कर्माले आफ्नो विगतलाई फर्किएर हेर्ने कि ?

फिल्म ‘सानो संसार’मा पहिलो पटक हिरो हुँदा अभिनेता कर्माको फ्यान खुबै थिए । उनको अभिनय, लुक्सलाई लिएर यूवतीहरु मरिहत्ते गर्थे । कर्मालाई फिल्मको सेन्ट्रल क्यारेक्टरमा लिएर फिल्म बनाउनेहरुको कमी थिएन । कर्मालाई नेपाली फिल्मको नयाँ सुपरस्टार भनिन्थ्यो । तर, समय बदलिएसँगै कर्माको फिल्मी यात्रा ओरालो बाटोमा लाग्यो । उनलाई फिल्ममा हिरो भन्दा पनि क्यारेक्टरको रुपमा लिन निर्माताहरुले चाहे ।

कर्माको आफ्नै बलले फिल्म चल्न छाडे । बरु, अरु कुनै चर्चित हिरोको फिल्ममा उनी सहायक हिरोको रुपमा देखिन थाले । अभिनेता कर्मा निर्माण हुन लागेको नयाँ फिल्म ‘रोजी’मा अभिनेता प्रदिप खड्काको साथमा देखिदैछन् । तर, फिल्मको सम्पूर्ण क्रेडिट प्रदिपले नै लानेमा शंका गर्न सकिदैन ।
आखिर, किन सहायक हिरोमा कर्माको मन जान थालेको होला ? कर्माले पत्रकारलाई भने–‘के मैले सहायक हिरो भएर काम गर्नै हुँदैन र ? मलाई फिल्मको क्यारेक्टर मन पर्यो भने मुख्य वा सहायक जे भएपनि गर्न आपत्ती छैन । एउटा कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्छ ।’ कर्माले यसो भनिरहँदा आफ्नो विगतलाई संझन आवश्यक छ । फिल्म क्षेत्रमा स्टारडम बनाउँदै गरेका हिरोहरुको दबदबामा रहेर काम गर्ने दिन कर्माको यति चाडै आएकै हुन् त ? कुनै समय अरु हिरोहरु कर्माको फिल्ममा काम गर्न चाहन्थे । तर, अहिले कर्मालाई राम्रो भूमिका भए पुग्ने भएको छ । कर्माजी, स्टारडम सकिन आँटेको बिषयमा पनि ध्यान दिने कि ?