दृश्यांशको उत्कृष्ट लघु फिल्म ‘रात १३’

सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता दृश्यांशको पहिलो पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघु फिल्म ‘रात १३’ ले प्राप्त गरेको छ । दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रो विजय गजमेरद्वारा निर्देशित ‘द ईन्टरभ्यु’ ले प्राप्त गरेका छन् ।  त्यसैगरी पब्लिक च्वाईस अवार्ड अमृतले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित ‘स्माईल’ ले बेष्ट मेन्सन प्राप्त गरेको छ ।

टपटेनमा पर्न सफल नविन न्यौपानेको ‘द डिपार्चर’, सुन्दर लामाको ‘कथा : एन इन्टीमेसी वीथ टाईम’, नव श्रेष्ठको ‘ए कता’, खुश्बु शर्माको ‘वुमरी’, असीमको ‘ड्रीम अफ हाउस वाईफ’, अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तुः आवश्यकता’ समेत प्रदर्शन गरिएको थियो ।

पहिलो हुनेलाई रु ७५००० नगदपुरस्कार, दोस्रोलाई स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याव प्रदान गरिएको थियो साथै उत्कृस्ट ३ लाई सर्वनामद्धारा निःशुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड प्रदान गरिएको थियो ।

सर्वनामका संस्थापक तथा नाटककार अशेष मल्लले सिनेकर्मी मात्र नभई जो कोहीले पनि भाग लिन सक्ने भएकाले दृश्यांसको आयोजना गरिएको बताए । दृश्यांशको संयोजक समेत रहेकी सम्पदा मल्लले दृश्यांशको अवधारणाले कम बजेटमा फिल्म बनाउन उदाहरणीय भुमिका खेल्ने बताईन् ।

निर्णायक मण्डलमा दिपक रौनियार, निश्चल बस्नेत, अविनाश विक्रम शाह र शुसिल पौडेल रहेका थिए । सिनेमाघर एपको सह आयोजना तथा नियो स्पेयर, दालभात पावार र कान्तिपुर फिल्म एकेडेमीको प्रायोजन रहेको थियो । कार्यक्रममा बोल्दै निर्देशक तथा चलचित्रकर्मी निश्चल बस्नेतले दृश्यांश चलचित्र निमार्णको नयाँ अवधारणा सुरु भएको बताए । रंगकर्मी राज शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।