मलाई अपहरण शैलीमा लैजानु अन्याय हो – ‘कृ’ निर्माता सुवास गिरी

फिल्म ‘कृ’का निर्मातामध्येका एक सुवास गिरीले आफूलाई फिल्मको गीत ‘उकालीमा पछि पछि’ मामलामा निर्देशक शम्भु प्रधानले बार्गेनिङ गरेर हिरासतमा राखेको दाबी गरेका छन् । आफ्नो फिल्म ‘सम्झना’को गीत ‘उकालीमा अघि अघि’को गीत विना अनुमति भुवन केसीको फिल्ममा राखिएको भन्दै क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले आफूलाई पक्राउ गरेको भन्ने विषय गलत रहेको निर्माता सुवासले बताए । ‘मलाई पुलिसले लगेको होइन । म आफैं गएको हुँ । म जापान जाने बेलामा पनि उहाँले मिडियामा बोलेको कुरा हेरें । मेरो संगीतकारले गलत काम गरे पनि यसको क्षतिपूर्ति कति तिर्नुपर्ने हो म तिर्न तयार थिएँ,’उनले भने,‘मेरो प्रोडक्सन हाउसले क्षतिपूर्ति कति तिर्दा हुन्छ म तिर्छु भनेर मैले आफै प्रहरीमा गएको हो । जापान जाँदा मैले एसपीलाई फोन गरेर म जापान जाँदैछु । केही प¥यो भने मेरो वकिल छ भनेर वकिलको नम्बर दिएँ । जापानबाट आएर पनि मैले फोन गरें । अस्तिको छलफलको विषयमा शम्भु दाईलाई बोलाइदिनु म टुंग्याउँछु भनेर म आफै गएको हो । मलाई लगिएको होइन । मलाई अपहरण शैलीमा हिरासतमा राखिएको छ । थुनामा राखेको भोलिपल्ट मलाई किन यस्तो गरियो । म छलफलमा आउन, अल्मोडालाई बोलाउन तयार हुँदा हुँदै किन मलाई यस्तो गरियो ।’

उनले आफ्नो ३४ वर्षको जीवनमा नराम्रो क्षण व्यहोरेको बताए । ‘म रातभरी सुतेको छैन भन्दा प्रहरीले ‘सरी सर हामीले आइजीपीको ठाडो आदेशमा तपाईलाई राख्नु परेको हो’ भनेर जवाफ दिएँ,’ उनले भने,‘ मलाई पैसा तिर्दा त्यस्तो ठूलो चित्त दुखेको होइन । एक त त्यो उहाँले पाउनुपथ्र्यो भने उहाँले नियम अनुसार म तिर्न तयार थिएँ । मलाई त्यहाँ पुलिस चौकीमा थुनेर बार्गेनिङ गरियो । त्यो चाहिँ चित्त दुखाई हो । मलाई कागजपत्र नदिने, टीडीएस तिर्नुपर्छ भन्दा टीडीएस तिर्दिन म तपाई भित्रै बस्नुस् भनेर धम्कीपूर्ण शैलीमा आइजीपीको आदेश छ भनेर भित्र राख्न खोजियो ।’
सुवासले ‘कृ’ले लगानी उठान नसकिइरहँदा शम्भुले ५० प्रतिशत चाहिन्छ भन्दा त्यस्तो रकम दिनुभन्दा आपसी सहमतिमा कुरा टुंगाउनुपर्छ पनि भनेको खुलाए । ‘किनभने लगानी रिकभर गर्न प्रयासरत अवस्थामा त्यति धेरै पैसा दिन मलाई पनि गाह्रो पथ्र्यो । यस्तो अवस्थामा छलफलको लागि बोलाउँदा आइजीपीको आदेशमा मलाई थुनाउने हो त’ उनले प्रतिप्रश्न गरे ।
शम्भु र आफ्नो विवादको विषयमा मध्यस्थता गर्न कोही पनि नआएको सुवासले बताए । ‘त्यसमा पनि शम्भु दाईकै नियत देखियो । उहाँले कसैलाई जानकारी पनि गराउनुभएन । त्यो बेला मेरो मोबाइल सबै खोसियो कोहीसँग सम्पर्क गर्न पाइन । फिल्म क्षेत्रको मान्छेसँग पनि कुरा नगरेर उहाँ भागी भागी हिड्नुभयो ।’

सुवासले स्मरण गरे, ‘मलाई अपहरण शैलीमा लैजानु अन्याय हो । म यो विषयमा आवाज उठाउँछु । मलाई पैसाको कुरामा अपहरण गरेर पैसा लैजानु ठूलो कुरा होइन । मलाई अपराधी जस्तो हत्कडी लगाएर राखिएको छ । त्यो चाहिँ मेरो चित्त दुःखाई हो । हत्कडी लगाएर मेडिकल चेकअपमा लगिएको छ । मलाई के फिल भयो होला भन्नुस् न । रातारात चोरी केसमा प्रहरीले पक्राउ गरेको छ भनेर समाचार लेख्न लगाउने हत्कडी लगाउने मैले के अपराध गरेको छु र ।’ सुवासले गीत राख्दा अहिलेको अवस्था आउने थाहा पाएको भए आफूले नराख्ने बताए । ‘भुवन दाईले म शम्भु दाईसँग कुरा गरेर मिलाउँछु भनेर यो कुरालाई सामान्य रुपमा लिनुभयो,’सुवासले भने, ‘शुरुमा अल्मोडाले थिम बनायो । दुईवटा लिरिक्स राखेर हामीले गीत बनायौं । अनि भुवन दाईले यो लिरिक्स भन्दा ‘उकालीमा अघि अघि’ भन्ने गीत राखौं भन्नुभयो । ‘सम्झनामा मैले पनि खेलेको छु र मैले पनि केही योगदान दिएको छु’ भनेपछि उहाँले शम्भु दाईसँग कुरा गर्दा केही फरक पर्दैन भन्नुभयो । शम्भु दाईले बनाएको फिल्म हो भनेर मैले इजी रुपमा लिएँ । गीतलाई प्रोमोसनल हिसाबले नलाने पछि फिल्म रिलिज पछि गीत रिलिज गरौंला भन्ने हिसाबले अघि बढियो । भुवन दाईले त्यो शब्द राख्दा फरक पर्दैन भनेर चाहिँ भन्नुभएको हो ।’
उनले शम्भु प्रधानकै योजना अनुसार विकास बोर्डबाट पत्र ल्याइएको बताए । ‘अहिलेसम्म भुवन दाई पनि निर्माता हो । हामीसँग सम्झौता नै छ । विकास बोर्डले मलाई मात्र निर्माता भनेर पत्र दिनु षडयन्त्रपूर्ण छ । मसँग भुवन दाई निर्माता भएको सहमति पत्र नै छ,’ उनले गुनासो गरे, ‘भुवन दाई पनि निर्माता हुँदाहुँदै मलाई मात्र किन थुनियो त । म नयाँ मान्छे यसलाई टर्चर दिन सकियो भने भने जति पैसा निकाल्न सकिन्छ भनेर यस्तो काम गरिएको हो ।