‘जेठीलाई आमैले रोजेको, कान्छीलाई आफैंले खोजेको’

दोस्रो विवाह, कसैका लागि परिस्थितिको बाध्यता त कसैका लागि रहर । कसैका लागि यो समयको खेल पनि बनेको छ । तर, अधिकांश समय कलाकारले दोस्रो विवाह गर्नु, बाध्यताभन्दा पनि प्रेम कै खेल हो भन्दा फरक पर्दैन ।

जीवन अघि बढाउन कतिले दोस्रो जीवनसाथीलाई साहरा बनाइरहेका छन् केहीले दोस्रोसँग मन बुझाउन सकेनन् । यही कारण केहीले त दुईभन्दा बढीपटक विवाह गरे ।
नेपालमा एकभन्दा बढी विवाह गर्ने कलाकारको लिस्ट लामो छ । उनीहरुको दोस्रो विवाहको कारण खोतल्ने हो भने अपवादबाहेक सबैले पहिलोहुँदा हुँदै दोस्रो विवाह गरेका छन् ।

बाध्यतामा परेर दोस्रो विवाह गर्ने कलाकार हुन्, हरिबंश आचार्य । पहिली श्रीमति मीरा आचार्यको निधन पछी उनी दोस्रो विवाह बन्धनमा बाँधिन पुगे । पहिलो श्रीमति मिराबाट दुई छोराका पिता हरिवंशले मिराको वार्षिकी लगत्तै रमिला पाठकसँग दोस्रो विवाह गरेका थिए । ५४ वर्षको उमेरमा हरिवंशले रमिलालाई भित्र्याएका हुन् ।

अभिनेत्री बसुन्धरा भुषालको मध्यस्थतामा रमिला र हरिबंशको विवाह भएको थियो । अझ रमाइलो त के छ भने रमिला र हरिवंश दुवैले दोसे विवाह गरेका हुन् । रमिलाका पनि पहिलो श्रीमान्बाट एक छोरा छन् । रमिलाका छोरा अस्ट्रेलियामा पढ्दैछन् । हरिवंशका जेठा छोरा त्रिलोक अमेरिकामा छन् भने कान्छा मोहित काठमाडौंमा रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् ।

बहुविवाहको कुरा गर्दा लिनैपर्ने नाम हो, भुवन केसी । प्लेब्वाईको नामले चर्चित उनले उनले पहिलो विवाह गरेका थिए, समाचारवाचिका विजया मल्लसँग । तर दुई सन्तान हुँदाहुँदै उनको मन बस्यो सुष्मिता बमजनसँग ।

पहिलो श्रीमतिबाट भुवनका विवेक र काजल नामका एक छोरा छोरी छन् भने सुष्मिताको कोखबाट अहिलेका चर्चित स्टार अनमोल केसीको जन्म भएको थियो । भुवन अहिले न विजयासँग छन् न सुष्मितासँग ।

विभिन्न युवतीसँगका नाम जोडिएर कन्ट्रोभर्सीमा आइरहने भुवन अहिले जीया केसीसँग ‘लिभ इन टुगेदर’मा छन् । उनीहरुले विवाह भने गरेका छैनन् । भुवनले जियासँगको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकारेका छैनन् ।

पहिलो छाडेर दोस्रो विवाह गर्नेमा शिव श्रेष्ठ पनि पर्छन् । २०२८ सालमा गंगादेवी श्रेष्ठसँग उनले अग्निसाक्षी राखेर सँगै जिउने–मर्ने कसम खाएका थिए । तर, समयले उनलाई अर्को निर्णयमा पुग्नुपर्ने बनायो । पहिलो दाम्पत्य जीवनले असफलताको घुम्ति काटेपछि उनले सिर्जना श्रेष्ठसँग विवाह गरे । पहिलो श्रीमतिबाट शिवको चार छोरी र एक छोरा छन् ।

उनका छोराले अहिले फिल्ममा डेब्युको तयारी पनि गर्दैछन् । दोस्रो श्रीमतिबाट पनि छोराको जन्म भएको छ । उनी दोस्रो विवाहपछि पनि अरु प्रेम सम्बन्धमा रहेको चर्चा बजारमा आइरह्यो । तर, पछिल्लो समय उनी यस्ता विवादमा आएका छैनन् ।

दोस्रो विवाह गर्ने अर्को जोडी हो, निखिल उप्रेति सञ्चिता लुइँटेल । यी दुवै कलाकारको भने आफैंमा दोस्रो विवाह हो । निखिलसँग विवाह गर्नुअघि सञ्चिताले आकाश शाहसँग लगनगाँठो कसिसकेकी थिइन् भने निखिल पनि कोपिला थापासँग विवाहित थिए ।

फिल्म क्षेत्रबाटै गायब हुनुपर्ने अवस्था आएपछि सञ्चिताले आकाशलाई छाड्ने निर्णय गरिन् । डिर्भोस भयो । फिल्ममा फर्किएपछि सञ्चिता दोस्रोपटक प्रेममा परिन् । उनी थिए, नायक निखिल उप्रेति । संयोग, निखिल पनि विवाहित नै थिए ।

रिल लाइफमा देखिने प्रेम रियल लाइफमै भइदियो । दुवैले भागी विवाह गरे र दुवैको संसर्गबाट एक छोरा र छोरी छन् । तर बजार हल्ला अनुसार निखिल न सञ्चितासँग बस्छन् न कोपिलासँग । निखिल आफ्नो दिदीसँग बस्ने गरेको चर्चा छ ।

नायक कृष्ण मल्ल पनि बहुविवाह गर्ने सूचीमा अटाउँछन् । नायिका शर्मिला मल्ल कृष्ण मल्लकी चौंथी श्रीमती हुन् । शर्मिलाभन्दा अगाडि कृष्णले तीनवटा विवाह गरेको कुरा धेरैले विश्वास नगर्न सक्छन् ।

कृष्णको पहिलो विवाह स्कुल पढ्दा सानै उमेरमा भएको थियो । दोस्रो पटक उनले बाहुनकी छोरीसँग प्रेम विवाह गरे । तेस्रो विवाह नाटकमा अभिनय गर्ने क्रममा सँगै बस्दा र हिँड्दा भयो ।

तीनवाट विवहा असफल भएको अवस्थामा चौथो श्रीमतीको रुपमा शर्मिला कृष्णको जीवनमा आइन् । शर्मिला नै उनको जीवनको असल साथी बनिन् ।

नायिका पुजा चन्द पनि दोस्रो विवाह गर्ने कलाकार हुन् । निर्देशक सुरज चन्दसँगको वैवाहिक जीवन टुटेपछि उनलाई दोस्रो विवाह गर्न कर लाग्यो । सुरजको तर्फबाट उनको एक छोरी पनि छिन् ।

लामो समय अमेरिकामा रहेपछि उनीहरुले कानुनी रुपमा अलग हुने निर्णय लिएका थिए । त्यसपछि पुजाले अमेरिकामै बसोबास गरिरहका राजु लामालाई आफ्नो जीवनसाथि चुनिन् ।

निर्माता छविराज ओझा पनि दुईभन्दा बढी विवाह गर्ने सेलिब्रेटी हुन् । शिल्पा पोखरेलसँग विवाह गर्ने तयारीमा रहेका छविले शिल्पासँग विवाह गरे उनी चौथो श्रीमतिको रुपमा छविको जीवनमा प्रवेश गर्नेछिन् । छविले संघर्षकालामा झापाकी युवतीसँग विवाह गरेका थिए । तर त्यो विवाहमा छविको मन रमेन ।

फिल्म ‘नाता’ खेल्न आएकी गिताञ्जली सुनुवारसँग नै छविले नाता गाँसे । पहिलो श्रीमतिबाट दुई छोरा रहेका छविका गिताञ्जलीको कोखबाट पनि एक छोरा छन् । आफैंले हिरोइनमा डेब्यु गराउने र धर्मपत्नी बनाउने सिलसिला छविले यसपछि पनि जारी राखे । फलत : ‘हिरो’ फिल्मबाट आफैंले डेब्यु गराएकी नायिका रेखा थापा छविकी तेस्रो श्रीमति बन्न पुगिन् । तर रेखाले पनि छविलाई आधीबाटो मै छाडिदिइन् ।

तर शिल्पा पोखरेल छविको चौथी श्रीमतिको रुपमा भित्रिइन् भने कुनै अचम्म मान्न पर्दैन । धेरैको अनुमान अनुसार दुवैले विवाह गरिसकेका छन्, तर बाहिर भन्न मात्र सकिइरहेका छैनन् ।

नायिका मौसमी मल्लले पनि दोस्रो विवाह गरेकी छिन् । धनविक्रम मल्लसँग डिर्भोस भएपछि उनले व्यापारी रवि डंगोललाई जीवनसाथी चुनेकी थिइन् । दुई फिल्ममा देखिएका विक्की मल्ल मौसमीको पहिलो पतितर्फका सन्तान हुन् ।
तर उनको दोस्रो विवाहले पनि सफलता पाएन । डंगोलसँग पनि मौसमी साथ छैनन् ।

निर्देशक प्रशन्न पौडेल र सिम्पल खनाल पनि दोस्रो विवाह गर्ने फिल्मकर्मी हुन् । कुनै सयमा प्रशन्न आफ्ना म्युजिक भिडियोमा सिम्पललाई नै लिन्थे । त्यसक्रममा उनीहरुको प्रेम झांगियो । त्यसपछि उनीहरुले विवाह गर्ने निर्णय लिए र बन्धनमा बाँधिए ।

तर, उनीहरुलके वैवाहिक जीवन सुखद भएन । धेरै समय टिक्न नपाउँदै यो जोडी टुट्यो । सिम्पलले प्रशन्नसँगको सम्बन्ध बिसर्जन गरेको केही समयमै दोस्रो विवाह गरिन् ।
उनले भारतीय मूलका ब्यापारी नदिमलाई आफ्नो दोस्रो जीवनसाथी रोजिन् । लामो समय एक्लै बसेका प्रशन्नले पनि केही समयअघि दोस्रो विवाह गरे । ‘कमलेको बिहे’ गराउन लागेका प्रशन्नले श्रृष्टि खतिवडासँग आफैं बिहे गरे ।

शंकर बिसी पनि दोस्रो विवाह गर्ने अर्का कलाकार हुन् । नाच्न, नचाउन माहरि शंकर बिसीले गायिका निशा सुनारसँग दोस्रो विवाह गरेका हुन् । आफ्नो करियरका लागि निकै संघर्ष गरेका शंकरले निशालाई दोस्रो श्रीमतिका रुपमा भित्र्याएपछि एक सन्तानको जन्म भइसकेको छ ।

‘जालीरुमाल’ नायक सुधाम्सु जोशी पनि दोस्रो विवाह गर्ने कलाकार हुन् । उनले अमेरिकामा नायिका उषा पौडेलसँग लगनगाँठो कसेका छन् । त्यसअघि उनको पहिलो वैवाहिक जीवन असफल भएको थियो ।

उमेरले ५० काटिसकेका निर्माता पवन मैनाली पनि दोस्रो विवाह गर्ने कलाकार हुन् । उनले लक्ष्मी शिवाकोटीलाई दोस्रो जीवनसाथीका रुपमा भित्र्याएका थिए ।

भनिन्छ, मान्छेको विवाह स्वर्गमा नै लेखिन्छ । तर कति पटक लेखिन्छ त्यो भने न भगवानलाई थाहा हुने रैछ न दोस्रो तेस्रो विवाह गर्नेलाई । कलाकारले दोस्रो विवाह गर्ने अनेक कारण होलान् तर अरु पेशाको तुलनामा कलाकर्मीमा सम्बन्ध दीगो नहुने समस्या अलि बाक्लै छ । कतै यो हरिवंशले गाएको गीत जस्तो त हैन , ‘जेठीलाई आमैले रोजेको, कान्छीलाई आफैंले खोजेको ।’
फोटो  : गुगल