दादा साहेब फाल्के अवार्ड मनीषालाई


भारतीय सिनेजगतका पिता मानिने दादा साहेब फाल्केको १४८ औँ जन्मजयन्तीका अवसरमा अभिनेत्री मनीषा कोइराला ‘दादा साहेब फाल्के अवार्ड २०१८’ सम्मानित भएकी छिन् । उनलाई ‘मोस्ट भर्सटाइल एक्ट्रेस’ अवार्डबाट सम्मानित गरिएको हो ।

फाल्केको जन्मजयन्तीका अवसरमा आयोजित फाल्के अवार्ड समारोहमा अभिनेता अक्षय कुमारलाई सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री सोनम कपुर र भूमि पेडणेकरलाई श्रेष्ठ अभिनेत्री पुरस्कार प्रदान गरिएको छ ।

दादा साहेब फाल्के फिल्म फाउन्डेसनले हरेक वर्ष यो पुरस्कारको आयोजना गर्दै आएको छ । आवार्ड जुरीले अक्षय कुमारको फिल्म ‘प्याडमेन’  र ‘टायलेट एक प्रेम कथा’ मा उनले निभाएको भूमिकाका लागि बेस्ट एक्टर पुरस्कार प्रदान गरेको हो । भूमि पेडणेकरलाई पनि यिनै फिल्ममा निभाएको भूमिकाका लागि सम्मान गरिएको हो भने सोनमलाई ‘प्याड मेन’ का लागि बेस्ट एक्ट्रेस अवार्ड दिइएको हो ।

भारतको प्रतिष्ठित अवार्डका रूपमा चिनिने दादा साहेब फाल्के अवार्डमा आइतबार राती मनीषा सम्मानित भएपछि सम्मान लिन स्टेजमा पुगेकी थिइन् । यस वर्षको बेस्ट फिल्ममा ‘सोनु के टिटुकी स्विटी’ मनोनीत भएको छ ।

समारोहमा राकेश रोशनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । एक्टर फरिदा जलाललाई सरस्वती बाई दादा साहेब फाल्के अवार्ड प्रदान गरियो ।

यसबाहेक राजेश शर्मालाई बेस्ट चरित्र अभिनेता, नीति मोहन र भूमि त्रिवेदीलाई बेस्ट सिंगर (महिला), आदित्य नारायणलाई बेस्ट टिभी सो होस्ट, मनीष पाललाई बेस्ट टिभी एन्टरटेनर र सन्दीप मारवाहलाई बेस्ट सर्ट फिल्म प्रोड्युसरको पुरस्कार प्रदान गरिएको छ । सम्मान समारोहका जम्मा २२ विधामा पुरस्कार प्रदान गरिएको थियो ।
साभारः नया पत्रिका