आक्रामक ‘शत्रु गते’ देशभर ३८० भन्दा बढी शो

२०७४ले विदा लिँदै गर्दा फिल्म उद्योगको नजर ‘शत्रु गते’मा छ । आजबाट देशभरका १ सय २६ हलको २९० पर्दामा  रिलिज थालेको फिल्मको ओपनिङ आक्रामक देखिएको छ । निर्देशक प्रदिप भट्टराईले दिएको जानकारी अनुसार आज देशभरका १२६ हलमा ३८० भन्दा बढी शो पाएको शत्रु गतेको सायद यो रेकर्ड नै हुन सक्छ । सायदै कुनै फिल्मले एकैदिन यति धेरै हल र शो पाएका छन् । हास्य कलाकारका फिल्मले दर्शक लोभ्याइरहेको समयमा मदनकृष्ण श्रेष्ठ र हरिवंश पनि थपिएका छन् जो हास्य कलाकारिताका भिष्म पितामह मानिन्छन् । यो फिल्मबाट अपेक्षाको अर्को पाटो यो पनि हो कि  महजोडी आफैं सत्र वर्षपछि फिल्म निर्माणमा होमिएका छन् र अभिनयमा पनि लामो ग्याप पछि फर्किएका छन् । फिल्मको प्रचारका लागि टिमले खर्चिएको श्रम र अर्थका कारणले पनि फिल्म आक्रामक हुने अनुमान धेरैको थियो ।

पहिलो दिनमा फिल्मले सोचे अनुरुप कै प्रदर्शन गरेको र ब्यापार पनि आक्रामक रहेको बितरक गोपाल काजी कायस्ठले मेरो फिल्मलाई जानकारी दिएका छन । यद्धपी फिल्मको इनिसियल कलेक्सन रिपोर्ट आउन बाँकी छ । बितरक कायस्थले दिएको जानकारी अनुसार बिहानी शोमा दर्सकको उपस्थिती केही कम भए पनि दोश्रो शो देखी अधिकांश शो हाउसफुल रहेको छ । उनले भने एस.ई.ई परीक्षाका बाबजुद पनि फिल्ममा दर्शकको उपस्थिति निकै बाक्लो रहेको छ र भोलिबाट शो पनि थपिने छ ।

निर्देशकको रुपमा निकै चुनौती मोलेका प्रदिप भट्टराईले हामीसँग कुराकानी गर्दै भने ‘म माथि प्रमुखत ५ चुनौतीहरु थिए । मनमा डर र साहस दुवै थियो । एकातिर मदन दाई, हरि दाईको साख जोगाउनु पर्ने चुनौती अर्को तिर छक्का पञ्जा टिम । पल आचलको स्वीट केमेस्ट्रीलाई पर्दामा उतार्दै जात्राबाट म आफैले कमाएको इज्जत जोगाउन सक्नु पर्ने चुनौती पनि थियो म सँग । त्यति मात्र कहाँ हो र ? यी चार वटै चुनौतीलाई मिक्स गरेर दर्शकलाई उत्कृष्ट फिल्म दिनु पर्ने च्यालेन्ज थियो । च्यालेन्ज स्विकार गर्दै शत्रु गते आजको दिनमा आइपुग्दा खुशी छु जुन साथ सहयोग र प्रतिकृया दर्शक र मिडियाकर्मीबाट पाएको छु ।’

यता निर्माता किरण केसी पनि दङ्ग छन दर्शकको साथ पाएर । हुन त फिल्म मेकिङ पनि ब्यापार नै हो पैसा कमाउन कै लागि लगानी गर्ने हो तर दर्शकको मायाका अगाडि पैसा नगन्य लाग्दो रहेछ । ‘जती पनि हलमा आज हामी पुग्यौँ कतै पनि नराम्रो भन्ने शब्द सुनिन’ उनले भने । खुसि छु । अभिनेता दिपक राज गिरीको भने अलि फरक मत रह्यो । उनले भने ‘फिल्मको ओपनिङ आक्रामक भयो भन्नु भन्दा पनि वर्ड अफ माउथ राम्रो भयो । उनको अनुसार आज सिगंल पर्दा ५०% अकुपेन्सी र मल्टीप्लेक्समा ७०%को अकुपेन्सी कायम गर्न चलचित्र सफल रह्यो ।’  कृ को भन्दा राम्रो ओपनिङ फिल्मले गरेको भन्दै उनले भने ‘सायद छक्का पञ्जा २ पछिको राम्रो शत्रु गतेले गरेको छ ।’ उनले थपे ‘फिल्मकर्मीले फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् तर दर्शकको प्रतिक्रिया राम्रो छ ।’

छक्का पञ्जा २ निर्मात्री तथा शत्रु गतेकी कलाकार दिपाश्री निरौलाले भनिन ‘पैसाको रेकर्ड आफ्नो ठाउँमा छ तर दर्शकको मायाको रेकर्ड कायम गर्न सफल भएका छौँ त्यसमा खुसि छौँ । पैसाको रेकर्ड त हिजो छक्का पञ्जाले तोड्यो अहिले शत्रु गतेले तोड्ला भोलि फेरी अर्को चलचित्रले तोड्ला सबै भन्दा ठुलो कुरा दर्शकको साथ, माया र हौसला पाएका छौँ ।’

समग्रमा भन्दा शत्रु गते नेपाली फिल्म इतिहासमा अर्को एउटा आयाम हुन सक्छ । नेपाली फिल्मका दर्शकले जस्तो खालको फिल्मको खोजी गरेका थिए त्यस्तै शत्रु गते बनेको अनुमान सजिलै लगाउन सकिन्छ ।