यि हुन् ‘नार्इँ नभन्नू ल’का शाखा सन्तान

फिल्म लेखनमा सक्रिय रहँदारहँदै फिल्म ‘नसिब आफ्नो’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक विकासराज आचार्य फिल्म ‘नाईँ नभन्नू ल’बाट दर्शकमाझ चिनिए । त्यसयता उनले ‘रिदम’ र ‘म तिम्रो भइसकें’ पनि निर्देशन गरे तर बाँकी फिल्मभन्दा आचार्य ‘नाइ नभन्नू ल’को निर्देशकका रुपमा बढी चिनिन्छन् । संयोग नै मान्नुपर्छ, नेपाली फिल्ममा पछिल्लो समयमा रुचाइएका बाल कलाकार, नायकनायिका, गायक विकासकै हिट सिक्वेल ‘नाइ नभन्नू ल’कै उत्पादन हुन् ।

आचार्य कलाकारलाई डेब्यु दिनेमा अग्रपंक्तिमा पर्छन् । आफ्ना हरेक फिल्मबाट कसै न कसैलाई मौका दिँदै आएका आचार्यले ‘नाईँ नभन्नू ल’बाट नायिका ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका थिए । गीतका कारण पनि चर्चामा रहेको सो फिल्मबाट ऋचाले लोभलाग्दो चर्चा पाएकी थिइन् । तर ‘म तिम्रो भइसकें’ पछि ऋचा आचार्य क्याम्पमा दोहोरिनन् । आचार्य क्याम्पबाट बाहिरिएपछि ऋचाले त्यो चर्चा पनि कायम राख्न सकिनन् । बिहे गरेर सेटल भएकी ऋचाले हालसालै ‘सुपरगोर्खे’ निर्माण गरेकी छिन् ।

धेरै कलाकारलाई डेब्यु गराउनेमा ‘नाईँ नभन्नू ल २’ अग्रपंक्तिमा आउँछन् । यो फिल्मबाट अहिले चल्तीका नायिका वर्षा सिवाकोटीले डेब्यु गरेकी थिइन् भने यही फिल्मबाट बालकलाकारको रुपमा सुज्ञानी भट्टराईले दर्शकको मन जितेकी थिइन् । यही फिल्मबाट प्रेम परियारले पाश्र्व गायनमा डेब्यु गरेका थिए । ‘रिदम’बाट डेब्यु गरेका अनुभव रेग्मी यही फिल्मबाट बालकलाकारको रुपमा चर्चामा आएका थिए ।
‘नाइ नभन्नू ल’को हरेक सिक्वेलमा अटाएका अनुभवले यो फिल्मबाट सफलता पाए पनि विकासको फिल्मबाहिर भने उनले ‘ए मेरो हजुर २’बाट मात्र सफलताको स्वाद चाख्न पाए । तर सुज्ञानीले भने फिल्मी करियरलाई निरन्तरता दिन सकिनन् । यही फिल्मबाट पाश्र्वगायनमा डेब्यु गरेका गायक प्रेम परियार फिल्ममा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौं’बाट चिनिए । फिल्मको तेस्रो सिक्वेलबाट बाल कलाकार सफला भट्टराईले डेब्यु गरे पनि यो फिल्मपछि उनी अन्य फिल्ममा देखिएकी छैनन् ।

विकासको ‘नाइ नभन्नू ल ४’बाट डेब्यु गरेका वर्षा राउत, पल शाह र आँचल शर्मा फिल्मी अभिनयमा चाहिँ भाग्यमानी कलाकारका रुपमा चिनिए । म्युजिक भिडियोको मोडलिङमा हटकेक मानिएका पलले यो फिल्मबाट चर्चा पनि राम्रै पाए । यही फिल्ममार्फत नायिका आँचल शर्मासँग चिनजानी गरेका पल र आँचलको जोडी अहिले चर्चामा आइरहने जोडी पनि हो । यो फिल्मपछि पलले ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरे जुन फिल्मले बक्स अफिसमा हिट साबित भयो । यो फिल्म पछि आँचलसँग जोडी बनेर अभिनय गरेको फिल्म ‘जोनी जेन्टलमेन’ व्यावसायिक रुपमा असफल बन्यो । यो फिल्मपछि उनीहरु अभिनित पछिल्लो फिल्म ‘शत्रु गते’ले भने यतिबेला हलमा दर्शकको राम्रो माया पाइरहेको छ ।
नायिका वर्षा पनि फिल्मी अभिनयमा सक्रिय छिन् । उनले अभिनय गरेका ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘जात्रा’ले व्यावसायिक सफलता पाइसकेका छन् ।

पाँचौं शृंखलाबाट भने अभिषेक नेपालले डेब्यु गर्दैछन् । बिबिएका विद्यार्थी अभिषेकले फिल्ममा स्वस्तिमा खड्काको जोडीको रुपमा अभिनय गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीमा पढिरहँदा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले अभिनयसँगै फिल्मका लागि आवश्यक अन्य कुराको पनि प्रशिक्षण लिएका छन् ।