हिरासतमा जानबाट यसकारण बचे भुवन केसी ?

शम्भु प्रधानको प्रतिलिपी अधिकार हनन गरेको मुद्दामा ‘कृ’ फिल्मका निर्माता सुवास गिरी मंगलबार साँझदेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसरले बेलुकी ४ बजे गिरीलाई सोधपुछका लागि भनेर बोलाएको थियो तर थप अनुसन्धान गर्नु पर्ने देखिएपछि परिसरले गिरीलाई कस्टडीमै राख्ने निर्णय गर्यो । तर उही मुद्दामा गिरी प्रहरी हिरासतमा बस्नु पर्दा धेरैको मनमा फिल्मका साझेदार भुवन केसीलाई प्रहरीले किन छोएन भन्ने उठिरहेको छ ।

जबकि फिल्मको निर्माताको रुपमा भुवन केसी र सुवास गिरी दुवैको नाम छ । तर, प्रहरी श्रोतले एउटै आरोपमा गिरी कस्टडीमा बस्नु पर्दा केसीलाई केही नगर्नमा चलचित्र विकास बोर्डको एउटा चिठ्ठीले काम गरेको जानकारी गराएको छ । प्रहरी स्रोतका अनुसार ‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले प्रतिलिपी अधिकार हनन भएको भन्दै सुवास गिरी र भुवन केसी दुवैलाई विपक्षी बनाइ उजुरी दर्ता गराएका थिए । तर जब प्रहरीले निर्माताको निक्र्योलका लागि चलचित्र विकास बोर्डलाई पत्राचार गर्यो त्यो समयमा बोर्डले चलाख्याँई गर्दै निर्माताको रुपमा सुवास गिरीको मात्र नाम पठायो । जबकि बोर्डले चाहेको भए भुवन केसीको पनि नाम पठाउन सक्थ्यो ।

बोर्डमा सुवास गिरीको ब्यानरमा मात्र फिल्म दर्ता भएकाले बोर्डले कानुन अनुसार गिरीको नाम मात्र निर्माताको रुपमा पठाएको पनि अनुमान गर्न सकिन्छ । तर प्रचार प्रसार र फिल्ममा पनि भुवन केसीको नाम निर्माताको रुपमा आएकाले बोर्डले यसलाई पनि नजिर बनाउन सक्थ्यो तर बोर्डले किन यसो गर्न चाहेन बोर्ड नै जानोस् तर गिरी हिरासतमा जाँदा भुवन केसीलाई केही नहुनमा भने बोर्डको यही जवाफले काम गरेको प्रहरीको भनाइ छ । गिरी पक्राउ परेसँगै उनलाई छुटाउन अशोक शर्मा, मनोज राठी आदि फिल्मकर्मी गए पनि प्रहरीले पीडित शम्भु प्रधानसँगको छलफलपछि मात्र अन्य प्रक्रिया अगाडि बढाउने बताएको छ । प्रहरी प्रशासनका अनुसार यदि प्रधान सम्झौतामा नआए संगीतकारलाई समेत कारवाहीको प्रक्रियामा ल्याउने र नियमानुसार अगाडि बढ्ने जानकारी गराएको छ । ‘कृ’लाई तीन दशकअघि बनेको फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’लाई बिना अनुमति प्रयोग गरेको आरोप थियो । अलमोडा राना उप्रेतिले सो गीतको नयाँ भर्सन तयार गरेका थिए ।