‘लम्फू’ले मलाई एक्टर भनेर चिनाए पुग्छ – कबिर खड्का

फिल्म ‘लम्फू’बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका कबिर खड्कासँग चुनौती नै चुनौती छन । एक त इन्जिनियरिङ्ग छोडेर फिल्ममा होमिएका छन र उनलाई ‘स्टार’ हुनु छ । यतिमात्रै होइन फिल्मका अर्का नायक सलोन बस्नेतसँग पनि उनी असुरक्षित हुन सक्छन, कारण उनले अभिनय गरेको धेरै जसो फिल्ममा आफु हाबी हुने गरेका छन । प्रचार प्रसारमा उनलाई लिड हिरो भनिएको छ । अर्कोतर्फ डेब्यु फिल्ममै लिड रोलमा भएका कारण ‘लिड’को साख पनि धान्नु छ । आफ्नो तर्फबाट सक्दो मेहनत गरेका कबिरले एक सिनका लागि १४ महिना दारी समेत पालेका थिए । म स्टार होइन भन्ने कबिरसँग फिल्म ‘लम्फू’सँग आधारित रहेर गरिएको कुराकानी :

कबिरको डेलि लाईफ कसरी बित्छ ?
मलाई प्राय जस्तो घुमिरहन मन लाग्छ । मान्छेहरुलाई नहेरेजस्तो गरेर हेरिरहन मन लाग्छ । म मान्छेको बिहेभियर हाउभाउ देखि लिएर बडि ल्याङग्वेजलाई अध्ययन गर्छु । त्यसले मलाई मेरो एक्टिङ करियरलाई पनि सपोर्ट गर्छ जस्तो लाग्छ । किनकी हामी पर्दामा देखिने मात्र हौँ हामीले निभाउने भूमिका वा फिल्मको पात्र त्यही समाजबाट प्रेरित हुन्छ ।

तपाईलाई फिल्ममा कसरी इच्छा जाग्यो ?
मलाई एसएलसी को छेउ छेउ तिर इच्छा जाग्यो । तर मलाई फिल्म लाईनमा कसरी आउने, कहाँ पढ्ने केहि थाहा थिएन । मैले प्लस टू गरे । त्यसपछि म काठमाडौँ ईन्जिनियर पढ्नलाई आएको थिए तर रहर नजागेपछि बिच्चैमा ईन्जिनियर छोडेर फिल्म पढ्न थाले । मलाई एक्टिङको भूत चढेको थियो । त्यो भूत मैले कहाँ पोख्ने त ? त्यो पोख्ने ठाउँ त फिल्ममा हो नि त । त्यसैले म फिल्मप्रति अट्राट भएँ ।

‘लम्फू’सँग तपाई कसरी जोडिनुभयो ?
म मेरो कलेजको फाईनल ईयर तिर पढ्दै थिए । त्यहि दौरानमा मलाई लम्फू फिल्मको लागि अडिसनमा बोलाउनुभयो । अडिसन दिए, राम्रो पनि भयो । उहाँहरुले मेरो कामलाई मन पराईदिनुभयो । त्यसपछि फिल्ममा मलाई लिनुभयो ।

तपाईले जुन सोचका साथ फिल्म लाईनमा ईन्ट्रि गर्छु भन्नु भएको थियो, त्यहि सोचको फिल्म हो लम्फू ?
लम्फू मैले सोचेको फिल्मभन्दा माथिको पाए । किनभने प्रायजस्तो पहिलो फिल्ममा साईड हिरो तिर एक्सपेक्ट गरेको थिए । तर भाग्यले साथ दिएको कारण मैले फिल्मको लिड रोलनै पाए ।

आँफैले आँफैलाई कत्तिको च्यालेन्ज गर्नुभएको छ ?
लिड रोल त्यतिकै पाइँदैन, त्यसको लागि आफू पनि तयारीमा हुनुपर्छ । त्यहि कारण मैले ३ बर्षको एक्टिङ क्लासको ब्याचलर गरे । हिरोसँग हुनुपर्ने परफेक्ट प्याकेज बनाउँन बडि बनाए, डान्स क्लास जोइन गरे, सानोमा कराते पनि सिकेको हुनाले मेरो बेस राम्रो थियो । सबैचिज देखेर पनि फिल्ममा मलाई लिनुभयो की जस्तो लाग्छ मलाई ।

लम्फू भित्र अर्को एकजना कलाकारपनि हुनुहुन्छ सलोन बस्नेत जसले लिड रोललाई जहिले पनि डोमिनेट गर्नुहुन्छ भन्ने धेरैको बुझाई छ । लम्फू भित्र त्यो छ कि छैन ?
प्राय जस्तो जुन फिल्ममा सलोनले लिड हिरोहरुलाई खाईदेको भन्ने कुरा छ, त्यसमा रहेको रोल र यो फिल्ममा रहेको रोल छुट्टै छ । फिल्ममा सिन ब्यालेन्स हुनको लागि सालोन म भन्दा माथि हुनु पर्ने छ । सिनको डिमान्डनै म सलोनको अन्डरमा हुनुपर्ने छ । अनि मात्रै सिन ब्यालेन्समा देखिन्छ नत्र देखिदैन । त्यही भएर मलाई सलोन माथि हुनै पर्छ जस्तो लाग्छ ।

यसले तपाईको करियरलाई कतिको बुस्ट गर्ला त ?
म स्टार होइन,कलाकार पनि होइन । हाम्रो मुख्य स्टार भनेको नै स्टोरी,सबजेक्ट हो । जब सलोन हाबि हुदा स्टोरी राम्रो हुन्छ । जब स्टोरीले दर्शकलाई आकर्षण गर्छ भने स्टोरी हिट भएपछि त म पनि हिट भइहाल्छु नि । सलोन हाबी हुँदा फिल्म चल्छ भने म पनि चल्छु नि । मेरो सोच त्यति हो ।

तर फिल्ममा अभिनय गरिसकेपछि स्टार हुने लोभ त हुन्छ नि होइन ?
हजुर, मलाई स्टार हुने लोभ छ । मान्छे भएपछि ठूलो स्टार बन्ने कस्लाई रहर हुन्न र । तर यो फिल्मबाट त स्टार हुने आश गरेको छैन । मलाई सिर्फ एक्टर भनेर चिनाए पुग्छ । तर यस्तै राम्रो राम्रो फिल्म गर्दै गएँ भने पछि स्टार बन्छु होला ।
मैले आफ्नो तर्फबाट जतिसक्तो मेहेनत गरेको छु । एउटा सिनको लागि १४ महिना दारी पनि पालेको छु । दादारीरि पाल्न त्यती सजिलो हुँदैन रहेछ । त्यसको पिडा मैले त्यहि बेला थाहा पाएँ । म त्यति ह्यान्डसम छुईन नि त । त्यसैले होला धेरैले मलाई फिल्ममा कति पैसा हालेर खेल्नुभयो भनेर पनि सोध्नुभयो ।

तपाईको पहिलो फिल्म त्यसमाथि लिड रोल, यस्तो प्रश्न आउदा तपाईलाई कस्तो महसुस भयो ?
जब त्यो पैसावाला प्रश्न आयो नि म एक छिन् ब्लांक भए । त्यसपछि मैले सोचेँ, मलाई किन फिल्ममा लिनुभएको होला जस्तो लाग्यो । सायद म जस्तै एभरेज लुकिङ भएकोहरुको र स्ट्रगल गरिरहेकोहरुको लागि म प्रेरणा हुन सक्छु होला । मैले यसलाई पोजेटिभ रुपमा लिएको छु ।

त्यो पैसावाला प्रश्नले सहि जवाफ पाउला ?
जरुर पाउनेछ । प्रेसर त्यहि अनुसारको छ । किनभने मेरो काम राम्रो भएन भने मान्छेहरुले पैसा हालेर आएको भन्छ । काम राम्रो भयो भने ट्यालेन्ट रहेछ र त फिल्म पाएछ भन्ने ठान्छन् । त्यसको लागि बैशाख २८ गते सम्म कुर्नु पर्ने हुन्छ । फिल्म रिलिज भएपछी त्यो प्रश्नले पक्कै जवाफ पाउनेछ ।

प्रमोसनल पार्टबाट कत्तिको सेटिस्फाइड हुनुहुन्छ ?
हाम्रो कुनै स्टारको फिल्म होइन । ननस्टार फिल्मले यतिको हाईट पाउनु म राम्रो ठान्छु । म एकदमै सेटिस्फाइड छु ।

ट्रेलर हेरिसकेपछि कतिले तपाईको एक्टिङ अलि लाउड भयो भन्ने प्रतिक्रियाहरु आएका छन्, त्यो तपाईले फिल गर्नुभएको छ ?
हजुर मैले धेरै फिल गरेको छु । मेरो ड्रेसअपहरु भएन भनेको सुनेँ । लम्फू एक जोकरको क्यारेक्टर हो । त्यसैले हामीले फिल्म अनुसारनै ड्रेसअपहरु गरेका थियौँ । र कमेडी फिल्ममा कहिले लाउड कहिले नर्मल हुनुपर्छ जस्तो लाग्छ । यो प्रतिक्रियाहरुको जवाफ फिल्मले पक्कै दिनेछ ।

दर्शक लम्फू हेर्न हलसम्म किन जाने ? कबिरलाई पर्दामा किन हेर्ने ?
मलाई हेर्ने होइन फिल्मको पात्र हेर्नु भन्छु म त । यो कमन मान्छेको स्टोरी हो । त्यसैले धेरै मान्छेहरुसँग रिलेट गर्छ कि जस्तो लाग्छ । मलाई त कसैले चिन्नुपनि हुन्न । पात्रको इनोसेन्स, सत्यता, मान्छेले आफू राम्रो हुँदाहुँदै पनि नराम्रो गर्ने जस्ताकुराले भरिएको छ हाम्रो फिल्मको कथा र त्यसले दर्शकलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेरिसकेपछि पात्रदेखि बाहिर निस्किसकेपछि मात्र मलाई चिन्ने हो ।

सुटिङका केही अविस्मरणिय क्षण ?
मलाई दारि पाल्ननै सबैभन्दा गार्हो भयो । लगभग १४ महिना दारि पाल्नुपर्यो । कोठामै बसिरहे । आफ्नै अनुहार हेरेर दिक्क लाग्थ्यो । आँफैले आफूलाई भालुजस्तै देख्थेँ । फ्रस्ट्रेसनहरु धेरै भयो ।  त्यो चाँही बिर्सिन्न ।

कबिर प्रेममा छ ?
प्रेममा कुनै जवनामा थिए । तर आजकल आफ्नै करियरको प्रेममा परेको छु ।

लम्फू पछाडि प्लानिङ के छ ?
स्कृप्टहरु आईरहेको छ । तर मैले बैशाख २८ गते कुरिरहेको छु । आफूले के के गल्ती गरेछु भनेर पर्खिरहेको छु । ती गल्तिहरुलाई सुधारेर मात्र अर्काे राम्रो प्रोजेक्ट गर्ने चाहाना छ ।

कस्तो स्कृप्ट आयो भने काम गर्नुहुन्छ ?
स्पेसल लभ स्टोरी गर्न मन लागेको छ ।