मानव तस्करी गिरोहको नाइके ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतम

नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । क्यानाडा निवासी गौतम दुई वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । करिब २ वर्षअघि गौतमको समूहले तीन नोपली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो । उनीहरुसँगै एक कलाकारलाई समेत हाइटी पुर्याइएको थियो । प्रहरीले अनुसन्धानका लागी भन्दै उक्त कलाकारको नाम भने गोप्य राखेको छ ।

हाइटीहुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका पुर्याउने उनीहरुको योजना रहेको थियो । तर, उनीहरु सवार पानीजहाज बिग्रीएर समुद्री छालको बहावसँग बग्दै बहामास भन्ने देशमा पुगेपछी उक्त पानीजहाजलाई त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरु आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका हुन् ।

उनीहरुले गरेको उजुरीकै आधारमा प्रहरीले बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको छ ।

अपराध महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार पीडितहरुले गौतमलाई पैसा दिएको प्रमाण भेटिएको छ । गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएका थिए । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए । सो फिल्मबाट उनको थप चर्चा भएको थियो ।

पछिल्लो समय वैदेशीक कार्यक्रमका लागी भन्दै गैर कलाकारहरुलाई विदेश लाने गिरोहहरुको सकृयता निकै बढेर गएको छ । कलाकार भन्दा विदेश लान सहज हुने र विदेश पुगेपछि लुकेर वा लुकाएर राख्नेहरुको संख्यामा वृद्धि आएको छ । कतिपय व्यक्ति त विभिन्न माध्यमको प्रयोग गरि गैरकानुनी रुपमा लुकिछिपी विभिन्न देश पुग्ने गरेका छन् । र, उनीहरुलाई लाने व्यक्तिले उनिहरुसँग मोटो रकम असुल्ने गरेका घटनाहरु सुन्न पईन्छ । यस्तै घटनाहरुका बीचमा मानव तस्करमा सकृय गौतम नाइके रहेको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न भने प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।