२५ स्थानमा लाईभ कन्सर्ट गर्दै मंगोलियन हर्टले रजत महोत्सव मनाउँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय तथा स्थापित मंगोलियन हर्ट ब्यान्डले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सव (सिल्बर जुब्ली) बिशेष कार्यक्रम गरी मनाउने भएको छ । आगामी २०७५ साल बैशाख ८ गते शनिबारका दिन हायत ग्राउण्डमा ‘ग्राण्ड लाईभ कन्सर्ट’ आयोजना गरिने ब्यान्ड म्यानेजर तथा व्यान्डका गिटारिष्ट बबी लामाले जानकारी दिएका छन ।

मंगोलियन हार्ट ब्यान्डका निक्कै नै चर्चित र लोकप्रिय गायक राजु लामाले सबै नेपालीहरुलाई धन्यवाद दिनको लागि रजत महोत्सवको उपलक्ष्यमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गर्न लागेको बताएका छन् । ‘यो कार्यक्रम विशेष गरेर नेपाली सांगीतिक क्षेत्रमा मंगोलियन हार्टले २५ औं वर्ष पूरा भएकोमा अवसर पारेर सबै शुभचिन्तक, स्रोता र दर्शकहरुलाई धन्यवाद दिनका लागि आयोजना गरिएको हो ।’ लामाले भने ‘सबै नेपाली स्रोता, दर्शकहरुसँग खुशी बाँड्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’ मंगोलियन हार्ट व्यान्ड स्थापना देखि आजसम्म नेपाली स्रोता, दर्शक र शुभचिन्तकले आफू र आफ्नो व्याण्डलाई माया गरेकोमा उनले खुशी व्यक्त समेत गरेका छन् ।
गायक लामाका अनुसार रजत महोत्सवको उपलक्ष्यमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गर्नुको अर्को उद्देश्य सम्पूर्ण संगीत प्रेमी दाजुभाई, दिदीबहिनीहरुलाई ‘एक भएर देशलाई अगाडि बढाऔं’ भन्ने सन्देश दिनु पनि रहेको बताए ।

२५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएकोले उक्त कन्सर्टको टिकट दर २५ रुपैयाँ मात्र रहेको गिटारिष्ट लामाले बताए । टिकटबाट उठेको रकम स्थानीय क्लबलाई सामाजिक कार्यमा लगाउने गरि सहयोग गर्ने समेत उनले बताए । साथै लाईभ कन्सर्ट मुलुकको २५ स्थानमा गरिने उनले जानकारी दिएका छन । काठमाडौंमा हुने ग्रेन्ड लाईभ कन्सर्ट कार्यक्रमको व्यवस्थापन ९० प्रतिशत सकिइसकेको छ । मुलुक भित्र र बाहिर समेत निकैै चर्चित मंगोलियन हार्टका मुख्य गायक राजु लामा यहि कार्यक्रमका लागि अमेरिकाबाट नेपाल आउदै छन् ।