नेपाल चिनाउने भिडियो लिएर दर्शकमाझ ‘डि-मर्चा’

चर्चित पोखरेली व्याण्ड डि-मर्चा नेपाल चिनाउने भिडियो लिएर दर्शकमाझ आएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर डि-मर्चाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाली संस्कृति, पहिचान र नेपाल चिनाउने गरी म्यूजिक भिडियो निर्माण गरेकाले प्रजातन्त्र दिवसकै दिनमा सार्वजनिक गरिएको डि-मर्चाले जनाएको छ । केहि समयअघि मात्र रेकर्ड गरिएको यस गीतमा रोशन भट्टराईको शब्द र व्याण्डका भोकलिस्ट भास्करध्वज श्रेष्ठको लय छ । डेभिल सिंह राजपुतको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको म्यूजिक भिडियोमा मोडल रञ्जित पौडेलगायतले मोडलिङ गरेका छन् । नेपाली लोक संस्कृति देउडालाई पप फ्लेभरमा गाएर चर्चामा आएको डि-मर्चाले ‘वीर नेपाली’ गीत र भिडियोमार्फत नेपालीको वीरता र पहिचान झल्काउँदै नेपाल चिनाउने प्रयास गरेको छ । ‘डि-मर्चा’को सो गीतले नेपालीको पहिचान झल्कने पोशाक दौरा, सुरुवाल, पाल्पाली ढाका टोपीको शान प्रस्तुत गरेको छ । त्यस्तै, विहानीको पहिलो किरणले सर्वोच्च शिखर सगरमाथा छुने देश नेपाल रहेको जनाउँदै यो देश चन्द्र सूर्य रहेसम्म रहिरहने गीतमार्फत सन्देश दिएका छन् । राजनीतिक अस्थिरता, खिचातानीका बाबजुद कसैले पनि नेपाल कब्जा गर्न सक्दैन भन्ने देशभक्तिको सन्देश गीतको माध्यमबाट दिने प्रयास गरिएको व्याण्डका भोकलिष्ट भास्करध्वज श्रेष्ठले बताए । गीतमार्फत डि-मर्चाले वीरहरुको सन्तान नेपालीले कहिल्यै कसैसँग झुक्न नजानेको सन्देश दिएको छ । विभिन्न जातजातिको पहिचान झल्कने मौलिक पोशाक लगाएका बालबालिकाको प्रयोग गरेर डि-मर्चाले संस्कृतिको प्रवर्द्धन गर्नुका साथै भोजपुरे खुकुरी, पाल्पाली ढाका टोपीलगायत नेपाली पहिचान झल्कने साँस्कृतिक सम्पत्तिलाई पनि म्यूजिक भिडियोमा स्थान दिइएको छ । पोखराको लेकसाइड, सराङ्कोटलगायतका क्षेत्रमा छायाङ्कन गरिएको यस गीत अजम्बरी बन्ने व्याण्डको दाबी छ । भोकलिस्ट श्रेष्ठले भने, ‘गीतको म्यूजिक भिडियो हेर्दा आम नेपालीको छाती गर्वले फुल्छ, शिर ठाडो हुन्छ अनि मन आनन्द हुन्छ, यो गीतले देश विदेशमा रहेका नेपालीहरुको मन जित्ने विश्वास हाम्रो विश्वास छ ।’ केही नयाँ गीतहरु रेकर्डिङका क्रममा रहेको डि-मर्चाले नयाँ एल्वम् निकाल्ने तयारीसमेत गरिरहेको भोष्कलिष्ट श्रेष्ठले जानकारी दिए ।