलाकार तथा सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुका लागि एक्स्ट्राअर्डिनरी भिसाको ब्यवस्था गरेको छ जसमा विभिन्न क्राइटेरियाहरु छन । तिमध्य तपाईले ३ वटा क्राइटेरिया मिट गर्नु पर्छ । त्यहि ३ क्राइटेरिया भित्र पर्छ ‘अवार्ड’ ।

अमेरिका जाने दाउको रुपमा पनि पछिल्लो समय अवार्डको खरिद बिक्रि सुरु भएको हुनसक्छ एक पत्रकारले नाम नखुलाउने सर्तमा भने ।’ अवार्ड बटुल्ने र त्यसैको प्रयोग गर्दै विदेश भासिनेहरुको लाम लामै छ नेपालमा । अवार्डको गरिमा माथि प्रश्न उठ्नु र अवार्ड खरिद गर्न सकिन्छ भन्नुको एउटा कारण यही हो ।

कसरी किनिन्छ त अवार्ड ?

अवार्ड किनिन्छ तर प्रत्यक्ष नभइ अप्रत्यक्ष रुपमा । डाइरेक्ट पैसाको लेनदेन गर्नु भन्दापनि अवार्ड आयोजकका लागि प्रायोजक बनेर अवार्ड खरिद गरिने गरेको एक जानकारको भनाई छ । अवार्ड पाएकाहरुका लागि डकुमेन्टेसन र भिसा अप्लाई गर्न सहज हुने कारणले वास्तिवक सर्जकले भन्दा पनि जसले लगानी गर्छ उसैले प्राप्त गर्छ नेपालमा अवार्ड । अवार्ड प्राप्त गर्नु पर्ने हो । तर आजकाल अवार्ड प्रदान नभई अवार्ड वितरण कार्यक्रमहरुको आयोजना हुन्छ ।

यहि प्रचलनले गर्दा नेपालमा आयोजना हुने अधिकांश अवार्डहरु माथि प्रश्न उठ्ने गरेको छ । र, वास्तविक अवार्ड आयोजक र अवार्डको गरिमा माथि औँला उठ्न थालेको छ ।