लोक संगीतको भोक मेट्दै प्रकाशको ‘बोल माया’

“के रैछ र जिन्दगी भन्नु ए बरै एक मुठी सास मात्रै”
आसुँ/हाँसो, मिलन/बिछोड जिन्दगीको रित नै यही हो शायद । माया मै संसार अढेको छ । पाउन्जेल आफ्नै लाग्छ नपाए पराई । पाउनेलाई माया नपाउनेलाई पिडा । तर पाएर पनि गुमाउनुको पिडा शायदै कसैले बयान गर्न सक्ला । बयान होला त केवल शब्द रुपी भावनाको । मनको भाव न कसैले बोल्न सक्छ न पोख्न । त्यो त बुझ्ने कुरा हो । तर सबैले कहाँ बुझ्छन र ? बुझ्नलाई पनि माया नै चाहिन्छ, अन्तरमनको ।

पिडा अनुभुत हुन्छ, शायद आँसुले त्यसलाई ब्यक्त गर्छ । अरु कुनै माध्यम हुन नै सक्दैन ।अनायासै भाव बदलिन्छ । मन रुन थाल्छ, हुक्क हुक्क । त्यही हुक्क हुक्कबाट सुरु हुन्छ मनको रुहाई डाँको छोडेर । त्यही ‘डाँको’ले बुझाउछ मनको पिडा । आफुलाई होइन आफु रोएको देख्नेहरुलाई ।

अनी कहिले काहीँ शब्द खर्चिन मन लाग्छ, पिडा देख्नेहरुलाई । हो त्यस्तै गरेका छन गायक प्रकाश सपुतले ।

समय, परिस्थिती र बाध्यता अनी विवसताको भुमरीमा जेलिन्छ एक पुरुष अनी छोड्छ आफ्नो जन्म थलो र विदेशिन्छ । मनका अनेकन इच्छा, आकांक्षा र जरुरत पुरा गर्ने धोको सहित । सोचे र खोजे अनुसार कहाँ हुन्छ र जिन्दगी ? सपना बोकेर विदेशिएको त्यो मानिस फर्किन्छ बाकसमा, मुर्दा बनेर । उसँग जोडिएका सबै सम्बन्ध र सपना माथि त्यहाँनेर कुठाराघात हुन्छ । जोडिएका सम्बन्ध सबै तोडिन्छन ।

उसले त सुख पाउला थाहा छैन तर उसको आशमा बसेकाहरुको निराशता कसले बुझ्न सक्छ र ? अझ बिहेको दिन भित्रिँदा दियो नै निभेको थियो भने ? अब यसले मेरो छोरोलाई खान्छे । समाजले धिक्कार्न थाल्छ, भन्न थाल्छ यो त अलच्छिना छ । मानसपटलमा आफ्नोलाई गुमाउनुको भन्दा ठुलो पिडा त्यो सोचले दिन्छ । उसलाई बुझ्ने कोशीस कसैले गर्दैन । बुजे पनि बुझ पचाउँछ । नारीलाई सुख कहाँँ छ र ? गरे पुरुषले गर्यो नगरे यसको कारण गर्न सकेन । जता ततै आरोप ।

यस्तै आरोप अनी बेदना समेटिएको गीत बजारमा ल्याएका छन गायक प्रकाश सपुतले । ‘बोल माया‘ बोलको उक्त गीतका शब्द संगीत गायकी भिडियो सबै मार्मिक छन । सपुत कै शब्द संगीतमा नारायण रायमाझी र शान्ति श्री परियार र प्रकाशको समेत स्वर रहेको उक्त गीतको भिडियोमा अन्जली अधिकारीर प्रकाश कै अभिनय रहेको छ ।

सायद नेपाली लोक संगीतले भुलेको पाटो कोट्टाएका छन् प्रकाश सपुतले । बर्षौ भयो नेपाली लोक संगीतको क्षेत्र भोकाएको । त्यो भोक मेट्ने प्रयास हो प्रकाशको ‘बोल बोल माया’ भन्दा फरक नपर्ला ।