नयाँ धार कति नयाँ कति पुरानो ?

- मेराेफिल्म
कार्टुनिस्ट : अभिषेक दास

एक जमाना थियो-नेपाली चलचित्रमा पनि हिन्दी सिनेमामा झैं दर्शक तान्न ‘रोनाधोना’ र अनेक नाटकीय सूत्र प्रयोग गरिन्थे । प्रायः सबै चलचित्र एकनासका हुन्थे । अपत्यारिला लाग्ने कथानक र भारतीय सफल चलचित्रबाट प्रभावित नेपाली सिनेमा एकपछि अर्को निर्माण हुँदै गए । तर, ती चलचित्र नेपाली समाजसँग अति टाढा, बलिउड शैलीसँग अति नजिक हुन्थे । नेपाली मौलिकपनलाई कमै चलचित्रमा उठान गरिए । अहिले नेपाली चलचित्रको बजार स्थूल बन्दै गएको छ । विषयगत चलचित्रका शैलीमा व्यापकता खोज्न थालिएको छ । आफ्नै मौलिक कथाको माग बढिरहेको छ । फरक धारको खोजी सुरु भएको छ ।
नेपाली फिल्मी उद्योगमा एकपछि अर्काे एकनासका चलचित्र निर्माण भइरहेका बेला चलचित्र ‘लूट’ फरक शैली, कथा र धार लिएर आयो । केही अपाच्य तर बोलीचालीका शब्दको प्रयोग गरिए पनि उक्त चलचित्रले राम्रो प्रभाव छाड्यो । दर्शकले नयाँ स्वाद पाए भने फिल्म निर्माता, निर्देशकले नयाँ धार । त्यसयता त्यही सूत्र प्रयोग गरेर थुप्रै चलचित्र रिलिज भए ।
केही समीक्षकले चलचित्र ‘लूट’ लाई नेपाली चलचित्र जगतको एउटा धार मान्दै आएका छन् भने केही समीक्षक उक्त चलचित्रले नेपाली चलचित्रमा खासै प्रभाव नपारेको बताउँछन् । तर, लूट निर्माणपछि एकै स्वादमा बन्दै आइरहेका कैयन चलचित्रको बजारमा नयाँ कलाकारलाई लिएर फिल्म निर्माण गर्ने जोखिम उठाउने र स्क्रिप्टमा मौलिकता खोज्ने प्रवृत्तिको प्रयोग सुरु भयो ।

निर्देशक तथा समीक्षक मनोज पण्डित भने चलचित्र ‘लूट’ लाई फरक धारको भन्नु नै गलत भएको बताउँछन् । ‘लूटलाई फरक धारको भन्नु नै सबैभन्दा ठूलो समस्या हो, यो सफल फिल्म होला तर यसमा अपनाइएका धेरै सूत्र पहिले नै प्रयोग गरिएका हुन्, त्यसैको पुनरावृत्ति मात्र हो’, पण्डित भन्छन्, ‘फिल्मले एउटा कुरा के थप्यो भने नयाँ कलाकार लिएर पनि फिल्म चल्न सक्दो रहेछ । यो ट्रेन्डको विकास भने यही चलचित्रले गरेको हो ।’
चलचित्र ‘लूट’ पछि थुप्रै फरक धारका फिल्म निर्माण हुनुको एउटा कारण उक्त चलचित्रको सफल व्यापारलाई मान्छन् मनोज । उनी के पनि भन्छन् भने – ‘हामीले बारम्बार कमजोर फिल्म मात्र बनाइरहेका छौं, तिनै कमजोर फिल्मबीच ‘लूट’ चलेजस्तो लागेको हो । चलेकै आधारमा हेर्ने हो भने चलचित्र  ‘पशुपतिप्रसाद’, ‘छक्कापञ्जा’ पनि चलेका हुन् ।’
‘पशुपतिप्रसाद’ लाई भने उनी फरक आँखाले हेर्छन् । भन्छन्, ‘बरु खगेन्द लामिछानेले लेखेको सामान्य कथा र पटकथामा बनेको चलचित्र ‘पशुपतिप्रसाद’लाई फरक स्वाद मान्न सकिन्छ ।’

फिल्मकर्मी तथा समीक्षक नवीन सुब्बा फिल्ममा नयाँ धार नै नहुने बताउँछन् । चलचित्र ‘लूट’ ले पनि त्यस्तो फरक धार नै खोजिने गरी खासै नयाँ केही नगरेको उनी बताउँछन् । ‘लूटले नयाँ केही गरेको होइन, केही नयाँ गरेको हो भने चलचित्रले समाजभित्रको कथा उठायो, आफ्नै विषयवस्तुमा दर्शकले सिनेमा हेर्न पाउँदा फिल्म रुचाएका हुन्’, सुब्बा थप्छन्, ‘तर चलचित्रले पुराना सूत्रमा खासै नयाँपन दिन सकेको होइन, केही नयाँ सूत्र प्रयोग गरेको हो ।’
पछिल्लो समय नेपाली चलचित्रमा पनि नयाँपनको खोजी भइरहेको भने सुब्बा स्विकार्छन् । ‘तर त्यस्तो नयाँपन आउन सकेको देखिँदैन,’ भन्छन्, ‘खासमा प्रत्येक फिल्ममा नयाँपन खोजिनुपर्ने हो तर अहिलेका चलेका फिल्मकर्मीले पनि उही सूत्र दोहो¥याउन थालेका छन्, उही रिपिटेसनमा घुमेका छन् ।’

ओस्कार कलेजका प्रशिक्षक मनोजबाबु पन्तको धारणा पनि झन्डै उस्तै छ । नयाँ पुस्ताले नयाँ स्वाद त पाएका छन् तर अझै पनि उस्तै धारमा फिल्म बनिरहेको पन्त बताउँछन् । ‘दर्शकले ठ्याक्कै यस्तो चलचित्र मन पराउनुहुन्छ भन्ने अवस्था छैन, पुरानो सूत्रमा थपथाप गरेर नयाँ फिल्म निर्माण भएका त हुन् तर अहिले पनि निर्माणशैली सिनेमाको मूलधारमै घुमिरहेको छ’, उनी पुरानै सिद्धान्तमा नयाँ केही सूत्र भने थपिएको स्विकार्छन् ।
हिजो सफल हुने फिल्महरु भारतीय फिल्मको सूत्रमा थिए । शिव रेग्मी, तुलसी घिमिरे लगायतले निर्देशन गरेका फिल्मले राम्रो व्यापार गर्थे तर अहिले नयाँ पुस्ताको हातमा फिल्मका दर्शक छन् । मूलधारका फिल्मको केही शैली फेरिएको भए पनि पहिचान फेर्न सकेका छैनन् । ‘पहिलेभन्दा फिल्म हेर्ने दर्शक बढेका छन्, तर दर्शकले यस्तै फिल्म रुचाउँछन् भन्ने छैन, उनै सूत्रमा नयाँ प्रयोग भइरहेको छ,’ पन्त सुनाउँछन् ।
यद्यपि, नेपाली सिनेमाको पछिल्लो बजार हेर्ने हो भने यो खुम्चिएको होइन, फैलिरहेको देख्न सकिन्छ । नयाँ प्रयोग भइरहेको छ । ‘कालो पोथी’ जस्ता चलचित्रले पनि दर्शक ताने । अनमोल केसी, दयाहाङ राई र चकलेटी स्वादका कैयन् अभिनेताले यतिबेला हलसम्म दर्शक तानिरहेका छन् ।
नेपाली शैलीमा केही परिवर्तन आए पनि जस्तो परिवर्तन आउनुपर्ने थियो, त्यो अझै भित्रिन सकेको छैन । निर्देशक मनोज पण्डित भन्छन्, ‘हामीले नेपाली सिनेमा परिवर्तन भएको छ भनिरहेका छौं, तर फिल्ममा केही परिवर्तन भएकै छैन ।’

२०७४ चैत ८ गते ५:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *