राजेश हमालको युगपछि काठमाडौं नेपाली फिल्मसँग टाढियो

- श्रीधर पौडेल/मेरोफिल्म/ आर्काइभ

म हुर्केको समय जताततै खुला ठाउँ थिए । खेलकुद हामी सबैको पहिलो रुचि थियो । मेरो घरवरपर ५-६ वटा खेलमैदान थिए । हामी स्कुलबाट आउनासाथ फुटबल खेल्न दौडन्थ्यौंं । परपरसम्मका प्ले ग्राउन्डसम्म पुग्थ्यौं । बिदाको दिन त टुर्नामेन्ट नै खेल्थ्यौं । अहिले म आफ्ना बच्चा हुर्काइरहँदा म ती खुला चौरहरु खुब ‘मिस्ड’ गरिरहेको छु । किनकि, अहिले ती चौरहरु सबै घरले ढाकिए । खुला ठाउँ कत्ति छैन । बच्चाहरुको दुनियाँ नै घरभित्र सीमित भएको छ । उनीहरुले बाहिर गएर खेल्न चाहे पनि खेल्ने ठाउँ छैन ।
खेलकुदपछि हाम्रो रुचिको विषयमा पथ्र्याे– सिनेमा ।

कसले सिनेमा देखाउन लैजान्छ, उसैसँग हामी केटाकेटी झुम्मिन्थ्यौं । एकपटक फिल्म हेर्न जाँदाको एउटा रोचक घटना म अझै सम्झन्छु । हलमा ‘जुनी’ फिल्म चलिरहेको थियो, सपरिवार जुनी हेर्न जाने कुरा भयो । त्यहीअनुसार टिकट लिइसकेका थियौं । जाने बेला अंकल र अर्को एक जना पनि थपिनुभयो । दुइटा टिकट नपुग्ने भयो । अब को नजाने त ? ठूलो संकट आइलाग्यो । तर म त जाने लिस्टमा पर्नेमा ढुक्कै थिएँ, किनकि घरमा सबैलाई मेरो सिनेमाप्रतिको क्रेजबारे थाहा थियो । र, नलैजाँदा हुने क्षतिको बारेमा पनि सबैलाई राम्रो अनुभव थियो । यो संकट धेरै बेर भने रहेन । आमाले आफू नजाने घोषणा गर्नुभयो । अर्को एक जना त्यागी खोज्नु थियो । कोही निस्केन । यही बेला घटनाले अनौठो मोड लियो । आमाले अनपेक्षित रुपमा त्यो लिस्टमा मलाई राख्नुभयो । अर्थात् उहाँले ‘आमाछोरा’ फिल्म हेर्न नजाने भन्नुभयो ।
अन्ततः त्यस दिन मैले जुनी हेर्न पाइनँ, तर घरमा आफैं सानोतिनो फिल्म देखाइदिएँ । त्यस दिन आमाले मलाई नहेर्ने लिस्टमा किन सामेल गर्नुभयो, मैले आजसम्म पनि बुझ्न सकेको छैन । नेपाली फिल्महरु सम्झना, कुसुमेरुमाल, बासुदेव हेरेको सम्झना ताजै छ मलाई । फिल्म हेर्नैका लागि कुटाइ पनि खाएको छु मैले ।


‘पच्चिस वसन्त’ हेर्न भाइलाई लिएर गएको थिएँ । हलमा अचाक्ली भिड थियो । टिकट काट्न लाइनमा थिएँ, एउटा ज्यांगो मान्छे आयो र मभन्दा अगाडि बसेर टिकट माग्न थाल्यो । मैले ‘लाइन नबसी सिधै अगाडि आएर टिकट लिन पाइन्छ ?’ भनेँ । ऊ झनक्क रिसायो । भन्यो, ‘बढ्ता हुन्छस् ?’ म पनि के कम ? विवाद बढ्दै जाँदा उसले मलाई एक पन्च हान्यो । मैले पनि दुई पन्च बजाएर त्यसको जवाफ फर्काइहालेँ । त्यो मान्छे ब्ल्याकमा टिकट बेच्ने हो भन्ने हल्ला चल्न थालेपछि सबै मिलेर खेदाए ।
केही समयपछि भिसिआरको जमाना आयो । टोलमा चार-पाँच दिनसम्म पनि भिसिआरमा हिन्दी फिल्म देखाउँथे । त्यतिबेला हिन्दी फिल्म खुब हेरियो । फिल्म हेर्ने र साथीहरुलाई हिरोको अभिनयसहित कथा सुनाउन खुब रमाइलो लाग्थ्यो मलाई ।
कलेज पढ्न थालेपछि भने मैले नेपाली सिनेमा हेर्न छाडेँ । पहिलापहिला थोरै फिल्म हुन्थे तर क्वालिटीका बन्थे । २०४६ पछि फिल्म निर्माणमा बाढी आयो । सम्भवतः राजेश हमालको युग सुरु भएको समय थियो त्यो । त्यसबेलाका फिल्मले नै हो, काठमाडौं र नेपाली फिल्मबीच दूरी बढाएको । नेपाली फिल्म हाम्रालागि होइनन् भनेजस्तो महसुस हुन थाल्यो । अनि त नेपाली फिल्म हेर्न चटक्कै छाडियो । त्यसपछि खासै राम्रा फिल्म बनेनन् भन्ने लाग्छ मलाई । सिर्फ नम्बर मात्रै बढे ।
सुरुदेखि नै सिनेमाको म्याजिकसँग परिचित भएकाले होला, आज पनि राजनीतिबाट फुर्सद मिल्यो कि म फिल्म हेर्ने योजना बनाइहाल्छु । भ्याएसम्म हलमै गएर हेर्छु । नभए युट्युबमा पनि हेर्छु । ‘पशुपतिप्रसाद’ मैले युट्युबमै हेरेको थिएँ । अस्ति भर्खर पनि सपरिवार ‘पद्मावत’ हेर्न लबिम मल गएका थियौँ तर टिकट नपाएर कफी पिएर फर्कियौं ।
प्रायः रिभ्यु हेरेर फिल्म हेर्न गइन्छ । चर्चा भएको हिसाबले बाबाममी, छोरी सबै जना ‘छक्कापञ्जा’ हेर्न गएका थियौं । सबैले रमाइलो माने । फिल्म क्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन सबै खालका फिल्म बन्न जरुरी छ । छक्कापञ्जा  को उद्देश्य दर्शक तान्ने हो । यस्ता फिल्म उद्योगलाई पनि चाहिन्छ । मेरो रुचि भने पशुपतिप्रसादजस्तो फिल्म हो । आउटसाइडरको रुपमा हेर्दा पनि नेपाली फिल्ममा मेहनत नपुगेको देखिन्छ । कथाको छनोट र त्यसको प्रस्तुतिमा काम नगरेको हो कि जस्तो लाग्छ । संख्याको होडबाजीमा लागेको फिल हुन्छ । पछिल्लो समय थिएटरका कलाकारको उपस्थितिले अभिनय फेरिएको महसुस हुन्छ तर उहाँहरु पनि संख्याको दौडमा सामेल भएको खबर सुन्दा नरमाइलो लागेको छ । भर्खरै मलाई कसैले मुसहरको कथा सुनाएको थियो, त्यसमा रोचक फिल्म बन्न सक्छ भन्ने लाग्छ । अनि सलेहसजस्ता कथा पनि छन् जसमा पिरियोडिक फिल्म बनाउन सकिन्छ ।
राज्यले फिल्मलाई प्राथमिकतामा राखेको छैन । यद्यपि अस्ति भर्खरै बक्सअफिस सुरु भएको छ । यसले पक्कै पनि यो क्षेत्रलाई पारदर्शी बनाउन मद्दत गर्नेछ । तर यो क्षेत्रमा काम गर्न एकदमै सजिलो छ, । खासगरी सरकारलाई । सरकार चलाउन बसेका मान्छेहरुको पहिलो काम भनेको रोजगारी सिर्जना गर्ने हो । यो क्षेत्रलाई पनि सरकारले रोजगारदाताका रुपमा व्यवहार गरिदिए पुग्छ । सरकारको थोरै लगानीले पनि धेरै मानिसलाई रोजगारी दिने वातावरण बन्छ । सरकारले फिल्मलाई दयामाया होइन, रोजगारी दिने स्वार्थका हिसाबले काम गरिदिए मात्र पनि यो क्षेत्र निकै अघि बढ्न सक्छ ।

२०७४ चैत ७ गते ४:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *