मन भरिन्छ, आँत भरिन्न – ‘शत्रुगते’ चलचित्र समीक्षा

एउटा सानो क्यानभासमा पात्रको भित्री संवेदना र मनोविज्ञानलाई उठाएर प्रदीप भट्टराईले चलचित्र ‘जात्रा’ निर्देशन गरे । मध्यम वर्गीय आम नेपालीको कथा वरिपरि रुमलिएको उक्त चलचित्र दर्शक समीक्षक दुवैले रुचाए ( जुन नेपाली फिल्ममा विरलै हुन्छ) । चलचित्रबाट निर्देशक प्रदीप भट्टराई दर्शक तथा फिल्मकर्मीको नजरमा एकाएक ‘नोटिस’ भए । उनको निर्देशकीय क्षमताको खुलेरै तारिफ भयो ।
यतिबेला उनै निर्देशकले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ प्रर्दशन भइरहेको छ । तर ‘जात्रा’ को स्वाद खोजेर हल जाने दर्शकको प्यास भने यो फिल्मले फिल्मले बुझाउँदैन ।

काठमाडौंको कोलोनीमा केही परिवार बस्छन्, तर एउटै कोलोनीमा बसे पनि सवैको मन एउटै छैन । अझ रघुवंशी झा र गोपाल (हरिवंश आचार्य) को बीचमा त पानी बाराबारकै स्थिति छ । तर दुवैका सन्तान सुरज (पल शाह) र सन्ध्या (आँचल शर्मा) भने गहिरो प्रेममा छन् । दुवैका बाबुको असहमतिका बावजुद इंगेजमेन्ट हुन्छ र विवाहको मिति पनि तय हुन्छ तर यो सबै योजना तहस नहस हुन्छ जब फिल्ममा राहुल (दीपकराज गिरी)को प्रवेश हुन्छ । कथामा राहुलको प्रवेशले दुई बाबुबीचको दुश्मनी कहाँसम्म पुग्छ र यसले सुरज र सन्ध्याको मिलनलाई कति सम्भव÷असम्भव बनाउँछ सवा दुई घन्टाको फिल्म यही प्रश्नको सेरोफेरोमा घुमेको छ ।
विषयवस्तुका हिसाबले फिल्मले उठान गरेको विषय नयाँ होइन । संसार भर सबैभन्दा ज्यादा फिल्म बनेको ‘रोमियो जुलियट’को कथा ‘शत्रु गते’को पनि आधार कथा हो । तर आधार कथालाई पटकथा लेखकद्धय प्रदीप भट्टराई र कलाकारले दीपकराज गिरीले चाखलाख्दो किसिमले अगाडि बढाएका छन् र यसमा कलाकारको अभिनयले टेकोको काम गरेको छ । दिग्गज कलाकारहरुको भिड रहेको फिल्मले दर्शकलाई हाइ काढ्ने मौका दिएको छैन ।

तर अभिनयका हिसाबले हरिवंश आचार्य सबैमा हाबी देखिन्छन् । अभिनयकै कुरा गर्दा रमेश रञ्जन झा र दीपक राज गिरी पनि खास लाग्छन् । अघिल्ला फिल्ममा औसत अभिनय गरिरहेकी आँचलको पनि अभिनयमा पनि व्यापक सुधार देखिन्छ तर पल शाह भने अभिनयमा सवैभन्दा कमजोर देखिन्छन् । फिल्ममा पर्याप्त स्क्रिनस्पेश हुँदा पनि पलले आफूले पाएको स्पेश सदुपयोग गर्न चुकेका छन् । बरु सानो भूमिकामा देखिएका मदनकृष्ण श्रेष्ठले आफ्नो भूमिकालाई स्मरणीय बनाएका छन् । माथि उल्लेख गरिएका कलाकारको अभिनयसँगै फिल्मको संवाद फिल्मको बलियो पक्ष हो । ‘राइम’ मिलेका संवादले हँसाउँछन् तर निर्देशक भट्टराईकै ‘जात्रा’सँग यो फिल्मको तुलना गर्ने हो भने यसमा संवाद लेखक भट्टराई र हरिवंश आचार्यले ‘पासमार्क’ मात्र पाउँछन् । ‘जात्रा’मा जहाँ भट्टराईले पात्रलाई कम संवाद बोलाएर सिचुएनमार्फत हँसाएका थिए, यसमा ठिक उल्टो छ । यहाँ भने हँसाउनलाई धेरै दृश्यको चाङ लगाइएको छ । दीपकराज गिरी र अंशु महर्जनको दृश्य यसको प्रमाण हो । कलाकारको भित्री संवेदना र पात्रको मनोविज्ञानलाई लत्याएर फिल्मलाई जबरजस्ती संवाद र कमेडीको माध्यमबाट अगाडि बढाउन खोजिएको छ ।

फिल्मको छायांकन राम्रो छ तर फिल्मको पाश्र्व संगीत धेरै ठाउँमा लाउड लाग्छ । संवाद नै संवाद भएको फिल्ममा लाउड पाश्र्व संगीत धेरैलाई बिझाउँछ । नायिका प्रियंका कार्कीलाई प्रहरीको भूमिकामा देखाइएको छ तर चरित्रले प्रहरीको गलत चित्रण गरेको छ । फिल्मको एक दृश्यमा प्रियंकाले पति बनेका दीपकराज गिरीलाई कस्टडी मै कुटेको र पछि माया गरेको दृश्य छ । तर सत्य के हो भने आफन्तको मुद्दा हेर्ने अधिकार प्रहरी प्रशासनले कसैले पनि दिएको हुन्न । फिल्मको नाममा यस्तो ‘लिबर्टी’ लिएको राम्रो होइन ।
चरित्रको गहिराइबिनाको फिल्मको आयु लामो हुन्न । ‘शत्रु गते’को एउटा गम्भीर समस्या यही हो । फिल्मको पटकथा कुनै पनि चरित्रको गहिराईमा बस्दैन । न त यसले गोपाल रघुवंशी बीचको दुश्मनीको कारण बताउँछ न सुरज र सन्ध्याको प्रेमको गहिराई । अझ अपत्यारिलो चरित्र चित्रण त दीपक राज गिरीको छ ,जो युट्युबमा भिडियो हालेर कल्पना नै गर्न नसकिने सपना पूरा गर्न तम्सिएको छ । प्रहरी बनेकी प्रियंका दोस्रो हाफमा रमिते मात्र बनेको पनि हजम हुँदैन ।
त्यसका बावजुद फिल्म रमाइलो छ । दोस्रो हाफमा बीचमा कहिँ अलमलिए पनि फिल्मको अन्त्यले दर्शकलाई सन्तुष्ट बनाउँछ । फिल्म हलमा बसुञ्जेल हाँस्न रुचाउने दर्शकका लागि फिल्मले निराश बनाउँदैन ।
नेपाली फिल्मका लागि हलमा दुई सवा दुई घन्टा दर्शक टिकाउनु नै ठूलो सफलता हो । यस मानेमा हेर्दा ‘शत्रु गते’ सफल फिल्म हो तर महसँगै दीपक– दीपा र प्रदिप भट्टराईबाट फिल्म उद्योगले यत्ति मात्र आश गरेको हैन । ‘शत्रु गते’ हेर्दा मन त भरिन्छ तर आँत भरिन्न ।