प्रदिप/सन्तोष जुहारी, घर ज्वाँइ की बुहारी ?

निर्माता सन्तोष सेन र नायक प्रदिप खड्काबीच एउटा समानता छ । प्रदिपले डेब्यु अभिनय गरेको फिल्म ‘स्केप’ र सन्तोषले डेब्यु निर्माण गरेको ‘चंखे शंखे पंखे’ बक्स अफिसका फ्लप फिल्म हुन् । ‘स्केप’ फ्लप भएपछि प्रदिप अष्ट्रेलिया जाने तयारीमा थिए । सन्तोष चाहिँ अझ राम्रो रकम खर्चेर नयाँ फिल्म बनाउने सोचमा थिए । अष्ट्रेलिया उड्ने सोच बनाइरहेका प्रदीपको भेट सन्तोषसँग नभइदिएको भए यतिबेला प्रदिप अष्ट्रेलियाका सहरमा फिरन्ते हुन्थे ।

सन्तोषसँगको पहिलो भेट प्रदीपका लागि फिल्मी अभिनयको एउटा कोसेढुंगा साबित भइदियो । सन्तोषको दोस्रो प्रोजेक्ट ‘प्रेमगीत’मा अनुबन्धित भएपछि प्रदीपले पछाडि फर्किएर हेर्नु परेन । ‘प्रेमगीत’को सफलताले उनलाई रातारात स्टार बनाइदियो । यही फिल्मको कारण फिल्मका निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मासँग सम्बन्ध चिस्याएका प्रदिप सन्तोषकै क्याम्पमा रमाइरहे । प्रदिपको कामलाई नजिकबाट नियालेका सन्तोषले तेस्रो प्रोजेक्ट ‘प्रेमगीत २’मा नवनायिका अश्लेषासिंह ठकुरीसँग प्रदिपको जोडी बाँधिदिए । यो फिल्मले पनि लगानी सुरक्षित गरिदियो । सन्तोषसँग दोस्ती बढेपछि प्रदिप बाहिरी ब्यानरका फिल्ममा कहिल्यै चासो दिएनन् । आम फिल्मकर्मीले प्रदिपको यो क्रियाकलाप देख्दा सन्तोष प्रदिपको भगवान नै रहेछन् भन्ने ठाने । किनकी उनीहरुको सम्बन्ध हेर्दा त्यस्तै देखिन्थ्यो । सन्तोषले घोषणा गरेको नयाँ फिल्म ‘दीपेन्द्र सरकार’मा पनि प्रदिप शीर्ष भूमिकामा नै थिए ।

तर अहिले स्थिति अलिक फरक देखिएको छ । गायक रोशन गुरुङले गाएको गीत ‘समयले कोल्टे फेर्दा को को के के भए’सँग प्रदिप र सन्तोषको सम्बन्ध ठ्याक्कै मिल्छ । यो गीतको ‘दाँयाबाया नलाग्ने म उस्ता उस्तै रहे’ अन्तरा जस्तै प्रदिपले सन्तोषको व्यानर आशुसेनलाई छोडेर बाहिरी ब्यानरका फिल्ममा काम गर्न थालेपछि सन्तोष उस्ताको उस्तै बनेका छन् । प्रदिप यतिबेला निर्देशक मिलन चाम्सको फिल्म ‘लिलिबिली’को प्रमोसनमा व्यस्त छन् । यो फिल्मपछि उनी ‘रोजी’, ‘भैरवी’ र ‘सोलीडोली’मा व्यस्त हुनेछन् । प्रदिपले सुदर्शन र पुजासँगको बिग्रिएको सम्बन्धलाई पुनः पहिलाकै अवस्थामा अर्थात सम्बन्ध सुधारको वातावरण बनाउनेतर्फ ध्यान दिइरहेका छन् ।
केही दिन अघि नायिका पुजा शर्मासँगको पुतलीसडकको भेटले पनि उनीहरुको सम्बन्ध सुध्रिएको चर्चा बजारमा छ । किनकी फिल्म ‘प्रेमगीत’मा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । प्रदिपलाई पुजा र सुदर्शनसँगको सम्बन्ध बिगार्न प्रदिप नै कारक बनेको चर्चा पनि नलचेको होइन् । पुजासँगको सम्बन्ध सुध्रनु भनेको अहिलेको अवस्थामा सुदर्शनसँगको सम्बन्ध पनि सुध्रिनु भन्ने आम बुझाई छ ।
प्रदिप अन्य व्यानरका फिल्म सक्रिय हुन थालेपछि सन्तोषले अहिले मुख खोलेका छन् । ‘मैले प्रदिपलाई पहिल्यैदेखि नै रिजर्भ बस्नु भनेर सल्लाह दिइरहेको थिएँ । उसले हरेक फिल्ममा काम गर्नु अघि मसँग सल्लाह लिने गर्दछ । त्यो सल्लाहमा मैले रिजर्भ नै बस्नु भन्ने कुरा गरिरहन्छु,’ सन्तोष भन्छन्, ‘मेरो नयाँ प्रोजेक्टमा लगानी गर्दा त्यो लगानी अरु फिल्मलाई फाइदाको माध्यम नबनोस् ।’
सन्तोष असारबाट नयाँ पारिवारिक फिल्मको काममा व्यस्त हुनेछन् भने दशैं पछाडि ‘प्रेमगीत ३’तिर लाग्नेछन् । पारिवारिक फिल्ममा प्रदीप हुन्छन् या हुन्नन् भन्ने स्वयं सन्तोषलाई पनि थाहा छैन । ‘यो फिल्म र प्रेमगीत ३ मा प्रदिप हुन पनि सक्छन् र नहुन पनि सक्छन् । तर फिल्म क्षेत्र भित्रकै कलाकार हुन्छन्,’उनी भन्छन्,‘जहाँसम्म प्रेमगीत ३ र दीपेन्द्र सरकारको कुरा छ । दीपेन्द्र सरकारमा प्रदीप फाइनल भइसकेका छन् ।’
प्रदिपको अहिलेको कामको व्यस्तता हेर्दा सन्तोषको नयाँ फिल्मलाई समय दिन सक्छन् या सक्दैनन् भन्ने टुंगो छैन । किनकी एउटा फिल्मको प्रमोसनको काम सकेसँगै अर्को फिल्मको प्रि प्रोडक्सनको लागि समय छुट्याउनुपर्ने उनलाई बाध्यता छ ।
समग्रमा भन्दा प्रश्न एउटै उठ्छ ‘प्रदिप सन्तोष जुहारी, घर ज्वाँइ की बुहारी ?