एक्सप्रेसको नाममा टुकटुकको यात्रा – ‘कोहलपुर एक्सप्रेस’ समीक्षा

पछिल्लो समय निर्मातामा हास्य शैलीका फिल्म बनाएर बलेको आगो ताप्ने शैलीको विकास भएको छ । यसको दबदबा यस्तो छ कि निर्माता निर्देशकहरु जस्तो सुकै गम्भीर विषयमा पनि लेखकलाई कमेडी हाल्न दबाब दिन्छन् । तर केकी, प्रियंका र ऋचाले पनि यसरी बलेको आगो ताप्ने रहर गर्नु समग्र उद्योगका लागि दुःखको कुरा हो ।

कार्टुन : अभिषेक दास

‘कोहलपुर एक्सप्रेस’ तेलगु फिल्म ‘मुम्बई एक्सप्रेस’को नक्कल रहेको कुरा कुनै रहस्य रहेन । निर्माता केकी अधिकारी स्वयंले यसलाई ‘मुम्बई एक्सप्रेस’बाट प्रभावित भनेर खुट्टा उठाइसकेकी छिन् । उनले प्रभावित भने पनि यो फिल्म प्रभावित होइन,पूराका पूरा नक्कल हो । फिल्मको अन्त्य केही फरक छ, बीचका केही दृश्य यताउता गरिएका छन् त्यो बाहेक फिल्म दुरुस्त छ । त्यसका बावजुद यसको दुःखद पक्ष के हो भने मुम्बई एक्सप्रेसले जति रमाइलो गराउँछ त्यति रमाइलो पनि यो फिल्मले गराउँदैन । त्यसैले यसलाई फ्रेस सिनेमा भनेर हेर्ने हो भने पनि देशका उम्दा तीन अभिनेत्रीको अभिनय रहेको यो फिल्मले दर्शकको अपेक्षा पूरा गर्दैन ।
दशै मनाउन सर्टकट बाटो रोज्ने क्रममा प्रियंका कार्की र उनका पति बुद्धि तामाङले मारवाडीको छोरा अपहरणको योजना बनाउँछन् । सबै कुरा सेट छ तर ऐन मौकामा बुद्धिको भुँडी दुख्छ र अस्पताल पुग्छ । उनको ग्यांगमा विनोद न्यौपाने पनि छन् तर उनको समस्या के छ भने उनलाई बाइक चलाउन आउँदैन । त्यसमाथि भैंसीले टोकेर उनको हात काम नलाग्ने हुन्छ । अघिल्लो दिन नगरीनहुने अपहरणका लागि प्रियंकाले केकीलाई सम्झिन्छिन् जो कोहलपुर एक्सप्रेसको नामले परिचित छिन् । फ्ल्यासब्याकबाट थाहा हुन्छ केकी र प्रियंका बच्चैदेखिका साथी पनि हुन्छन् । केकी सुरुमा त बच्चा अपहरणको योजनामा संलग्न हुन मान्दिनन् तर प्रियंकाले जोड गरेपछि बच्चा अपहरण गर्न राजी हुन्छिन् । बच्चा अपहरणपछि आउने ट्विस्ट र टर्न नै कोहलपुर एक्सप्रेसको कथा हो । तर फिल्मको पटकथा र निर्देशन यति फितलो छ कि नक्कलका बावजुद फिल्मले दर्शकलाई दुई घन्टा बाँधेर राख्न सक्दैन ।

सान बस्नेतले लेखेको पटकथा मौलिक नै हुँदो हो भने पनि कमजोरीले भरमार छ । फिल्मको पहिलो दृश्य नै लगभग ५ मिनेटको छ । र यही दृश्यमा फिल्मका भएभरका कमजोरी छरपस्ट छन् । कलाकारको डबिंग खुस्किएको छ, फिल्ममाथि निर्देशकको कमान्ड छैन । कमेडी फिल्मको लयबाट पनि निर्देशक बिशाल भण्डारी बेखबर छन् । तास फिटे झैं दृश्यहरु आउँछन् जान्छन् तिनलाई दिशा दिने मामलामा निर्देशकको प्रयत्न देखिन्न । म्युजिक भिडियो निर्देशनमा लामै अनुभव बटुलेका भण्डारीको अनुभव फिल्मको निर्देशनमा देखिन्न ।
बच्चाको अपहरणपछि फिल्मले गति समातेको छ तर त्यो गति हाफटाइमसम्म मात्र कायम छ । हाफ टाइमपछि भने फिल्म ऋचा शर्माको चरित्रमा पसेर रोचक हुनुको साटो झन् दिक्क लाग्दो भएको छ । अझ उनको चरित्र पुष्टि गर्ने चक्करमा राखिएका फ्ल्यासब्याकले फिल्म गति धिमा बनाउन थप मद्धत गरेका छन् । यसले ऋचाको चरित्र चित्रण त विश्वसनीय बनेको छ तर फिल्मको लय गुमेको छ । अझ त्यसमाथि ऋचाको अभिनय लाउड भइदिँदा दर्शकलाई रमाइलो हैन दिक्क लाग्छ । गम्भीर चरित्रमा सुहाउँदै आएकी ऋचाले यस्तो रिस्क नलिएकै राम्रो ।
ऋचाबाहेक बाँकी कलाकारको अभिनय भने फिल्मको सुखद पक्ष हो । फिल्ममा प्रियंका कार्की र केकी अधिकारीले आफ्नो भूमिका राम्ररी निर्वाह गरेका छन् । छुच्ची गर्भवती युवतीको रुपमा प्रियंकाले प्रभावित गर्छिन् । एक्सप्रेसन र डाइलग डेलिभेरी सही भए पनि उनको मेकअप भने सोही अनुसारको छैन । गर्भवती बनेको उनको शरिरको आकार परिवर्तन भइरहन्छ भने मेकअपमा पनि गर्भवती युवतीको झल्को पाइन्न ।
मुम्बई एक्सप्रेसमा कमल हासनले निर्वाह गरेको भूमिका निभाएकी केकी अधिकारीले कम बोल्ने र संवेदनशील युवतीको भूमिका राम्ररी निर्वाह गरेकी छिन् । तर फिल्मको पटकथा उनको चरित्रको गहिराइसम्म भने पुग्नबाट चुकेको छ । केकीको भूमिकामा थप काम गरेको भए फिल्म थप ओझिलो हुन्थ्यो ।

फिल्म प्राविधिक रुपमा पनि कमजोर छ । पहिलो दृश्यबाटै डबिंग मिलेको छैन । अर्जुन तिवारीको छायांकन पनि उम्दा छैन । तर कालीप्रसाद बाँस्कोटाले गाएको गीतलाई पाश्र्वमा प्रयोग गरेर शैलेश श्रेष्ठ र रोहित शाक्यले फिल्मलाई धेरथोर बचाएका छन् । बाँकी दुई गीतको प्लेसमेन्ट राम्ररी मिलेको छैन । तर दुवै गीत श्रुतिमधुर छन् ।
पछिल्लो समय निर्मातामा हास्य शैलीका फिल्म बनाएर बलेको आगो ताप्ने शैलीको विकास भएको छ । यसको दबदबा यस्तो छ कि निर्माता निर्देशकहरु जस्तो सुकै गम्भीर विषयमा पनि लेखकलाई कमेडी हाल्न दबाब दिन्छन् । तर केकी प्रियंका र ऋचाले पनि यसरी बलेको आगो ताप्ने रहर गर्नु समग्र उद्योगका लागि दुःखको कुरा हो । अझ यसका लागि पूराका पूरा भारतीय फिल्मको सहारा लिनु झन् दुःखको कुरा हो ।
त्यसैले एक्सप्रेस चढाउने सपना देखाएर केकी र विशालले दर्शकलाई टुकटुक चढाएका छन् । यो साधनले गन्तव्यमा त पुर्याउँछ तर उतिसारो यात्राको आनन्द दिलाउँदैन ।