निर्देशन गरेको पैसाले पहिलो गीत रेकर्ड गरेँ – गायक सुनिल सिंह ठकुरी

केही दिन अगाडी रिलिज भएको गीत ‘जानी नजानी लाएको माया’ अहिले चर्चामा छ। युट्युबमा पनि गीतको भिडियोले दिन प्रति दिन भ्युअर्स बढाइरहेको छ । गीतको चर्चासँगै गायक र भडियोको पनि उत्तिकै चर्चा छ। यस गीतलाई सुनिल सिंह ठकुरीले स्वर दिएका छन् । गीतमा सुनिलकै शब्द तथा संगीत रहेको छ ।

गीतमा वास्तविक कथा
‘जानी नजानी’ गीतमा वास्तविक कथालाई समेटिएको छ । एउटा गहिरो प्रेम बिछोडपछिको पिडालाई सुनिलले गीतमा उतारेका छन् । सुनलि भन्छन् ‘यो गीत काल्पनिक भन्दा पनि एउटा वास्तविक घटना प्रस्तुत गरेको छु’ ।
सुनिलका एक साथी छन् । जसले उनलाई यो गीत लेख्न उत्प्रेरित गरे ।

सुनिलको साथीले सुनिललाई आफ्नो प्रेम विछोडको कहानी सुनाए । त्यही कहानीलाई लिएर उनले यस गीत तयार पारेका छन् । ‘यो गीत मेरो साथीको वास्तविक घटना हो’, भन्छन्, ‘उसले मलाई आएर काहानी सुनाएपछि यसलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरेको हुँ ‘।

उनले साथीको हरेक कुराहरुलाई शब्दमा ढालेका छन् । उदाहरण दिदै उनी गीतका केही किस्सा पनि सुनाउँछन् ।

गीत बन्न लागेको तिन वर्ष
सुनिल यस गीतलाई तयार गर्न तिन वर्ष लागेको बताउँछन् । भन्छन् ‘यो गीतलाई फाइनल गरेर रिलिज गर्न मलाई तिन वर्ष लागेको छ’ । किन त्यती लामो समय ? प्रश्नमा उनी भन्छन् ‘हैन्, गीत एक हप्तामा पनि तयार गर्न सकिन्छ तर मलाई यो गीत उत्कृष्ट बनाउनु थियो त्यही भएर तिन वर्ष लगाए’ ।

उनले यस गीत चार/पाँच जनालाई मिक्सिङ गर्न दिए । तर, कसैले गरेको उनलाई राम्रो लागेन । उनी भन्छन् ‘मैले यो गीत धेरैलाई मिक्सिङ गर्न दिए । कसैले गरेको मन परेन त कसैले ढिला गर्दिनुभयो । ‘एक जना व्यक्तीले गरेको मिक्सिङ उनलाई मन परेको थियो । तर उनलाई आफ्नो स्वर राम्रो नभएको जस्तो लाग्यो उनले फेरी रेकर्डिङ गरे । ‘एक जना दाईले गर्दिनु भएको मिक्सिङ ठिक लाग्या थियो तर मेरो भोकल नमिलेको जस्तो लागेर रि-रेकर्डिङ गर्ने निधो गरे’ ।

फिल्मको लागि बनेको थियो गीत
यो गीत फिल्मको लागि भनेर तयार गरिएको गीत थियो । फिल्म ‘लभ क्याफे’मा यस गीत समावेश गरिने सम्झौता भएको थियो । तर, फिल्म बनेन । सुनिल भन्छन् ‘यो फिल्मको टाइटल गीत भनेर बनाइएको गीत थियो । फिल्म नबनेपछि यो गीतलाई म्युजिक भिडियो बनाइएको हो ।’

भिडियोले पाएको प्रशंसाबाट दंग सुनिल
अहिले युट्युबमा उक्त गीतको भिडियोले प्रशंसा पाइरहेको छ । भिडियोको कन्सेप्टलाई पनि दर्शकले रुचाएका छन् । भिडियोमा आँचल शर्मा, राजु ज्ञाबक र सुनिल आफैंले अभिनय गरेका छन् ।
‘भिडियोलाई नितिन चन्दले एकदमै राम्रो बनाइदिनु भएको छ’, सुनिल भन्छन् ‘कलाकारले पनि एकदमै राम्रो काम गरिदिनु भएको छ । त्यसैले पनि भिडियो यति राम्रो बनिदियो’ ।

दर्शकले दिएको प्रतिकृयाबाट आफु निकै दंग भएको सुनिल बताउँछन् । भन्छन्, ‘तिन वर्ष गरेको मेहनत बल्ल साकार भएको जस्तो लागेको छ । उहाँहरुले दिनुभएको प्रशंसाबाट निकै दंग छु’ ।

रुचि पहिल्यै देखि
सुनिललाई सानै देखि संगीतमा चासो थियो । पढाईमा कमजोर उनलाई घर परिवारले भने संगीतमा खासै सहयोग गरेको थिएन् । तर, उनको सपना नै संगीत भएकाले उनले निरन्तर आफुलाई त्यही कुरामा केन्द्रित गरे । उनी भन्छन् ‘मेरो सपना नै संगीत थियो । त्यसैले घरबाट सपोर्ट नमिल्दा पनि त्यसैमा लागिरहे’ ।

भिडियो निर्देशन गरेको पैसाले गीत रेकर्ड
एसएलसी सक्किए लगतै उनले एक म्युजिक भिडियो निर्देशन गरेका थिए । उनलाई निर्देशनको बारेमा केही थाहा नभए पनि भिडियो निर्देशनको आट गरे । ‘म सानै देखि एकदमै आटिलो मान्छे जे गर्न नि अगाडी सरिहाल्थे’, उनी भन्छन् ‘अफर आइहाल्यो त्यसैले केही नजानेर पनि निर्देशन गर्ने आट गरे’ ।

भिडियो निर्देशनमा उनलाई क्यामेरा म्यानले सहयोग गरे । उनकै सहयोगमा भिडियो तयार भयो । उनी सम्झिन्छन् ‘उहाँले नै यो सट यसरी लिनुपर्छ । यस्तो उस्तो भनेर सिकाउनु भयो । त्यहीँबाट सिकेर नै भिडियो तयार पारे’ ।
भिडियो निर्देशन गरको पैसाले उनले आफ्नो सपना पुरा गरे । मतलव, उनले आफ्नो पहिलो गीत रेकर्ड गराए । उनी भन्छन् ‘भिडियो बनाउँदा आएको पैसाले नै पहिलो गीत रेकर्ड गराएको थिए ‘ ।