‘जय शम्भु’को सुटिङमा किचलो

केही समय अगाडि फिल्म ‘रानीमहल’ छोडेर फिल्म ‘जय शम्भु’मा आबद्ध भएका अभिनेता प्रशान्त ताम्राकारका कारण ‘जय शम्भ’ु भित्र भाँडभैलो भएको तथ्य बाहिरिएको छ । श्रोतका अनुसार प्रशान्त ताम्राकारले फिल्म सुटिङका लागि दिएको समय आलटाल गर्ने मात्र होइन, उनले सुटिङको बीचमा आएर स्क्रिृप्ट नै परिवर्तन गर्न पनि निर्माता-निर्देशकलाई दबाब दिने गरेका छन् । उनकै कारणले ६ दिनदेखि फिल्मको सुटिङ नभएको पनि श्रोतले बतायो । ‘फागुन १५ गते फ्लोरमा गएको फिल्ममा २२ गतेदेखि प्रशान्त जीको सेड्युल थियो तर उहाँले फागुन २२ गते होइन २२ तारिख हो भन्नु भयो तर अहिले २२ तारिख पनि हुँदैन चैत्र १८ गतेदेखि गरौ भन्दै बारबार टारिरहनु भएको छ,’ नाम नबताउने सर्तमा फिल्म क्रिउका एक सदस्यले भने । आफ्नो सुटिङ सेड्युलमा नजाने प्रशान्त अन्य नयाँ कलाकारको सुटिङमा भने पुग्ने अनावश्यक टिप्पणी गर्ने गरेको पनि ती सदस्यले बताए ।

‘निर्देशकको काम भएन भनेर आफ्नो पार्टमा अर्कै निर्देशक राख्नलाई दबाब दिनु भएको छ । उहाँले आफ्नो भागको दृश्यको निर्देशनका लागि मलाई दिवाकर भट्टराई चाहिन्छ भनेर निर्मातासँग माग गर्नु भएको छ,’श्रोतले भन्यो । निर्मातामध्येका एक अरबिन्दले पनि दिवाकरसँग मिटिङ बसेको स्वीकारे ।
‘हो, प्रशान्तजीले दिवाकरजीलाई राखौं भन्ने भन्ने कुरा गर्नु भएको थियो । तर हाम्रो आफ्नै टिम अलरेडी छ हामीले मानेनौं,’ अरविन्दले भने ।
निर्माता मध्येका एक दिनेश शाहीले निर्देशक थप्ने विषयमा आफूलाई जानकारी नभए पनि ताम्राकारका कारण सुटिङमा समस्या भइरहेको बताए । उनले भने ‘सम्झौता अनुसार उहाँले हामीलाई समय नदिएको र अन्य दुई निर्मातासँग उहाँले भेटेको सत्य हो बाँकी मलाई पनि जानकारी छैन ।’

कलाकार प्रशान्त ताम्राकारले भने निर्धारित समयभन्दा अगाडि नै फ्लोरमा गएकाले सुटिङमा समस्या भएको बताए ।
‘म पहिले नै अर्को फिल्ममा बिजी छु । त्यो छाडेर हतार हतार यता आउने कुरा हुन्न,’ उनले भने । ताम्राकारले दिवाकर भट्टराईलाई भने सल्लाहका लागि भेटाएको बताए ।
‘फिल्ममा केही समस्या छ भन्ने भएपछि सल्लाहका लागि दिवाकरलाई भेटेका हौं । निर्देशक नै चेन्ज गर्न खोजेको होइन । यदि फिल्म चित्त बुझेन भने म आफैं छाड्छु निर्देशक किन चेन्ज गरिरहने ?,’ ताम्राकारले प्रश्न गरे । उनले फिल्मको तयारी नपुगेको र स्क्रिृप्टमा पनि थप काम गर्न पर्ने देखिएपछि फिल्मको भलाईका लागि नै आफूले सल्लाह दिएको बताए ।

‘उहाँहरूलाई मेरो सल्लाह चित्त बुझेन मसँग काम नगर्दा पनि हुन्छ । तर टिममा भएको कुरा बाहिर सार्वजनिक गर्नु राम्रो होइन,’उनको भनाई थियो । उनले निर्मातासँग छलफल भइरहेको र आफूले नयाँ सेड्युल दिएको पनि बताए ।
१ करोड हाराहारीमा सक्ने गरी फ्लोरमा गएको फिल्मको अहिलेसम्म ५० प्रतिशत मात्र सुटिङ सकिएको छ । तर अहिलेसम्म फिल्मको ८५ लाख खर्च भइसकेको छ । यस हिसाबले हेर्ने हो भने फिल्मको बजेट रिलिजसम्म दुई करोढ पुग्ने अनुमान गरिएको छ । निर्माण टिमले ताम्राकारसँगै अनुपविक्रम शाही र वर्षा सिवाकोटीका लागि मात्र १८ खर्चिएको बताइएको छ जसमध्ये ताम्राकारले मात्र ७ लाख लिएका थिए ।
‘सम्बोधन’ र ‘मुखौटा’बाट खासै नोटिश नभएका ताम्राकार ‘ऐश्वर्य’मार्फत चम्किएका थिए । हाल ‘रणवीर’को स्ुटिङ गरिरहेका ताम्राकारले ‘रानीमहल’ पनि घोषणापछि छाडेका थिए ।