‘दर्खास्त हालेर जँड्याहाको रोल खेलेँ’ – हरिवंश आचार्य

- मेराेफिल्म

श्रीधर पौडेल – अभिनयसँगै चलचित्र निर्माणमा होमिएको ‘मह’ का ‘ह’ अर्थात् हरिवंश आचार्य अहिले ‘शत्रुगते’का कारण चर्चाको चुलीमा छन् । उनीसहित हास्य कलाकारहरुको जमातले लगानी गरेको यो चलचित्र अहिले राजधानीसहित देशभर चलिरहेको छ । यही सेरोफेरोमा कुरा गर्न ‘मेरो फिल्म’ टिम आचार्यकहाँ पुग्यो । उनलाई चलचित्र क्षेत्रमा प्रवेशदेखि आजसम्मका आरोह अवरोहबारे सोध्दा उनी नोस्टाल्जिक जति भए, उति नै रोमान्चक र भावुक पनि । उनको अभिनय यात्राको रोचक कथा यसरी अघि बढ्छ :

हरिवंश उमेरले १७ टेक्दै थिए । भर्खर वैंश चढ्न लागेको उमेर, जेसुकै कुरामा पनि उत्सुकता थियो उनमा । फिल्मबारे बल्ल चासो राख्न थालेका थिए । ‘मैले बिस्तारै सिनेमा हलका गतिविधि बुझ्न थालेको थिएँ । काठमाडौंका हलमा ‘मनको बाँध’ भन्ने सिनेमा चलिरहेको थियो,’ आफूलाई चलचित्र क्षेत्रमा घचेट्ने सुरुवाती दिनलाई उनले यसरी सम्झिए, ‘मैले त्यो फिल्म हेरेँ । खुब मन पर्यो । फेरि हेरेँ । अनि फेरिफेरि गर्दै २२ पटकसम्म हेरेँ । फिल्मका हरेक डायलग कण्ठ भइसक्दा पनि धीत मरेको थिएन ।’
त्यतिबेला नेपाली फिल्म उद्योग बल्ल बामे सर्दै थियो । वर्षमा जम्मा ५-७ वटा फिल्म बन्थे । हरिवंशमा भने फिल्मको नसा चढ्दै थियो । कताकता उनलाई पनि फिल्म खेल्न पाएहुन्थ्यो भनेजस्तो लाग्न थालेको थियो । अहा ! हिरो हुने पाए ! उनीभित्र यो सपनाले आकार बढाउँदै लग्यो ।
‘त्यहीबेला शाही नेपाली चलचित्र संस्थानले ‘कुमारी’ नामको चलचित्र बनाउने भएछ । त्यतिबेला कलाकार धेरै हुँदैनथे । संस्थानलाई कलाकारको खाँचो परेछ । विज्ञापन गर्यो । मैले पनि दर्खास्त दिने निश्चय गरेँ,’ चलचित्रमा उनको डेब्यु निकै रोचक छ ।
त्यसपछि उनी खुसीले उफ्रिँदै डिल्लीबजारको प्रकाश स्टुडियो पुगे र फोटो खिचाएँ । ‘तीनवटा फ्रन्टबाट, साइडबाट दुइटा फोटो राखेर दर्खास्त दिएँ । ५०-६० रुपैयाँ खर्च भए पनि मभित्र ‘हिरो’ ले जन्म लिँदै थियो,’ उनी नोस्टाल्जिक भए ।
‘अलि दुब्लोपातलो थिएँ । यस्तो किसिमको फोटो जिन्दगीमा कहिल्यै खिचाएको थिइनँ । फोटो खुब राम्रो लाग्यो । हेरेको हेर्यै गर्थें तर त्यो वास्तवमा राम्रो थिएन । किनकि मेरो स्वरूप नै त्यस्तै थियो,’ उनले सम्झिए ।
फोटो एक कपी मात्रै दिन्थ्यो । धेरै बनाउन धेरै पैसा लाग्ने भएकाले एक कपी मात्रै बनाएका रे उनले । जुन दर्खास्तसँगै बुझाए, सक्कियो ।
अन्ततः संस्थानले उनलाई अन्तर्वार्तामा बोलायो । नाम पनि एक नम्बरमै निकाले । ‘लौ, फिल्म खेल्न पाइने भयो । म खुसीले उफ्रिएँ,’ उनले खलासीको रोल पाए । गौतमरत्न तुलाधर उनका ड्राइभर । पछि, एकदमै कलिलो अनुहार देखेर कसैले हुन्न भनिदिएछ । सायद सोर्सफोर्स पुगेन । मौका झन्डै उम्कन लागेको थियो । ‘प्रेमबहादुर बस्नेत डाइरेक्टर सापले ‘पख, केही न केही रोल दिउँला’ भनेर फकाउनुभयो । त्यतिबेला म नक्सालमा बस्थेँ । त्यहाँबाट हिँडेर दिनहुँ बालाजु जान्थेँ, संस्थानको अफिसमा । दिनभर चौरमा ढुकेर बस्थेँ अनि डाइरेक्टर सापले यसो झ्यालबाट बाहिर हेर्नुभो भने पनि म नजिकै पुगेर उहाँलाई मुख देखाउँथेँ । उहाँले फेरि बिर्सिनुहोला भनेर,’ उनले त्यो दिन यसरी सम्झिए ।
धेरै धाएपछि उनले एउटा सिनमा अवसर पाए । बाउछोरा रेस्टुरेन्ट जाने अनि सँगै बसेर रक्सी खाने । छोरोले रक्सी लागेपछि सिलिङ घुमेर लड्ने ।
‘सुटिङमा प्राबिधिक दाइहरुले उल्क्याएर रक्सी खायो भने रियल एक्टिङ आउँछ भनेर मलाई खुकुरी रम खुवाइदिए । पहिलोपटक रक्सी खाएको, मैले टेबुलमै भोमिट गरिदिएँ,’ उनले भने, ‘मेरो पहिलो सिन कट भयो अनि रिसुट लिइयो ।’
त्यो चलचित्र चल्यो । त्यसमा हरिवंशले पनि खेलेको छ भनेर हल्ला भयो । तर हलमा गएर हेर्दाखेरि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भयो । झिलिक्क आयो, सक्कियो । त्यति नै खेल्दा पनि चिन्थे मान्छेले उनलाई । किनकि धेरै चलचित्र बन्दैनथे । टेलिभिजन थिएन त्यतिबेला । यसरी उनको पहिलो सुरुवात भयो ।

‘पछि मलाई चलचित्र खेल्ने रहर झन्झन् बढ्दै गयो । स्टेजमा त सक्रिय नै हुन थालिसकेको थिएँ । ‘जीवनरेखा’, ‘सिन्दुर’ मा प्रकाश थापाले खेल्न बोलाउनुभयो । गोपालराज मैनाली दाइको हात हेर्ने रोल थियो । ज्योतिष भएर सुगाले हात हेर्ने रोल थियो त्यो । जीवनरेखामा हजामको रोल दिइयो,’ सिनेमामा एकएक सिनका रोल पाउन थालेका थिए उनले । एक सिने आर्टिस्ट भनेर चिनिँदै थिए ।
त्यसपछि संस्थानकै ‘के घर के डेरा’ भन्ने चलचित्र खेल्ने अवसर मिल्यो उनलाई । ‘नीर शाह दाइ संस्थानको डीजीएम हुनुहुन्थ्यो । उहाँले स्क्रिप्ट लेख्ने जिम्मा पनि दिनुभयो । मदनकृष्ण दाइ, म र गोपालराज मैनालीलाई । हामीले स्क्रिप्ट लेख्यौँ । अभिनय पनि गर्‍यौँ ,’ उनले सुनाए, ‘त्यो चलचित्र एकदमै हिट भयो । अनि अलि लामा रोल खेल्न पाएँ । त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।’
उनी रंगमञ्चमा एकदमै सक्रिय भए । क्यासेट निकाल्न थाले । त्यसपछि ‘बासुदेव’ खेले । अब अभिनय नशा बनिसकेको थियो । अरुका चलचित्र खेल्दाखेल्दै आफै बनाउने सुर चल्यो । मदनकृष्ण श्रेष्ठसँगको सहकार्य संस्थागत भयो । मह सञ्चार भन्ने संस्था नै बनाएर ‘फिलिम’ भन्ने फिल्म बनाए । जीवा लामिछानेको लगानीमा । त्यसपछि ‘लोभीपापी’ खेले ।
त्यतिबेला अहिलेको जस्तो मनोरञ्जनका धेरै विकल्प थिएनन् । अहिले त फिल्म छन् । टिभी च्यानल छन् । युटुब, फेसबुक, इन्स्टाग्राम अनेक सोसियल साइट छन् । तर धेरै मनोरञ्जन गर्ने फुर्सद नै हुँदैन उनलाई । ‘घरै बस्न फुर्सद पाए सबैभन्दा ठूलो मनोरञ्जन त्यही लाग्छ,’ उनले भने, ‘मलाई संसारमा सबैभन्दा मन पर्ने ठाउँ आफ्नो बेडरुम नै हो । बेडरुमको पनि बेडमा बस्न पाए मलाई केही चाहिन्न, सबैभन्दा रिल्याक्स फिल हुन्छ । त्यसरी बसेर म गीतहरु सुन्छु, फिल्महरु हेर्छु ।’
गम्भीर भावका सेन्टिमेन्टल गीत उनलाई बढी मन पर्छ । फास्ट गीतहरु ठिकठिकै लाग्छन् । नारायणगोपाल, बच्चु कैलाश, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामाका गीत अनि हिन्दी गीत, गजल बढी सुन्छन् । ‘मलाई क्लासिकल फ्लेबरका गीत एकदमै मन पर्छ तर त्यस्तो गीत म गाउन सक्दिनँ । म फल्क फ्लेबरको गीत मात्रै गाउन सक्छु,’ उनलाई यथार्थ बक्न शर्म लाग्दैन ।
अभिनय गर्ने क्रममा धेरै प्रकारका रोल गरेका छन् हरिवंशले । नकारात्मक भूमिकामा पनि देखिएका छन् । ‘लक्ष्मी’ टेलिचलचित्रमा आफूले क्रुर अभिनय गरेको र त्यसले समाजमा नकारात्मक छाप परेको उनी सुनाउँछन् । एक जना बोल्न नसक्ने मान्छेको भूमिकामा खेलेकी महिलालाई एकदम तनाब दिने, बिहा गरेर धोका दिने रोल खेलेका रहेछन् । ‘उसको बाउलाई मार्दिन्छु अनि जेल पर्छु । एकदमै क्रुर अभिनय गरेको छु जुन फिल्म हेर्न आफैलाई पनि अप्ठ्यारो लाग्छ । कस्तो रोल गरेछु जस्तो लाग्छ । त्यसले मलाई सोसाइटीमा पनि भिलेनको रुपमा चिनाएको थियो,’ हरिवंशलाई ती याद ताजै लाग्छन् ।
एकपटक ट्रकड्राइभर भन्ने फिल्मको सुटिङ थियो, गुह्येश्वरीमा । शिव श्रेष्ठ, विजय लामा र उनको सुटिङ थियो । उनले मनमा टाक्सिएर रहेको रोचक घटना सुनाए, ‘म गुह्येश्वरीको भर्याङ उक्लिँदै थिएँ । एक जना महिलाले मलाई ढुंगाले हिर्काउनुभयो । मलाई लागेन । फेरि हान्नुभयो । शिव श्रेष्ठले छेक्नुभयो । किन ढुंगाले हान्नुभएको भन्दा यो कुलंघारले बोल्न नजान्ने केटीलाई धोका दियो, बद्मास मान्छे भनेर भन्नुभयो । त्यसपछि मैले ‘यो त नाटक हो नि, साँच्चिकै होइन । नाटकमा त यस्तो हुन्छ नि तपाईंलाई भ्रम परेछ’ भनेँ । उहाँले ‘नाटक भनेर हुन्छ ?’ बोल्न नजान्नेलाई त्यसरी पिट्न पाइन्छ ? दुःख दिन पाइन्छ ?’ भन्नुभयो । पछि थाहा पाएँ, ती महिलाको पनि एउटी छोरी बोल्न नसक्ने हुनुहुदो रहेछ । यहाँ आएर ‘लक्ष्मी’ मा मेरो रोलको सेन्टिमेन्ट जोडिएको रहेछ ।’
‘मदनबहादुर हरिबहादुर’ प्रसारण भइरहँदा लन्डनमा त्यस्तै घटना भएछ । ‘म लन्डन गएको थिएँ । प्रोग्राम सक्केपछि एउटा बच्चाले फोटो खिच्न मानेन । किन नमानेको भन्दा यो नराम्रो मान्छे हो । यस्तो मान्छेसंग म फोटो खिच्दिनँ’ भन्यो । अभिनयको प्रभाव यसरी समाजमा पर्ने रहेछ,’ उनले सुनाए ।
पछि उनले ‘दसैं’ भन्ने सिरियलमा जीवन्त अभिनय गरे । दसैँताका नै टेलिकास्ट भयो त्यो । ‘त्यो टेलिकास्ट सकिइसकेपछि डाक्टर सुन्दरमणि दीक्षितले फोन गरेर भन्नुभयो, ‘के फिल्म बनाको त्यस्तो, त्यस्तो पनि बनाउने ? हेर्दाहेर्दै दसैँ नै खल्लो बनाइदियो मेरो’ भनेर गाली गर्नुभयो । तर मन पराएर गाली गर्नुभएको थियो ।’
त्यसको सुटिङ किरण केसीको घरमा गरिएको उनले सुनाए । बोकालाई रङ लगाउने सिन थियो । लगनखेलमा भैरवको मन्दिरमा एउटा बोका रहेछ । त्यो कालो बोकालाई रङ लगाएर सुटिङ गर्ने कुरा भयो । त्यहाँबाट बोका लिएर जाँदा पुजारीले ‘चोर चोर, बोका लग्यो’ भनेर कराए । ‘पछि हामीलाई चिन्नुभयो । अनि खिच्न दिनुभयो । कुकुर र खसीचैँ किरण केसीकै घरमा थियो । खसी लगेर राखेको भोलिपल्ट कुकुर निस्केको सिन हो यो,’ समाजका कथा टिप्दा उनले अनेक हण्डर खेपे ।
दसैं हेरेर मन चटक्क चुँडियो, हुनेलाई दशैं नहुनेलाई दशा रहेछ भन्ने कुरा देखाउनुभयो तपाईंले भन्नेहरु पनि निस्किए । विशेष गरेर कर्मचारी वर्ग जो निम्न आयका हुन्छन्, उनीहरुलाई चै यसले बढी छोयो । अहिले पनि दसैं आयो कि त्यो चलचित्र देखाइन्छ । अझै पनि मन सबैले पराएको देखेर उनी गर्वले ढक्क हुन्छन् ।

नेपाल टेलिभिजनले एउटा सिरियल बनाइदिनुहोस् न भन्यो उनलाई । लौ त भनेर अघि सरे । ‘हामीलाई आवाजसँगै अनुहारले पनि चिनियोस् भन्ने मोह थियो । त्यसपछि ‘पन्ध्र गते’ भन्ने कथा लेख्यौँ मदन दाइ र म बसेर । पहिला त के हुन्छ कसो हुन्छ मन पराउँछन्प-पराउँदैनन् भन्ने लागेको थियो । कन्फिडेन्स थिएन । एक सिरियलको २० हजार दिएको थियो नेपाल टेलिभिजनले । चार भाग बनाउने सम्झौता गरेका थियौँ ८० हजारमा ५ भाग बनायौँ ।’
सुटिङका दौरान विराटनगर पुगे । शर्मिला मल्ललाई थारु महिलाको भूमिकामा खेलाए । त्यो बेला किरण केसीसँग मित्रता भएको रमाइलो कहानी उनले सुनाए । ‘त्यसमा एउटा ड्राइभरको रोल थियो । सुटिङ गर्न गाडी चाहिन्थ्यो । गाडी भएको मान्छेलाई खेलाउन पाए हुन्थ्यो भन्ने भयो । अनि मैले झ्वाट्ट किरण केसीलाई सम्झिएँ । उहासँग मैले नाटक ‘अमरसिंह’ मा सँगै काम गरेको थिएँ राष्ट्रिय नाचघरमा । हिरोको रोल उनले खेलेका थिए । त्यो बेला उनको गाडी पनि थियो अनि मैले मदन दाइसँग किरणलाई खेलाऊँ भनेँ ।’
‘पछि हामीले बोलायौँ । फेरि यो रोल अशोक शर्मालाई खेलाउने कुरा भयो । उहाँ काम परेर आउन पाउनुभएन अनि रोल साटेर किरणलाई थारु केटाको भूमिका र ट्याक्सी ड्राइभरको भूमिका नरेन्द्र कंसाकारलाई दियौँ । किरण केसीलाई हामीले राम्रो कलाकार भनेर होइन, गाडी भएको मान्छे भनेर खेलायौँ । किरण त्यो थारु केटाको भूमिकामा खुब जमे । सबैले थारु केटा नै भने । ‘पन्ध्र गते’ टेलिकास्ट भैसकेपछि एकदमै राम्रो फिटब्याक पायौं ।’
त्यो हाइभिजन हलको जमाना थियो । भृकुटीमण्डपमा हाइभिजनमा फिल्म देखाउने हल थियो । त्यसमा ‘पन्ध्र गते’ चलाइयो । ‘तर हामीलाई पैसा दिएनन् । उल्टो ६४५ रुपैयाँ हाम्रो खल्तीबाट गयो । १०० दिनभन्दा बढी देखाएपछि केही पैसा दिन्छ कि भन्ने लागेको थियो । ५ हजार मात्रै भए नि दिनुस् न भनेको पनि दिएन,’ उनले त्यसयताका यात्राबारे सुनाए, ‘त्यसपछि भने हामी चेतनामूलक चलचित्र खेल्न थाल्यौं । जसमा स्पोन्सर हुन्थे । अलिक बढी पारिश्रमिक हात पथ्र्याे । त्यसयता जनचेतनामुलक काम अहिलेसम्म पनि चल्दै आएको छ ।’
त्यस्तोमा काम गर्दा उनलाई डलरमा बिक्ने कलाकार पनि भन्दारहेछन् । तर उनी त्यसको ख्याल गर्दैनन् । ‘अहिले पनि टेलिभिजनको बजेट भनेको खुब दिए २ लाख दिन्छ । खर्च नै दोब्बर हुन्छ तसर्थ हामी मुभी बनाउन सक्दैनौँ । त्यसै कारण स्पोन्सर फिल्म गर्दै आएका छौ । हामीलाई डलरमा काम गर्ने भन्छन् तर आजसम्ममा कसैले एक पैसा पनि दिएका छैनन् डलरमा । नेपाली पैसा नै दिने हो, यसमा चैँ अलिकति बच्छ । हामी प्रोफेसनल कलाकार हौं । सोखमा मात्रै काम गरेर जिन्दगीभर साध्य पनि त हुँदैन,’ उनी आफ्नो बाटोप्रति निर्धक्क छन् ।
अहिले सिरियलभन्दा चलचित्रको बजार राम्रो छ । विदेशी बजारको प्रभाव पनि उत्तिकै छ । जसको कारण स्पोन्सरसिप नखोजी फिल्म बनाउन असम्भ रहेको उनी सुनाउँछन् । सिरियल अब सपना मात्रै होला जस्तो छ । यसकारण अहिले पनि चलचित्र ‘शत्रुगते’ मा काम गर्‍यौँ । हेरौँ, अब यो के कस्तो हुन्छ ?’
मह सञ्चारले निर्माण गरेको ‘शत्रुगते’ मा किरण केसीको प्रस्तुति छ । दीपकदीपाको लगानी । प्रदीप भट्टराई निदेशक-निर्माता । ‘नरेन्द्र कंसाकार, शिवहरि पौडेल सबै मिलेर सेयरमा निर्माण गरेका हौ,’ नेपाली चलचित्र अहिलेसम्म लहडमा बनिराखेका बेला उनीहरुले मिलिजुली राम्रो चलचित्र बनाउने चेष्टा गरेको सुनाए ।

‘नेपालका कुनै पनि उद्योगपतिले चलचित्रमा लगानी गरेका छैनन् । एकपटक विनोद चौधरीले गर्नुभएको थियो । यसकारण उद्योग बनाउने भन्ने नै चलचित्रकर्मीले हो । दीपकराज गिरीहरुले चलचित्रमा लगातार लगानी गरिरहनुभएको छ । आफ्नु रोल छैन भने पनि अरुलाइ खेलाएर भए पनि हामी आफैले लगानी गर्न छोड्नुहुँदैन । यसलाई उद्योगको रुपमा चलाउने काम चलचित्रकर्मीकै हो ।’
हरिवंश सिरियलले उठेका कलाकार हुन् । तर अहिले जति पनि सिरियल बनिरहेका छन् ती हास्य मात्र छन् । ती पनि उनलाई स्तरीय लाग्दैनन् ।

२०७४ चैत ११ गते ५:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *