‘नेपाली हिरोइनमा गुदी छैन’ – किशोर नेपाल

कार्टुनिस्ट – अभिषेक दास

नेपालका सबै सानाठूला पत्रिकामा काम गरेको अनुभव छ मसँग । मैले जहाँजहाँ काम गरेँ, फिल्म र संगीतलाई माया गरेँ, प्राथमिकता नै दिएँ । अहिले कतै पनि पूर्ण रुपमा आबद्ध छैन तर कुनै कलाकारको काम मनपर्यो भने उसका बारे लेख्न म कन्जुस्याइँ गर्दिनँ । जब म महिला कलाकारका बारे लेख्छु, किशोरको फलानो हिरोइन वा कलाकारसँग उठबस रै’छ भनेर हल्ला गर्न थालिहाल्छन् । तर, बजारमा हल्ला चलेजस्तो मेरो कुनै पनि हिरोइनसँग गहिरो सम्बन्ध छैन । कोही प्रतिभाशाली छ भन्ने लाग्यो भने म हौसला दिन पछि पर्दिनँ ।
हिरोइनसँग मलाई जोडेर मज्जा मान्नेमा चैं मेरै बिरादरीका साथी छन् । मसँग हिरोइन राम्ररी बोलेको देखेर उनीहरु जेलिअस भएका हुन् । एकपटक त उनीहरुको यस्तो बानीले शर्मिला मल्ललाई समेत अप्ठ्यारो पा¥यो । एउटा भाइले मेरो र शर्मिला मल्लको फोटो छापेको थियो, मेरै साथीहरुले किशोर नेपाल र शर्मिला मल्लको त बिहे भएछ भन्ने हल्ला चलाए । हिरोइनहरु मसँग हार्दिकताका साथ बोल्न आउँछन् भने म नबोल्नु, तर्केर अर्कातिर हिँड्नु ? मान्छेले मलाई विनिता बरालसँग पनि जोडे । लेख्न, पढ्न सक्ने केटी हो विनिता । मैले उसलाई यही कारणले हौसला दिएको हुँ । बित्थाको हल्ला चलाए ।

पत्रकारिताको लामो करिअरमा मैले थोरै कलाकारसँग मात्र अन्तर्वार्ता लिएको छु । मनिषा कोइराला, करिश्मा मानन्धर, सुनिल थापा मैले प्रत्यक्ष अन्तर्वार्ता गरेका केही कलाकार हुन् । तर, नेपालका कलाकार बोल्नै जान्दैनन् । आफ्नो क्षेत्रका बारे एकरत्ति पनि ज्ञान छैन । यसरी कुरा गरेमध्ये मनिषाबाट म प्रभावित भएँ । सुनिल थापासँग पनि धेरै अनुभव छ । अँ, पछिल्लो समयमा मैले हेरेका कलाकारमध्ये केकी अधिकारी अलि बौद्धिकजस्तो लाग्छ । तर, मलाई प्रियंका कार्की मन पर्दैन । फिल्मको प्याकेजमा प्रियंका १० प्रतिशत मात्र हो । सौन्दर्यका हिसाबले रेखा ९० प्रतिशत हो र १० प्रतिशत चैं अरू हो । प्रियंकाको चैं १० प्रतिशत सौन्दर्य र बाँकी अरू हो । राजेश हमाल पनि मलाई बौद्धिक लाग्छन् । तर, हिरोइनमा चैं गुदी देख्दिनँ ।
नेपाली फिल्म धेरै हेरेको छैन मैले । साइनो, छक्कापन्जा, छक्कापन्जा २, घामपानी, सेतो सूर्य हेरेँ । छक्कापन्जाका दुवै भाग रमाइला लागे । अनि दीपेन्द्र (दीपेन्द्र लामा) को घामपानी पनि राम्रो लाग्यो । तर, खै किन हो, त्यसको त्यति सारो हल्लाखल्ला भएन । धेरै हल्ला भएर हेरेको दीपक (दीपक रौनियार) को सेतो सूर्य भने मलाई राम्रो लागेन । तथ्यहरु धेरै तोडमरोड गरिएको पाएँ । मलाई त्यो चित्त बुझेन ।

नेपाली फिल्म राम्रो नहुनुमा पैसा नै सबैभन्दा ठूलो कारण होजस्तो लाग्छ मलाई । हाम्रो पत्रिकामा पनि यही समस्या छ, लगानी गर्न नखोज्ने अनि कल्पना चैं न्युयोर्क टाइम्सको गर्ने । कम पैसामा फिल्म बनाउँछु भन्ने सोचले राम्रो फिल्म बन्दैन । अझ नेपालमा फिल्म बनाउन आउनेको नियत पनि सफा छैन । फिल्ममा व्यवसाय गर्ने भन्दा पनि रहर पूरा गर्न आउनेको जमात ठूलो छ । ५० लाख बोकेर आउँछन्, दुइटा फिल्ममा २५÷२५ लाख हाल्छन् अनि बेलुकी हिरोइनलाई डिनर खान बोलाउँछन् । उद्देश्य नै ठिक नभएपछि फिल्म कसरी ठिक बन्छ ? यही पेसामा लागेर मेरो जीवन चल्छ भन्ने नभएसम्म कसैले पनि शतप्रतिशत काम गर्दैन । अहिले भइरहेको यही हो । किनकि पत्रकारिताजस्तै कलाकारिता पनि डिपेन्डेबल छैन । भविष्य सुरक्षित नहुने ठाउँमा तपाईंले शतप्रतिशत काम दिन मान्नु हुन्न ।

यो क्षेत्रमा पढेलेखेका मान्छे नहुँदा पनि समस्या भएको छ । फिल्म हेर्यो, फिल्म त ठिक छैन नै, गीत राम्रै हुन्छ तर त्यो पनि ठाउँमा आउँदैन । नसुहाउँदो सिक्वेन्समा गीत आउँछ । आजभोलि बलिउडकी प्रियंका चोपडालाई हेर्छु, हलिउडमा गएर पनि धाक जमाइसकिन् । हाम्रो कलाकार पनि हलिउड त पुगे तर स्यान्डविच बनाउन । उनीहरुले त्यहाँ गएर कलाकारिता होइन, स्यान्डविच बनाउन सिके ।
नेपाली फिल्ममा उन्नतिको एउटै उपाय देख्छु– राम्रो सिनेमा बनाउने एजेन्डामा निर्माताहरु एकठाउँमा आउने । २५ लाख हालेर हिरोइनसँग साँझमा डिनर खाने लोभमा मात्र फिल्म बनाइरहँदा यस्तै भइरहन्छ । अनि फिल्म बनाउनेहरुले यो माध्यमको शक्तिका बारे पनि जानकारी राख्नुपर्यो। यसको प्रभाव के हो भने यसले सकारात्मक होस् वा नकारात्मक मानिसलाई प्रभाव पार्छ नै । यसको सानो उदाहरण सुनाउँछु, जब टिभीमा रामायण वा महाभारत आउँथ्यो, मान्छेहरु राम र कृष्ण बनेका कलाकारलाई साँच्चिकै भगवान भन्ठानेर पैसा चढाउँथे । बुझेर प्रयोग गर्न सक्दा यो बराबरको कलाको माध्यम अर्को छैन । तर, नेपालको फिल्म उद्योगमा त्यो चेत कसैमा पनि भएजस्तो लाग्दैन ।