‘नेपाली चलचित्र’ इतिहासदेखि वर्तमानसम्म

नेपाली चलचित्रको इतिहास त्यति  पुरानो छैन । डिबी  परियारको ‘सत्य हरिशचन्द्र’ नेपाली भाषामा छायाङ्कन भएको पहिलो चलचित्र हो जुन कोलकातामा  छायाङ्कन भएको थियो । तर नेपाली सिनेमा को इतिहास हेर्ने हो भने नेपाल को पहिलो चलचित्र भनेर ‘आमा’ लाई लिइन्छ जुन २०२१ असोज २२ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रलाई तत्कालीन श्री ५ को सरकार सूचना विभागले निर्माण गरेको थियो। चलचित्र हिरा सिंह खत्रीले निर्देशन गरेका  थिए  भने शिव शंकर मानन्धर र भुवन चन्दको मुख्य अभिनय रहेको थियो ।


ततपस्चात निजी क्षेत्रबाट नेपालमा पहिलो चलचित्र निर्माण भयो ‘माईतिघर’। सुमोनान्जली फिल्म्स प्रा.लिले यो चलचित्र २०२२ साल मा प्रदर्शनमा ल्याएको थियो । यस चलचित्रमा माला सिन्हा र चिडम्बर प्रसाद (सि.पि.) लोहनी को मुख्य अभिनय रहेको थियो र यो जोडीले पछि  आएर विवाह समेत गरे। ‘माईतिघर’मा भारतीय कलाकार सुनिल दत्त, राजेन्द्र नाथ लगायतको समेत अभिनय रहेको थियो। बि.यस थापाको निर्देशन रहेको उक्त चलचित्रमा संगीत जयदेव को रहेको थीयो भने लता मंगेस्कर , आशा भोस्ले, उशा मंगेस्कर, मन्ना डे लगायत चर्चित भारतीय गायिकाहरु संगै नेपालका प्रेमधोज प्रधान, सि.पि लोहनी र अरुणा लामाले पनि आवाज दिएका  थिए।
२०२७ मा आएर मात्र शाही नेपाली चलचित्र निगम को स्थापना भयो र निगमबाटै चलचित्र ‘मन को बाध’को निर्माण भयो र यो चलचित्र २०२९ मा प्रदर्शन मा आएको थियो। जय राणा निर्देशित यस चलचित्रमा  नातीकाजी र शिव शंकर ले संगीत भरेका थिए। प्रताप सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘परालको आगो’  (ब्ल्याक एन्ड ह्वाईट) चलचित्र निकै सफल भयो। कथा र सागीतिक पक्ष निकै उत्कृष्ट रहेको उक्त चलचित्रमा टङ्क शर्मा, बसुन्धरा भुसाल, सुश्मिता ढकाल, आई.के सिंह, मेनुका प्रधान लगायतको अभिनय रहेको थियो। यसै चलचित्रबाट शान्ती ठठाल  पहिलो महिला संगीतकार बनिन। चलचित्रमा नेपालको ईतिहासमा पहिलो इष्टम्यान कलर चलचित्रका रुपमा २०३४ सालमा चलचित्र ‘कुमारी’ निर्माण भयो। २०३६ सालमा सिन्दुर, जीवन रेखा हुँदै २०४० सालमा बदलिदो आकाश सम्म आईपुग्दा नेपाली चलचित्र निर्माणमा निजी क्षेत्रको  सक्रियता बढिसकेको थियो ।


८० को दसकमा सम्झना, कुसुमे रुमाल, लाहुरे, कान्छी, बसुदेव, साईनो, कोसेली लगायत धेरै चलचित्रहरु बने र ति चलचित्रहरुबाट अभिनयमा भुवन केसी र तृप्ति नाडकर चलचित्रका सुनौलो जोडी बन्न सफल भए। यही समयमा नेपाली सिने जगतमा अर्का २ कलाकारको उदय भयो राजेश हमाल र करिश्मा मानन्धर ।
२०४६ को जनआन्दोलन पस्चात नेपालमा प्रजातन्त्र को स्थापना भयो। यसले पाहिला चाल्दै गरेको नेपाली चलचित्र क्षेत्रलाई दौडाउन महत्वपूर्ण भूमिका खेल्यो र चलचित्र क्षेत्र फस्टाउन थाल्यो। ३ बर्ष को अन्तरालमा लगभग १४० चलचित्र निर्माण भए र यही समयमा चलचित्र बितरण सुरुवात भयो । चलचित्र हलहरु बडेर लगभग ३०० को हाराहारीमा पुगे। नेपाली चलचित्र निर्माताहरुका लागि यो समय सुनौलो त भयो नै नेपालमा दबदबा रहेको हिन्दी चलचित्रलाई केही हदसम्म विस्थापित गर्न सफल समेत भए ।
फक्रदै गरेको नेपाली सिने क्षेत्र नेपालमा भएको माओवादी क्रान्तिका बेला भने सुस्तायो। निर्माणदेखि चलचित्र हेर्ने दर्शकसम्ममा कमी आयो । नेपालका तत्कालिन चलेका कलाकारहरु धेरै जसो नेपाल छोडेर बिदेश पलायन भए । सरोज खनाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ति नाडकर, क्रिस्टी मैनाली, गौरी मल्ल लगायतका कलाकार अभिनयबाट टाढइए को केही चलचित्र निर्माण भए पनि सोचे अनुरुप सफल हुन सकेनन । ४० कै दसकमा केही फिल्म निर्माताहरुले सत्य तथ्य घटना र लेख रचनामा आधारित चलचित्रहरुको निर्माण सुरु गरे। उनीहरुले भारतीय चलचित्रको नक्कल र अनुकरणलाई पछि राख्दै स्वदेशी कला संस्कृतिलाई बढावा दिदै  सत्यता मिसिएका चलचित्रहरुको निर्माण गर्न थाले । सो समयमा निर्माण भएका केही चलचित्रहरुले देशभित्र संकटपूर्ण प्रसङ्सा प्राप्त गरे पनि अन्तराष्ट्रिय क्षेत्रमा भने पहिचान पाउन सफल भए। यही दसकमा निर्माण भएका ‘बलिदान’ र ‘सिमा रेखा’ चलचित्रले भने निकै प्रशंशा   र सफलता प्राप्त गरे ।


सबैभन्दा बढी नाफा कमाएका चलचित्र ‘दर्पण छाया’ र ‘जिन्दगानी’ २०५६ र २०५७ सालमा निर्माण भएका थिए । यि दुई चलचित्र क्रमस तुलसी घिमिरे र उज्वल घिमिरेले निर्देशन् गरेका थिए । दर्पण छायामा दिलिप रायमाझी, निरुत सिंह र उत्तम प्रधान को मुख्य अभिनय रहेको थियो । यस चलचित्रले तत्कालिन समयमा कुल ७ करोडको ब्यापार गरेको थियो ।
सुस्ताएको नेपाली चलचित्र क्षेत्र २०६२/२०६३ को जन-आन्दोलन र शान्ति स्थापनापछि  पुन जुर्मुराउन थाल्यो र धेरै चलचित्रहरु निर्माण हुन थाले। सो समयमा चलचित्र कागबेनी, सानो संसार, मेरो एउटा साथी छ, फर्स्ट लभ, कोही मेरो सफल साबित भए । २०६६ पछि  चलचित्र लूट, अन्दाज, चपली हाईट, नाइ नभन्नु ल २, कोहिनूर, कबड्डी कबड्डी, वडा नम्बर ६ लगायत सफल साबित भए। ए मेरो हजुर २, २ रुपैया, लूट २, ऐश्वर्य, छक्का पन्जा २  लागायतका चलचित्र पछिल्लो समयका हिट लिस्टमा परेका चलचित्रहरु हुन। हाल सम्म सबै भन्दा बढी कमाइ गर्ने चलचित्र भने छक्का पन्जा हो ।


२०७४ मा कुदी रहदा नेपाली चलचित्रले कोल्टे फेरिसकेको छ । लाख मा निर्माण हुने चलचित्र करोडौको लगानीमा बन्न थालेका छन । नेपाली चलचित्रप्रति  दर्शकको हेर्ने नजर फेरिएको छ। नेपाली चलचित्रले दर्शक को भरपुर साथ पाउन थालेका छन । यसरी नै चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने सबैले कल्पना गरेको चलचित्र उध्योगको समुन्नती धेरै पर पक्कै छैन ।