१० मिनेट नाटक मेला सुरु

नेपाली रङ्गमन्चमा नयाँ अनि फरक धारका प्रयोगहरु हुँदै आएका छन् । जुन नेपाली कला प्रेमी र यसमा आफ्नो जिवनको महत्वपूर्ण कालखण्ड बिताउनेहरुका लागि सुखद कुरा हो । नाटक मन्चन र यसका चुनैतीहरुलाई साक्षात्कार गरी अप्ठ्यारो बीच एउटा सुन्दर मन्च खडा गर्ने मनशायका साथ सुरु भएको सर्वनाम थिएटरले आजको दिनसम्म आइपुग्दा थुप्रै आशा लाग्दा र चुनौतीपूर्ण कामहरु गर्दै नेपाली रङ्गमन्चलाई एउटा उचाइमा पुर्याउन सफल भएको छ ।

यसै शिलशिलामा पौष २१ देखि तेस्रो देशव्यापी १० मिनेट नाटक मेला सुरु भईरहेको छ । चार दिनसम्म चल्ने मेलाको उद्घाटनको दिन शुक्रबार ५ भिन्न भिन्न नाटक मन्चन गरियो । कवि रजेन्द्र सलभको कविता मन्चनबाट १० मिनेट नाटक मेलाको सुरु भएको थियो । कार्यक्रमको उद्घाटनमा बोल्दै सर्वनाम थिएटरका निर्देशक अशेष मल्लले आफ्नै बिद्यार्थीले उपहार स्वरुप दिएको छोटा नाटक संग्रह पढेपछी आफूले पनि यस्तै छोटा नाटकहरुको सम्भावना देखेर नेपालमै पहिलो पटक १० मिनेट नाटक मेला सुरु गरेको बताए । नयाँ कलाकारलाई प्रोत्साहन गर्दै मन्च खडा गरिदिने उदेश्यले सुरु भएको यस मेलामा चार दिनसम्म करिव दुई दर्जन नाटक मन्चन हुने छन् ।