आफ्नै हात जगन्नाथ, संगीतकार आफैं गायक बनेपछि मर्कामा गायक

संगीतकारहरूले डाढुपन्यू हातमा लिएर आफूलाई मात्र भाग लगाउन थालेपछि गायकको रुपमा गुजारा चलाउँदै आएका गायकहरू मर्कामा परेका छन् । सार्वजनिक रुपमा यस्ता गायक मुख खोल्न चाहाँदैनन् तर सबैको मनमा छ, ‘संगीतकारले आफूहरुको रोजीरोटीमा धावा बोलिरहेका छन् ।’

‘नीर जैले रिसाउने’ र ‘कुटुमा कुटु’बीच एउटा समानता छ । त्यस्तै समानता ‘किन आजकल तिम्रो मन मैलो भो ’ र ‘सान्नानीलाई भेट्न आउँदा’मा पनि देख्न सकिन्छ । फरक फरक फिल्मका गीतमा देखिने समानता भनेको यी गीतमा आवाज दिने गायकको हो । र ,यी गीतमा आवाज दिने गायक हैनन्, संगीतकार हुन् । गायक त उनीहरू पछि भएका हुन् ।

पछिल्लो समयमा चर्चामा रहेका संगीतकार कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी, अर्जुन पोखरेल, बसन्त सापकोटा, टंक बुढाथोकी आदि करिअरको सुरुवातमा संगीतकार थिए तर बिस्तारै गायक बनेका छन् । तर, गायकको रुपमा उनीहरूको उपस्थिति गीतको मागभन्दा पनि ‘आफ्नै हाथ जगन्नाथ’को भावनाले आएको धेरैको टिप्पणी छ ।

अझ ख्याल गर्नुपर्ने कुरा के छ भने संगीतकारको रुपमा स्थापित भइसकेका माथि उल्लेखित कुनै पनि गायकको गायकीको प्रशंसा आजसम्म भएको छैन ।


धेरै सफल गीतमा संगीत भरेका अहिलेका चर्चित संगीतकार तथा गायक राजनराज सिवाकोटी संगीतकारको रुपमा भन्दा पनि गायकको रुपमा बढि सफल देखिए । लोकदोहोरी शैलीका संगीत सिर्जना गर्दै संगीत क्षेत्रमा सक्रिय रहेका राजनले जुन दिन ‘सुर्के थैली’ गाए ती दिनबाट उनले संगीतकारको मात्र चोला त्यागे ।

अहिले उनको संगीत लिने हो भने अरु गायकलाई गाउन दिने कल्पना पनि नगर्दा हुन्छ । संगीत लिने हो भने गाउन पनि उनलाई नै दिनुपर्छ ।  राजनराज भन्छन् ‘आफूलाई सुट हुने भएकाले नै उक्त गीत गाएको थिएँ । हिट हुने चाहना वा अन्य स्वार्थ केही थिएन् ।’

उनलाई संगीतकार गायक पनि भएकोमा अनर्थ भए जस्तो लाग्दैन । उनको बुझाइमा संगीतकार आफैमा एउटा गायक पनि हो । भन्छन् ‘संगीतकारमा गाउने क्षमता पनि हुन्छ । यदि आफूलाई सुहाउने गीत छ भने किन अरु गायक खोजिरहनु?’ उनी आफ्नो हकमा त्यही लागू भएको दाबी गर्छन् ।

‘म आफै गीत लेख्छु, आफै संगीत भर्छु, अनि स्वरलाई श्रोताले मनपराइहनु भएको छ त्यसैले आफै गाउँछु पनि ।’


त्यस्तै, भर्सटाइल संगीतकार तथा गायकका रुपमा परिचित छन्, कालिप्रसाद बास्कोटा । उनले पनि सुरु सुरुमा संगीत दिएर थुप्रैलाई हिट बनाए तर अहिले आफूले संगीत भरेको गीतमा आफै स्वर दिने गरेका छन् ।

संगीतकारको रुपमा स्थापित उनी आफूलाई सुहाउँदो गीत छ भने आफै गाउने गरेको बताउँछन् । ‘मलाई सुहाउदो गीत म गाउँछु नत्र त नयाँ धेरैलाई मौका दिएको छु मैले ।’
‘अहिले सबै राम्रा गायक व्यस्त हुनुहुन्छ । उहाँहरुलाई गीत रेकर्ड गर्ने फुर्सद पनि छैन’, काली भन्छन् ‘टाइम नभएपछि गायकको मेहनत कम हुन्छ । गीत राम्रो नहुने डरले आफै गाउँछु ।’

संगीतकार गायनतर्फ आकर्षित हुनमा कालीले रोयल्टी पनि कारण रहेको बताए । ‘संगीतकारले खास रोयल्टी पनि पाउँदैनन् । सायद रोयल्टीको लागि पनि संगीतकारहरू गायनमा आकर्षित हुनुहुन्छ ।’


प्रेमिल गीतहरुमा संगीत गर्न माहिर मानिन्छन् अर्जुन पोखरेल । उनले संगीत गरेका धेरै गीतहरु हिट छन् । उनी संगीतकार मात्र नभएर गायक पनि हुन् । उनले ‘मेरो सुखले दिन ढल्दैन’, ‘तिमी नि आधा’, ‘किन आजकाल तिम्रो मन’ लगायत गीतमा स्वर दिएका छन् ।

तर, उनी आफ्नो गीत अरुले राम्रो गाउँछ भने उसैलाई गाउन लगाउने गरेको बताउँछन् । भन्छन् ‘मेरो गीत म आफैले गाउनु पर्छ भन्ने छैन् । जसले मेरो गीतलाई न्याय गर्छ त्यसैलाई गाउन दिन्छु ।’ उनी आफ्नो गीत राम्रो बनाउन तिर लाग्छन् । आफ्नो गीत हो भन्दैमा जस्तो पनि गीत गाउन नहुने उनको तर्क छ ।

गायकको काम गाउने र संगीतकारको काम संगीत गरेर गायकलाई गाउन दिने भएको अर्जुन बताउँछन् ।


बसन्त सापकोटालाई पनि सफल संगीतकारको रुपमा लिइन्छ । उनी पनि पछिल्लो समय आफू अगाडि आउन चाहेको बताउँदै आफ्नो गीत आफै गाउने तर्क राख्छन् । ‘स्टेज कार्यक्रम होस् वा अन्य गायकको नाम अगाडि आउँछ ।

तर, गायकले न संगीतकारको नाम लिन्छ न गीतकारको’, उनले भने ‘अब हामी पनि अगाडि आउनु पर्छ भन्ने भएर गीत पनि गाउन सुरु गरेको हुँ ।’
आफूलाई अगाडि ल्याउने बाहानामा जस्तो पनि गीत नगाउने बसन्त बताउँछन् ।

‘मलाई सुहाउने गीत छ भने आफै गाउँछु । सुहाउदैन भने त के गर्नु अरुलाई गाउन दिनै पर्छ,’ उनी भन्छन् ।


संगीतकारहरूले डाढुपन्यू हातमा लिएर आफूलाई मात्र भाग लगाउन थालेपछि गायकको रुपमा गुजारा चलाउँदै आएका गायकहरू मर्कामा परेका छन् । सार्वजनिक रुपमा यस्ता गायक मुख खोल्न चाहाँदैनन् तर सबैको मनमा छ, संगीतकारले आफूहरुको रोजीरोटीमा धावा बोलिरहेका छन् ।

यस्तै गायकहरूका प्रतिनिधी हुन् युवराज चौंलागार्इँ । फिल्म पाश्र्व गायनमा बल्ल छाउन लागेका चौंलागाईले अघिल्ला वर्षमा अवार्ड त खुब थापे तर सोही अनुसारका गीत भने पाएका छैनन् । यही समयमै संगीतकारहरू गायक बन्न थालेपछि युवराज ‘स्याड सङ’ टाइपका गीतमा मात्र खोजिन थालेका छन् । उनले घुमाएर गायक अन्यायमा परेको बताए ।

‘स्वर राम्रो छ र आफूलाई म्याच गर्छ भने गाउँदा राम्रै हो । तर स्वर म्याच नहुँदा नहुँदै गाउनु भनेको चाहीँ बिलकुलै राम्रो हैन् । त्यसो गर्दा राम्रो र मेहनत गरेर आएका गायकहरु मारमा पर्छन । संगीतकारले त संगीत भर्ने हो, गीत गाउने गायकले हो नि हैन ?’ युवराज चौलागाईले भने ।


एकाध फिल्मका गीतमा आवाज दिएका विश्व नेपालीले पनि संगीतकारले भटाभट गीत गाउन लाग्दा गायकहरु मरमा परेको पनि बताए ।

‘संगीतकारले आफै गीत गाउदा हामी गायकहरुलाई मार त परिहाल्छ नै । संगीतकारहको काम संगीत गरेर गायकलाई गाउन दिने हो जस्तो लाग्छ । आफूलाई सुहाउने गीत भएको खण्डमा गाए पनि हुन्छ । तर, संगीतकारले संगीत गरेकै राम्रो,’ विश्व नेपालीले भने ।


देशकै सांस्कृतिक कार्यक्रम र विदेशका सोबाट गायकले राम्रो कमाइ गरेको देखेपछि संगीतकार गायनतर्फ लोभिएका हुन् । अझ रोयल्टीले संगीतकारलाई खास स्थान दिएको नदेखेपछि संगीतकार दुइटा डुङगामा खुट्टा हाल्न तयार भएका हुन् ।

गायक तथा संगीतकारको दोहोरो छवि बनाएका सत्यराज आचार्य स्टेज कार्यक्रमको लोभमा गायक बन्नु संगीत क्षेत्रकै लागि घातक हुने बताउँछन् । ‘स्टेज कार्यक्रम पाउने आशमा संगीतकारहरुले गीत नगाएको राम्रो, उनले भने, ‘आफूसँग त्यो गीतलाई न्याय गर्न सक्ने क्षमता छ भने चाहीँ गाए हुन्छ । तर, संगीतकारले गाएको गीतभन्दा गायक-गायिकाले गाएको गीतको लेभल माथि हुन्छ ।

फिल्मको पाश्र्व गायन तथा सुगम संगीतमा अत्यधिक रुचाइएका स्वरुपराज आचार्यले पनि संगीतकारहरु गायकको आरिशले गाउन थालेको हो कि भन्ने आंशका गर्छन् ।
‘गायक हिट भयो भनेर आरिश गरेर गाउन थाल्नु हुदैन् । आफूलाई सुहाउने छ भने गाए हुन्छ ।

मैले कत्ति संगीतकारहरुलाई आफैँ गाउन सुझाएको छु । तर, आफू हिट हुने लोभमा गीतको भाव मर्ने गरी संगीतकारले गीत नगाएको राम्रो,’ उनले भने ।