नायक नहीँ खलनायक हुँ मैं

कार्टुनिस्ट : अभिषेक दास

सामान्यतया फिल्म अवार्डको नोमिनेशन सार्वजनिक हुँदा एउटै व्यक्ति दुई तीनवटा विधाको मनोनयनमा पर्नु सामान्य कुरा हो । त्यस्तो व्यक्ति पटकथा, संवाद, संगीत, गायनलगायतका विधासँगै अभिनय विधामा पनि पर्न सक्छन् । तर फिल्ममा जसलाई ‘हिरो’का रुपमा प्रस्तुत गरिएको छ, उही व्यक्तिलाई ‘खलपात्र’मा मनोनयनमा विरलै देख्न पाइन्छ । ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भने जस्तै कहिँ नभएका अवार्ड नेपालमै हुन्छन् जसले फिल्मको एउटै चरित्रलाई हिरोमा पनि मनोनयनमा पार्छन् र  भिलनमा  ।

आगामी चैत्र १६ गते राजधानीमा आयोजना हुन लागेको ’ कलाकार संघको अवार्डमा दीपक राज गिरी ‘छक्का पन्जा’बाट हिरो र भिलेन दुवै विधाको मनोनयनमा छन् । दीपकराज गिरीले निर्वाह गरेको चरित्र भिलेन हो भने ऊ फेरि कसरी हिरो हुन्छ ?
फिल्मको मनोनयनमा दीपकलाई कथा, पटकथा र संवाद तीनवटै विधासँगै खलपात्र र अभिनेताको मनोनयनमा पनि राखिएको छ । अवार्डका जुरीमा रहेका एक सदस्यले फिल्म युनिटले नै अवार्डका लागि आवेदन दिँदा दीपकलाई खलपात्र र अभिनेता दुवै चरित्रमा फारम भरेको र सोही अनुसार मनोनयनमा पारेको प्रतिक्रिया दिए । यसको मतलब भोलि कुनै एक दृश्यमा खेल्ने कलाकारले पनि यो फिल्मको हिरो मैं हुँ भनेर फर्ममा भर्यो भने जुरीले उसैलाई हिरो भनेर मनोनयनमा पार्छ ? हिरो र भिलेन पनि छुट्याउन नसक्ने कलाकार संघले कस्ता मानिसलाई जुरीमा राखेको छ ?

कलाकार संघले त्यसै पनि नयाँ सालको अवार्ड गर्ने बेलामा बासी अवार्ड गरेर आफ्नो असक्षमता छताछुल्ल पारिसकेको छ । कम्तीमा मनोनयन सही गरेर इज्जत बचाउन सक्थ्यो तर त्यसमा पनि जथाभावी गरेर संघले अवार्डको प्रतिष्ठा धुलिसात गरेको छ । कुनै व्यक्तिले यस्तो मनोमानी गर्दासमेत चित्त बुझाउन सकिन्थ्यो तर कलाकारको छाता संगठन नै मनपरी गर्न थालेपछि राम राम भन्नबाहेक के गर्न सकिन्छ ?
संघको यो मनोनयन हेरेर त भोलि दीपकले भिलेन र हिरो दुवैको पुरस्कार पाए भने अचम्म नमाने हुन्छ । संघको मनोनयन हेरेर दीपक भने हिन्दी फिल्म ‘खलनायक’को गीत गुनगुनाइरहेका होलान् , ‘नायक नहीँ खलनायक हुँ मैं ।’