दयालाई आरोप !!!

पछिल्लो समय अभिनेता दयाहाङ राईले अभिनय गरेका फिल्मले खासै चर्चा पाएका छैनन् । केही समयअघि रिलिज भएको सामतेन भुटिया निर्देशित फिल्म ‘तान्द्रो’ मा उनको अभिनयको खुलेरै तारिफ भयो । तर उक्त फिल्मले व्यापारमा भने कुनै कमाल गर्न सकेन ।

‘मिस्टर झोले’ र ‘कान्छी’ रिलिज मिति नजिकिँदै गर्दा सम्बन्धित फिल्मसँग जोडिएर यतिबेला मिडियामा समाचार बनिरहेका दयाहाङलाई दर्शकले सधै एउटै खाले फिल्ममा र एकै खाले चरित्रमा अभिनय गरेको आरोप लगाउने गर्छन् । तर, स्वयम् दयाहाङ भने यो आरोपलाई स्वीकार्ने पक्षमा छैनन् । बरु उनले विभिन्न अन्तर्वार्तामा आरोपको खण्डन गर्दै आफूले अभिनय गर्न सक्ने तर सबै स्कृप्ट उस्तै हुने भएकाले आफूलाई निर्देशकले पनि फरक भूमिकाका अभिनय नगराएको बताउँछन् । अझ उनी आजसम्म आफूले गरेका कुनै पनि फिल्मको पात्र एक आपसमा नमिल्ने दाबी समेत गर्छन् ।

‘मैले अभिनय गर्ने हरेक पात्रको संवेदना कुनै न कुनै तरिकाले फरक नै भएको हुन्छ, तर दर्शक तथा समीक्षकले त्यो फरक कमै ख्याल गर्नुहुन्छ’, दयाहाङ भन्छन् । भलै फरक खालका फिल्ममा अभिनय गरेको छु भनेर उनले दाबी गरिरहे पनि धेरै फिल्ममा भने उनको अभिनय एकनासको भयो भनेर समीक्षक, दर्शक तथा फिल्मकर्मीले समेत उनलाई खेद्दै आइरहेका छन् ।

कतिले त केसम्म भनेका छन् भने प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ पनि उनकै फिल्म कबड्डीबाट पूर्ण प्रभावित छ । यस विषयमा बोल्दै एक अन्तर्वार्ताका क्रममा दयाहाङले भनेका छन्, ‘उही टिम र उस्तै परिवेश भएकाले कबड्डीसँग मिलेको चरित्र मिलेको जस्तो लागेको हो, तर त्यसमा मेरो भूमिका भिन्दै खालको छ ।’

उनले हरेक फिल्ममा फरक–फरक भूमिकामा अभिनय गरेको छु भनिरहँदा दर्शकले भने उनका प्रायः सबै फिल्ममा उही ‘स्वाद’ पाइरहेका छन् । रिलिजको लस्करमा बसेका कुनै फिल्मले उनको फिल्मी चरित्रलाई बेग्लै बनाउलान् या सधै यस्तै अभिनय पस्केलान् भन्ने एउटा पक्ष छ भने उनको एउटै शैलीको अभिनय दर्शकलाई कहिलेसम्म रुचाइदिने हुन् भन्ने अर्को पक्ष छ । त्यसैले त स्वरहरु गुञ्जिन थालेका छन् ‘दयाहाङ ज्यू यसरी कहिले सम्म चल्छ ?’