मेरो संगतका हिरोइनहरू – राजन घिमिरे

उषा पौडेलको बास्तविक नाम रुक्मणी कुमारी रहेछ भनेर मैले घटना र बिचारमा लेख्दा मसँग झगडा गर्न आएकी थिइन् उनी । अहिले अमेरिकामा नायक सुधांशु जोशीसँग विवाह गरेर आफ्नो जीवन अगाडि बढाइरहेकी उषाको फेसबुक हेर्नुस् उनले अहिले उषासँगै आफ्नो नाम रुक्मणी पनि लेख्ने गरेकी छिन् ।

कुनै समय पत्रपत्रिकामा रहरले चलचित्र सम्बन्धि लेखिन्थ्यो । अन्ततः त्यो रहर पछि व्यवसायिक हुन पुग्यो र चलचित्र पत्रकारिताबाहेक अरू केही सोचिएन, देखिएन, लेखिएन र बुझिएन पनि । होमनाथ दाहाल र पुरूषोत्तम दाहालको राष्ट्रपुकार साप्ताहिकदेखि गोविन्द बियोगीको मातृभूमि साप्ताहिक र किशोर नेपाल सम्पादक हुनुहुँदा हिमालय टाइम्स दैनिकमा चलचित्र सम्बन्धि पत्रकारिता गर्दै अगाडि बढेको म यो बिधासँग आबद्ध भएको पनि दुई दशक बितिसके छ । यो बीचमा डा. प्रदीप भट्टराई, धर्मेन्द्र झा, देवप्रकाश त्रिपाठी, जयप्रकाश त्रिपाठी, हेमन्त काफ्ले , महेन्द्र बिष्ट, बबिता बस्नेत, तिर्थ कोइराला, बिष्णु निष्ठुरी जस्ता हस्तीहरूसँग काम गर्ने अबसर पाउनुलाई जिवनको ठूलै उपलब्धिको रूपमा लिएको छु । अहिले पनि घटना र बिचारसंग आबद्ध् छु भने टेलिभिजनमा नेपाली चलचित्र सम्बन्धी कार्यक्रम क्ल्याप बोर्ड र प्रवासी नेपालीहरूको गतिविधि समेटिने अर्को कार्यक्रम एन आर एन टिभी शो सन्चालन गरिरहेको छु । टेलिभिजनमा क्ल्याप बोर्ड चलाउन थालेको डेढ दशकभन्दा बढी भैसकेको छ । मैले यो कार्यक्रम नेपाल टेलिभिजनमा चलाउँदा नेपालमा अरू कुनै टिभी नै थिएन । तर आज यो कुरा भन्दा रहरले चलचित्र विधासँग आबद्द हुन आउनेहरू अस्वीकार गर्दै हाँस्छन । बिचराहरूले विश्वास पनि कसरी गरून ? म टेलिभिजनमा बोल्दा उनीहरूले गाडी पनि देखेका थिएनन् । यो मेरो घमन्ड होइन इतिहास हो । इतिहास व्यक्त गर्दा घमण्डी भइँंदैन भन्ने मेरो मान्यता हो । मूलुकका बरिष्ठदेखि कनिष्ठ पत्रकारहरू र पत्रिकामा काम गरेको अनुभव नै मेरो कमाई हो जस्तो लाग्छ । चलचित्र पत्रकारितामा मेरो यात्रा अझै जारी नै रहिरहने छ ।
यो दुई दशक लामो चलचित्र पत्रकारितामा धेरै कलाकर्मीहरूको जीवन र मरणलाई नजिकबाट नियाल्ने अवसर पाएँ । धेरैको घर बिग्रिएको र सप्रिएको यही आँखाले देखे । कलाकारितामा टिक्न नसकेर वा विविध कारण यो क्षेत्रबाट पलायन भएकाहरूसँग संगत पनि धेरै गरियो । तर यो लेखमा भने यसपटक नायिकाहरुको बारेमा केही कुराहरू लेख्दै छु । यो लेख पढेपछि मलाई कतिले गाली गर्ने हुन या कतिले ताली दिने हुन ? त्यस बारेमा पछि कुरा गर्ने छु ।

कुरा २०५३-५४ सालतिरको हो । मैले पहिलोपटक शर्मिला मल्ल दिदीको अन्तरवार्ता लिने अवसर पाएको थिएँ । त्यतिबेला जति सुन्दर र मिजासिलो हुनु हुन्थ्यो आज पनि त्यो चार्म उहाँमा छ । विशेष गरेर चलचित्र पत्रकारहरूलाई निकै माया गर्ने र सम्मान गर्ने विशेष गुण छ उहाँसँंग । फूर्सद हुनासाथ परिवारजस्तै घरमा स सम्मान बोलाउने र सुख दुख साट्ने गजबको शैली थियो उहाँँसँंग । तर आजका केही अभिनेत्रीहरूमा मात्र यस्तो बिशेषता देखिन्छ र अरूहरूमा स्बार्थ झल्किन्छ । तर हाम्रा नयाँ आउनु भएका साथीहरूलाई यो कुराको हेक्का छैन । आज उहाँहरूलाई आफ्नो ठान्नेहरूले हामीलाई शर्मिला मल्लले २० वर्षपछि पनि गर्ने व्यवहार एउटै पाउन सक्नु हुन्छ ? अवश्य सक्नु हुन्न । चलचित्र पत्रकारिताको यात्रामा शर्मिला मल्ल, जल शाह, विपना थापा, रेखा थापा, सारंगा श्रेष्ठ र रेजिना उप्रेतीसँग मेरो धेरै निकटता थियो । आज सारंगा र जल अमेरिका छन् भने विपना थापा भारततिर छिन् । शर्मीला मल्ल घर व्यवहार तिर व्यस्त हुनु भएता पनि राम्रो प्रस्ताव आएमा चलचित्रको मोहलाई छोड्न सक्नु भएको छैन उहाँले (‘ सुहाउँदो रोल आयो भने खेल्न छोड्दिन यसै भन्नु हुन्छ शर्मीला दिदी) । रेखाको कलाकारिता निरन्तर भैरहेको छ । लाग्छ उनको जन्म नेपाली सिनेमा कै लागि भएको हो । पहिलो चलचित्र हिरो खेल्दा त्यो फिल्मको अफिस पुरानो बानेश्वर हाइटमा रेखाले त्यति बेला भनेको कुरा म आज पनि सम्झन्छु ‘ दाइ मैले पहिलोपटक नै राजेश हमालसँग खेल्न पाएँ । म एक दिन नम्बर वन नायिका बन्ने छु ।’ रेखाले यो कुरा पूरा गरेरै छाडिन् । नेपाली सिनेमालाई सडकदेखि महलसम्मका दर्शकहरू माझ पुर्याउन रेखाले दिएको योगदानको अवमूल्यन गर्यो भने उद्योगलाई पाप लाग्छ । विदेश भासिएर पैसा कमाएर आनन्दको जीवन रेखाले पनि जिउन सक्थिन् तर आफ्नो बैंश उनले नेपाली चलचित्रकै लागि सुम्पिदिइन । नाम भए पनि बदनाम भएपनि यो क्षेत्र छाडिनन् उनले । अहिलेका केहीहरूले उनको विरोध गरेको देख्दा हाँसो उठ्छ ।

रेजिना, सन्चिता र उषा पौडेलको अन्तरबार्ता मैले नै लिएको थिएँ, पहिलोपटक । सन्चिताले त्यतिबेला पहिलो चलचित्र ‘अप्सरा’ खेलेकी मात्र थिइन् । उनको लागि प्रभूजी ( जो आज यो संसारमा हुनुहुन्न )ले अन्तरवार्ताको लागि भन्नु भएको थियो भने उषालाई मैले शान्तिनगरको भाडाको कोठामा भेटेको थिएँ । रेजिना टेलिचलचित्रबाट चिनिएकी बेलामा बबरमहलको चौरमा घटना र बिचार साप्ताहिक कै मित्र नबिनजीले भेटाइदिनु भएको थियो । पछि उषा पौडेलको बास्तविक नाम रुक्मणी कुमारी रहेछ भनेर मैले घटना र बिचारमा लेख्दा मसँग झगडा गर्न आएकी थिइन् उनी । अहिले अमेरिकामा नायक सुधांशु जोशीसँग विवाह गरेर आफ्नो जीवन अगाडि बढाइरहेकी उषाको फेसबुक हेर्नुस् उनले अहिले उषासँगै आफ्नो नाम रुक्मणी पनि लेख्ने गरेकी छिन् । अहिले उनीसँग राम्रै सम्बन्ध छ । चलचित्र पत्रकारिताको यात्रामा संघर्ष गरेर आफ्नै बलबुतामा नाम बनाएकी हिरोइनमा सारंगालाई मान्छु म । उनको पारिवारिक पृष्ठभूमि खासै बलियो थिएन तर पनि डगमगाइनन् उनी । नृत्यमा नै सारंगाको विशेषता थियो । जल शाहलाई सुन्दरता र उनकी आमाको साथ थियो । मिडियाहरूसँग कसरी बोल्ने र सम्बन्ध बढाउने ? सबै आमाले सिकाउँथिन । त्यस कारण पनि जल त्यति विवादमा परिनन् । अहिले यही कुरालाई फलो गरिरहेकी छिन साम्राज्ञीकी आमा नेहा आर एल शाहले । छोरीलाई उनले राम्रो संस्कार दिएको देखिन्छ ।
पछिल्लो समय देखिएका हिरोइनहरूमा केकी अधिकारी शालिन र सभ्य लाग्छ मलाई । शिक्षा र पारिवारिक कारण पनि हुन सक्छ कि उनको शैली र सोच अलि माथि नै छ । बरिष्ठ कलाकार बद्री अधिकारीकी छोरी हुनु र कलाकारिताको सस्कारमा हुर्कन पाउनु पनि केकीको लागि फलदायी हुन पुग्यो । मिडियाकर्मीको रूपमा सिनेमा क्षेत्रमा आएता पनि निशा अधिकारी र ऋचा शर्माले त्यो फाइदा उठाउन सकेको देखिंदैन । नम्र र शालीन ब्यबहार कै कारण झरना थापा सबैको प्रिय भैरहेकी छिन् भने आशा लाग्दी सज्जा मैनालीको अमेरिका पलायन, नेपाली सिनेमाको लागि घाटा हो । युना उप्रेती, ऋचा घिमिरे, अरूणिमा लम्साल, रन्जना शर्माहरूले अवसर त पाएका हुन तर खासै तिर मार्न सकेनन् । बरू एक समय सबैलाई पछाडि पार्दै चम्किएकी थिइन निरूता सिंह । मीठो बोली र ब्यबहार उनको विशेषता थियो । उनी अहिले भारतमा छिन् ।

बेनिसा हमाल पनि प्यासन भएकी हिरोइनमा लिन्छु म । काम राम्रो गरेता पनि त्यो अनुसार नाम नहुँदा मन त उनको खिन्न भएकै छ तर पनि उनले हरेश खानु हुन्न । अघिल्लो पुस्तिकी विपना थापालाई म बाठी हिरोइन भन्छु । कोसँग कस्तो ब्यबहार गर्ने ? चलाख थिइन उनी । यतिसम्मकी त्यतिबेला कुनै चलचित्र पत्रकारहरू छैनन् होला जसको भान्छामा बिपना नपुगेको होस । पारिवारिक सम्बन्ध गाँस्न निकै सिपालु थिइन्, उनी । आमा, भाउजु, अन्टी भनेर चलचित्र पत्रकारहरूको परिवारमा पुगि हाल्थिन उनी र आफ्नो घरमा पनि उत्तिकै बोलाउँंथिन ।
सुन्दरताको हिसाबले करिश्मा मानन्धरको जति प्रशंसा गरेपनि थोरै हुन्छ । उहाँको पहिलो चलचित्र सन्तान कुमारी हलमा धेरै पटक हेरेको र अर्को चलचित्र मायालुको शुटिंग गोकर्णको जंगलमा हेर्न पाएको समयदेखि अहिलेसम्म उहाँको सुन्दरतामा कमी आएको देख्दिन म । नेपाली सिनेमा नै भनेर लागि पर्ने करिश्मा जस्तो नायिकाको तारिफ गर्न कन्जुस गर्नु हुन्न । जीवनमा धेरै उतार चढाव आए तर करिश्माले चलचित्रलाई छाड्न सकिनन् । के अहिलेका हिरोइनहरूले यो यात्रा तय गर्न सक्छन त ?