‘हेरा फेरी’ रिलिजको २० वर्ष पूरा, यस्ता छन् रमाइला किस्साहरु

सन् २००० मा रिलिज भएको सुपरहिट कमेडी फिल्म ‘हेरा फेरी’ को प्रदर्शनको २० बर्ष पुरा भएको छ । अहिले सम्म पनि उस्तै ताजा र दर्शकहरुको मनमा बस्न सफल फिल्मको निर्देशन प्रियदर्शनले गरेका थिए । फिल्ममा अक्षय कुमार, सुनिल शेट्टी, परेश रावल र तबू मुख्य भूमिकामा थिए ।

‘द इन्डियन एक्सप्रेस’ ले गरेको एक अनलाइन सर्वेक्षणमा यो फिल्म उत्कृष्ट बलिवुड कमेडी फिल्म बन्न सफल पनि भएको थियो । गएको मार्च ३१ मा २० बर्ष पुरा गरेको फिल्मबारे केहि रमाईला किस्साहरु यस्ता छन् –

अक्षय र रम्भाको गीत
‘हेरा फेरी’ मलायलम फिल्म ‘रामजी राव स्पिकिंग’ को रिमेक हो र यो फिल्म अभिनेता अक्षय कुमारको पहिलो कमेडी फिल्म हो । फिल्ममा अक्षय कुमार र रम्भाको गीत ‘मुझसे मिलती है’ राखिने कुरा थियो । यो गीतलाई फिल्मको प्रमोसनमा पनि देखाइएको थियो तर फिल्म रिलिज हुँदा रम्भा र गीत दुवै फिल्ममा थिएनन् । उक्त गीत उदित नारायण झा र अल्का याज्ञनिकले गएका थिए ।

स्टारकास्टमा फेरबदल
फिल्मको स्टारकास्टमा पनि फेरबदल गरिएको थियो । पहिले फिल्ममा अक्षय कुमार, संजय दत्त, परेश रावल र करिश्मा कपुर फाइनल भएका थिए तर पछि संजयको सट्टा सुनिल शेट्टी र करिश्माको सट्टा तबूलाई फाइनल गरियो । संजय दत्त त्यतिबेला मुद्धा मामिलामा अल्झेको कारण समय दिन सकेका थिएनन् । करिश्माले भने आफ्नो भूमिका चित्त नबुझेर छोडेकी थिइन् । त्यस्तै सुनिल शेट्टी भन्दा पहिला अजय देवगनलाई फिल्मको प्रस्ताव गरिएको थियो तर उनले अक्षय कुमारलाई दिईएको भूमिका गर्न खोजे पछि उनको ठाउँमा सुनिल शेट्टीलाई ल्याईएको थियो ।

रवीना टंडनको ठाउँमा नम्रता शिरोडकर
फिल्मको ‘तुन तुनक तुन’ गीतमा डान्स गर्नको लागि पहिला रवीना टन्डनको नाम आइरहेको थियो तर पछि फिल्ममा उनको सट्टा नम्रता शिरोडकरलाई राखिएको थियो ।

फिल्मको नाम
फिल्मको नाम पहिले ‘रफ्तार’ राखिएको थियो र फिल्म एक एक्सन फिल्म बन्नेवाला थियो ।

सन् २००६ मा फिल्मको सिक्वेल ‘फिर हेरा फेरी’ रिलिज भएको थियो । फिल्मको तेस्रो सिक्वेल पनि बन्ने चर्चा बलिवुडमा चलिरहेको छ ।

(स्रोत : नवभारत टाइम्स)