मौका पाए संसदमै ‘बाँझै रह्यो खेतबारी’ गाउँछु : कोमल ओली

श्रीधर पौडेल – गायिका कोमल वलीका अनेक सोख छन् । उनी गाउँदागाउँदै सांसद बनिन् । राजनीति पनि सोखै हो उनको । नीति–निर्माण गर्ने तहमा पुगे पनि उनलाई त्यसमा भन्दा गाउनेमै रौस बढी छ । भन्छिन्, ‘मौका पाए म संसदमै गीत गाउन चाहन्छु ।’

तर, त्यसका लागि उनलाई सभामुखले समय दिनुपर्छ अनि सांसदहरुले गीत गाउनका लागि फर्माइस गर्नुपर्छ । मानिलिऊँ, एक दिन उनको त्यो रहर पूरा भयो र सांसदहरुले ‘वान्स मोर’ गरे भने उनलाई ‘पोइला जान पाम्…’ देखि ‘पोइ पाऊँ भनेर जप्छु तिम्रै नाम’ सम्म संसदमै गाउने बाध्यता पर्न सक्छ । यद्यपि, उनको योजना भने त्यस्तो छैन । उनले संसद गीत गाउने अवसर पाए कुन गीत गाउलिन् त ? मेरो फिल्मको जिज्ञासामा उनले भनिन्, ‘मैले गीत रोजिसकेकी छु– ‘बाँझै भइगयो खेत र बारी’ गाउँछु ।’ गायिका तथा सांसद कोमल वली आफ्ना गीतका कारण निकै लोकप्रिय छिन् ।
मंगलबार उनले संसदमा कविता सुनाएर चर्चा बटुलिन् । सहिद सम्झिएर कविता सुनाएकी उनले संसदमा माहोल मिले र सांसदको आग्रह रह्यो भने राजकुमार बानियाँको शब्द र संगीतमा रहेको गीत सुनाउने तयारी गरेको बताइन् । जुन गीतको शब्द यस्तो छ :
बाँझै भइगयो खेत र बारी
चाहिन्छ अब गाउँगाउँमा रोजगारी
शून्य भयो गाउँ र घर गर्नै छाडे खेती
युवा वर्ग विदेश पसे धनी बने सहरबासी
यो चालाले देशलाई विकासमा हुन्छ क्षति
स्रोतसाधनको सदुपयोग गरी कलकारखाना खोलियोस् गाउँभरि
हलोजुवा, दाउरा र घाँस बोक्ने
मान्छे मर्दा कोही हुन्न लास बोक्ने
शून्य भयो गाउँ र घर गर्नै छाडे खेती
युवा वर्ग विदेश पसी धनी बने सहरबासी
यो चालाले देशलाई विकासमा हुन्छ क्षति
यद्यपि, उनलाई थाहा छ, संसद गीत र कविता वाचन गर्ने ठाउँ होइन । मौका मिलेकाले मात्र कविता सुनाएको उनले बताइन् । ‘संसद गीत गाउने सभा त होइन । गीत गाउने फोरम पनि होइन । तर समय वा प्रसंगले गीत–संगीतको कुरा आए, कला–साहित्यको कुरा आए आफ्नो क्षेत्रको भाव व्यक्त गर्न पाउँदा खुसी नै लाग्छ ।’
कोमल अचेल के गर्दैछिन् ? संसदमा कस्ता नीतिनिर्माणबारे सोच्दैछिन् त ? त्यसो होइन, उनी त आउँदो तीजलाई गीत तयार पार्न पो व्यस्त रहिछन् । ‘तीजलाई तीन-चारवटा गीत गाउने तयारीमा छु,’ उनले भनिन्, ‘मेरो आफ्नै र बाहिरको पनि गीत गाउँदैछु । विदेशमा पनि कार्यक्रमका लागि बोलाइरहनुभएको छ । तीजको समयमा संसद भएन भने अस्ट्रेलिया जाने फिक्स भइसकेको छ ।’ यी बाहेक एक-दुइटा ठाउँमा पनि कुरा भइरहेको छ,’ कोमलले भनिन्, ‘म गीत–संगीत क्षेत्रबाट नै आएकी हुँ । त्यसकारण पनि गीत गाउन कुनै पछुतो छैन ।’
कोमलले आफूलाई आफ्ना कुनै पनि गीतप्रति पछुतो नरहेको बताइन् । ‘मेरो गीत र संगीतले कुनै मानहानि गरेका छैनन् । मेरा सबै गीत प्रगतिशील छन् । महिलालाई अग्रगमनमा छलाङ मार्ने खालका गीत छन् । अब त्यस्तो चर्चामा आउने गीत फेरि आउँदैन,’ उनले भनेकी छन् । एकताका ‘पोइला जान पाम् शिव’ गाएर चर्चा र विवादमा आएकी कोमल समय आए त्यही गीतलाई पनि पुनः गाउने बताउँछिन् । ‘यो गीतको शब्द युनिक छ र गीतले महिला अधिकारको कुरा उठाउँछ । त्यसकारण मेरालागि यो गीत प्रिय छ,’ उनी भन्छिन् ।
आफ्ना गीत विविध प्रकारका हुने भएकाले पनि त्यसमा विविधता रहेको उनले दाबी गरिन् । उनले बब मार्लेका गीत एक समयमा हिट रहे पनि अहिले त्यो गीतले केही फरक नपारेको उनले बताइन् । ‘मेरा अब आउने गीत जनवादी, सामाजिक र मनोरञ्जनात्मक हुनेछन् । किनभने दर्शकले भेराइटी खोज्न थालेका छन्,’ उनले भनिन् ।