११ औ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

विभिन्न ६ विधामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्दै ११ औ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको महोत्सव आठ दिन सम्म कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा भएको थियो । महोत्सवमा १७ प्रतियोगी नाटक र शैलीको ‘सुनौलो माछा’ (अप्रतियोगी) गरी जम्मा १८ नाटक मञ्चन गरिएको थियो । बुधबार समापन कार्यक्रममा उत्कृष्ट हुनेहरुलाई पुरस्कार स्वरुप शिल्ड, नगद, प्रमाणपत्र र मायाको चिनो वितरण गरियो ।


‘स्व. चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार’ लिभरपुल स्कुलको नाटक ‘टीका’ बाट आभा शर्मा नेपालले प्राप्त गरिन् । त्यस्तै बृहस्पति विद्यासदन स्कुलको प्रस्तुति नाटक ‘ए क १’ ‘अन्तोंन चेकोभ उत्कृष्ट नाटक पुरस्कार’ बाट सम्मानित भयो । दुवै पुरस्कारमा शिल्ड, नगद सात हजार र प्रमाणपत्र रहेको छ ।

‘शैली थिएटर उत्कृष्ट अभिनेता पुरस्कार (बालिका)’ नाटक ‘आनमया’ बाट क्रिएटिभ एकेडेमी कीर्तिपुरकी नुमा लिम्बूले हात पारिन् । त्यसैगरी ‘स्व. रेश्मीप्रसाद सापकोटा उत्कृष्ट अभिनेता पुरस्कार (बालक)’ रिलायन्स पब्लिक स्कुलको नाटक ‘ड्रग्स एब्युज’ बाट सफल बस्नेतले प्राप्त गरे । दुवै जनालाई दश हजार नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरियो ।

‘बाल–कोसेली प्रोत्साहन पुरस्कार’ काठमाडौं वर्ड स्कुलको ‘कति पढिस् ?’ नाटकबाट युरोपजंग थापाले प्राप्त गरे । ‘स्व. रामकेशर बोगटी पब्लिक च्वाइस पुरस्कार’ बृहस्पति विद्यासदन स्कुलको नाटक ‘ए क १’ का अनुप्राश पाण्डेले प्राप्त गरे । दुवै जनाले शिल्ड, नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

समापन कार्यक्रममा बोल्दै शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले महोत्सवको आगामी संस्करणमा गुणस्तर साथै विषय–वस्तुमा थप ध्यान दिने बताए । प्रतियोगितामा निर्णायकको रुपमा कलाकार देशभक्त खनाल, नाट्यकर्मी सरस्वती चौधरी र पत्रकार एवम् समीक्षक सुशील पौडेल थिए ।