‘चोरको सपोर्टमा इन्डस्ट्री उर्लेको देख्दा दुःख लागेको छ ’ – शम्भु प्रधान

- मेराेफिल्म

श्रीधर पौडेल –  ‘उकालीमा अघि अघि’ सामान्य पाराले मुम्बईमा रञ्जित गजमेर दाजुकै घरमा बसेर सृजना गरिएको गीत हो । मैले फिल्मको परिवेश रञ्जित दाइलाई भने । त्यही अनुसार उहाँले गीत लेख्नुभयो । दुई तीन चोटी लेखेर सुनाउनु भयो । त्यतिबेलाको समयमा क्यासेटमा रेकर्ड गरेर सुन्ने थियो । दुई तीन दिन सुनेर चित्त बुझ्यो । यसरी नै यो गीत बन्यो ।
मैले ‘कृ’ फिल्म हेरेको छैन् । मैले यो गीत ‘कृ’ फिल्म हालिएको छ भन्ने फेसबुकबाट थाहा पाएको हो । म धेरै फेसबुक चलाउँदिन । यसो न्युजको लागि हेरिरहेको थिएँ । त्यही बेला ‘उकालीमा अघि अघि’ भनेर गीतको हेडिङ आयो । मेरो गीतसँग मिल्ने के रैछ भनेर हेरेको त ठ्याक्कै मेरो फिल्म सम्झनाको गीत पो बज्छ । लय पनि मिल्यो । मैले पूरा गीत हेरे । गीतको मुटु नै यही रहेछ भन्ने पनि थाहा पाएँ । नरमाइलो लाग्यो । के गर्ने भन्ने कन्फ्युज भयो । वकिलसँग सल्लाह गर्नुपर्छ भन्ने लाग्यो, वकिललाई फोन गरेर यस्तो भयो भने । उहाँले कपिराइट यस्तो यस्तो हो भनेर सरर भनिदिनु भयो । तर फोनमा त्यति बुझिन् । भेट्नै आउँछु भनेर भेट्न गएँ । भेटेपछि राम्रोसँग मलाई बुझाउनु भयो । वकिलले एक चोटी निर्माताहरुसँग कुरा गर्नुस अनि हटाउन लगाउनुस् भन्नुभयो । मलाई सल्लाह ठिकै लाग्यो ।
भिडियो हेर्नुहोस :-

त्यसपछि मैले सुवास गिरीको फोन नम्बर खोजेर फोन गरे । ‘भाइ म शम्भु प्रधान । तपाईहरुले मेरो गीत प्रयोग गर्नु भएको रहेछ’ भने । उहाँले फस्ट मै ‘हो दाइ । मैले भुवन दाइलाई भनेको थिएँ । दाइलाई सोध्नु भनेर । उहाँले सोध्नु भएको छैन’ भन्नु भयो ।
मैले ‘ठिक छ भाइ जे भयो भयो । गएको कुरा छोडिदेउ । गाना युट्युबबाट हटाइदेउ । मलाई एक रुपैयाँ फाइन दिएपनि भयो । फाइन चाहीँ दिनुपर्छ । किनकि तपाईले मलाई नसोधी गाना हाल्नु भएको छ । फिल्म चलेको आज १० दिन भइसकेको छ । मलाई एक रुपैयाँ फाइन दिनुस् र लिखित माफी माग्नुहोस’ भने । माफी चैं मगाउनु पर्छ र यो सबैले थाहा पाउनुपर्छ भन्ने मलाई सुरुदेखि नै लागेको थियो । ताकि भोलि अरुले यस्तो गल्ती नगरुन् । मेरो एकदमै साधारण कुरा थियो, एक रुपैयाँ फाइन, लिखित माफी अनि गाना हटाउने । ‘हवस् हवस्’ भन्दै उहाँले मसँग राम्रोसँग कुरा गर्नुभयो । मैले यो पनि भनेको थिएँ कि ‘आजै यो काम गर्नुस् है । भोलि हुँदैन नी फेरि । फेरि भोलि म कानुनको साहारा लिन्छु ।’ यसो भनेर करिब करिब साढे १० बजेतिर फोन गरेको थिएँ । पूरा दिन अफिसमा बसे । उहाँको फोन आउछ कि ? मलाई भेट्न आउनुहुन्छ कि भन्दै । तर उहाँहरुको फोनसम्म आएन,मान्छे आउन त परको कुरा । राती पनि मलाई फोन आउँछ कि भनेर फोन चेक गरिरहे । आएन । विहान सिधै वकिललाई भेटे । उहाँकै सल्लाहमा टेकुमा गएर डिएसपीलाई भेटे । दुवै गीतको क्लिप सुनाएँ । डिएसपले गीत सुनेपछि ‘ल ठिक छ कपी देखियो । म उहाँहरुलाई बोलाउँछु’ भन्नुभयो ।
अनि म त्यहाँ हुँदैगर्दा भुवन केसीको फोन आयो । ‘दाइ यस्तो यस्तो भयो । यसलाई मिलाउनु पर्यो । म त फिल्मको निर्माता हैन्’भन्नुभयो । फोन डिएसपीकै टेबलमा थियो । मैले डिएसपीलाई ‘भुवन केसी निर्माता हैन् रे’ भनेपछि डिएसपीले त्यसोभए उहाँलाई नबोलाउनुस् भन्नुभयो । अनि मैले भुवनलाई ‘तिमी निर्माता हैन भने आउनु पर्देन रे । जो निर्माता छ उही मात्र आए हुन्छ रे’ भने । ‘हवस् दाइ त्यहाँ मिलाइदिनुस है दाइ’ भनेर भुवनले भन्यो । राम्रै कुरा गर्यो । मैले पनि हुन्छ भने । दुई घण्टा कुरेर बसे । २ घण्टापछि बल्ल सुवास गिरी र भुवन केसीसँगै आए । म छक्क परे । अनि भुवनलाई ‘तिमी निर्माता हैन भन्या हैन अनि किन आएको ?’ भनेर सोधे । सुवासले त्यहीँ ‘उहाँ पनि त प्रोडुसर हो । उहाँ नआइ कहाँ हुन्छ ?’ भन्नुभयो । पहिलो झुट त्यही देखियो । प्रोडुसर जो भएपनि ठिकै छ कुरा गरुम भनेर कुरा सुरु गरियो । त्यहाँ पनि सुवासजीले ‘मैले भुवन दाइलाई भनेको हो सोध्नु भनेर सोध्नु भएनछ’ भनेर भन्नुभयो ।
डिएसपीले ये भेटमा हामीलाई ‘तपाईहरु कलाकारहरु यो मुद्दा मामिलामा नफस्नुस् । मिलेर आउनुस्’ भनेर पठाउनु भयो । भोलि पल्ट भेट्ने कुरा भयो । भोलिपल्ट पनि म दिनभर जस्तै अफिसमा कुरे । बल्ल ४ बजे फोन आयो । ४ बजे फोन आएपछि उहाँहरुले सोध्नुभयो कहाँ आउँ ? के गरुँ ? मैले भने ‘हेर भाइ आज ढिला भइसक्यो । दिन पनि यत्तिकै गयो । गाना काट्नुस् । एक रुपैयाँ फाइन तिर्नुस् माफी माग्नुस् ।’ तर सुवासजीले ‘दाइको दाबी कति हो’ भनेर उहाँहरुले सोध्नुभयो । मैले प्रहरी फाइलमा हेर्नु भएनर ? भने । ‘त्यहाँ त ५० प्रतिशत माग्नु भएको छ’ गिरीले भने । मैले भने सुवासजी ‘त्यो त फाइलमा छ । तपाई कति दिने हो । मेरो धारणा के थियो भने गाना काटेर माफी मागे एक रुपैयाँ मात्र लिने नै थियो । ‘तपाईहरु कति दिनुहुन्छ भन्नुस अनि मलाई भेट्नुस्’ भने । ‘हवस् दाइ म तपाईलाई भेट्छु वा म्यासेज गर्छु’ भन्दै सुवासजीले फोन काट्नुभयो ।
त्यसपछि पनि उहाँहरुले केही फोन तथा म्यासेज गर्नुभएन । तीन दिन म उहाँहरुकै फोन कुरेर बसे । आएन । चौथो दिन फेरि प्रहरीकोमा पुगे । प्रहरीलाई सबै कुरा भने । उहाँ छक्क पर्नुभयो । प्रहरीले ‘तपार्इं जानुस् म उहाँहरुलाई फोन गर्छु’ भन्नुभयो । म आएँ । त्यसपछि अर्को दिन आफैं कल गरे । फोन लागेन । फोन अफ थियो । हेर्नुस् है फिल्म चलिरहेको छ उता ।
त्यसपछि सातौं दिन म फेरि प्रहरीमा पुगे । डिएसपी साप तपार्इं छिटो एक्सन लिनुस् है भने । उहाँले हुन्छ भन्नुभयो । डिएसपीले फेरि भोलिपल्ट मलाई बोलाउनु भयो । उहाँहरुसँग सम्पर्क भएछ । उहाँहरुले वकिल लिएर आउनुभएछ । त्यहाँ त पुरा बाङ्गो बाङ्गो कुरा गर्नु भयो । तपाईको गीत हो कि हैन् ? कसरी प्रमाण दिनुहुन्छ ? तपाईको संगीतकार बोलाउनुस् । तपाईको अधिकारमा गीत छ कि नाई ? भन्नुहुन्छ । डिजिटल राइट्स बेचेको कपी ल्याउछन् । त्यहाँ त कस्तो अवस्था आयो भने उहाँहरुले मेरो गीत हैन, मैले उहाँहरुको गीत चोरेको हो । प्रमाण मैले दिनु पर्ने हो । ठूल ठूलो स्वरले कुरा गरे । छक्कै परे म त । मेरो गीत चोर्नुभएको छ मसँग राम्रो कुरा गर्नुको सट्टा ठूलो कुरा गर्ने । मैले पो प्रमाण ल्याउनु पर्ने भयो । मलाई रिस उठ्यो । म बाहिर निस्किएँ । उहाँहरुको वकिल बाहिर आएर मसँग कुरा गर्नुभयो । एक लाइन हो तपाईको । एक लाख दिन्छु कुरा मिलाइदिनुस् भन्नुभयो । मलाई उहाँको कुरा गर्ने तरिका नै मन परेन । बाहिर आएर कुनामा वकिलले मलाई एक लाख दिने प्रस्ताव राखे । त्यो नै मलाई मन परेन । भने ‘म मान्दिन ।’ म भित्र पनि नगइ फर्के । मैले मेरो वकिललाई फोन गरेर । सबै कुरा भने । वकिलले तपाई नडराउनुस् कमजोरको बोली ठूलै हुन्छ भन्नु भयो । त्यो दिन गयो ।
अर्को दिन डिएसपीको फोन आयो, संगीतकारको वयान चाहियो भन्नुभयो । हेर्नुस् अवस्था यस्तो आयो कि मेरो गीतको मैले नै प्रमाण जुटाइराछु । भाग्यले संगीतकार रञ्जित गजमेर नेपालमा हुनुहुन्थ्यो । मैले उहाँलाई लिएर गएँ । उहाँले आफ्नो अधिकार नभएको बताइदिनु भयो । तर त्यतिमा पनि सुवासजीको चित्त बुझेन । उहाँहरुले सम्झना फिल्मको इन्टरनेट राइट्स बेचेको कपी ल्याएर फिल्म नै तपाईंको हैन भनेर कुरा मोड्न थाल्नु भयो । मैले डिएसपीका अघि नै ‘फिल्मको डिजिटल राइट्स बेचेको हो । तर गानाको कपी र रिमेकको अधिकार त बेचेको हैन नी’ भने । त्यो दिन पनि कुरा मिलेन । म फर्के । दुई तीन दिनपछि फेरि मैले डिएसपीलाई फोन गरे । उहाँले पो मलाई ‍सुवास र भुवन जापान गएको बताउनु भयो ।
सुवास र भुवन जापानबाट फर्किएपछि त टेकुको ड्रामा सुरु भइगयो । उहाँहरु आएको बेलुका डिएसपी सापले मलाई बोलाउनु भयो । उहाँहरुलाई बोलाउँछु भन्नुभयो । अनि मैले भने ‘हैन उहाँहरुसँग फेरि कुरा मिल्दैन् होस् म आउदिन’ भने । ‘उहाँहरुसँग हामी ठाडो कुरा गर्छौ आउनुस् आज’ भन्नुभयो । उहाँहरुले सताएको देखेर डिएसपी साब पनि छक्क हुनुहुन्थ्यो । उहाँहरुले सताउनु भयो भन्नुभयो । डिएसपी साबले नै आज माने भने माने नभए एक्सनमा जाउँला भन्नु भयो । आजभोलि मलाई आइजिपीसँगको पहुँचको भरमा सुवास गिरीलाई थुनायो भन्ने आरोप लाग्यो । मैले आइजी सापलाई चिन्दिन पनि । मैले कसरी पहुँचको भरमा आइजी सापलाई थुन्न भन्न सक्छु । सुवासजी आफैंले त्यो वातावरण बनाउनु भएको हो ।
प्रहरीले कुरा मिलाउन नसकेपछि मलाई त कोटमा नै जानु थियो । कोर्टमा गएपछि जे भए पनि मान्नै पथ्र्यो । पुलिसलाई कुरालाई कोर्टमा लानुस् कोर्टले डिसिजन गर्छ भने । उहाँहरुले तपाईहरु कलाकार हो । मुद्दा मामिलामा नजानसु भने । तर मसँग अरु उपाय थिएन । उहाँहरुले मलाई पेलेर जाने नियत देखेपछि म अदालतमा गएको हँु । अनि अदालतमा पुगेपछि उहाँलाई पक्रेको हो । त्यसपछि फिल्म इन्डस्ट्रिको मान्छेको भिड हुन थाल्यो । सबैको फोन आउन थाल्यो । एसएसपीको पनि फोन आयो । आउनुस् भन्नु भयो । अनि म अर्को दिन गएँ । फिल्मकर्मी सबै आएका रहेछन् । तर सबैले चोरको सपोर्ट गरे । सबैले आएर सुवास त राम्रो मान्छे पो हो त उसलाई थुन्ने ? भन्न थाले । मलाई त्यहाँ चाहि साह्रै दुःख लाग्यो । अचम्म पनि । गाना चोरेको छ एकचोटि सोध्न पनि जरुरी ठानेको छैन । अझ उतैको सपोर्ट । गाना चाहिँ चोरी राको छ अझै उही सोझो रे । मैले सबैलाई अगाडि राखेर भने ‘कसरी सिधा ? फस्ट डे बोलाउँदा आएन । अझ मलाई पो कागजात माग्न थाल्यो । ७७ बर्षको रन्जित गजमेरलाई यही कामका लागि दुःख दिन पर्यो । कसैलाई नभनी जापान जाने ? उल्टो उसलाई सोझो भन्ने भन्दा कसैले उत्तर दिन सकेन । जसले गल्ती गरेको छ उसलाई पो सपोर्ट छ भाइ यहाँ ।
मैले पहिलो दिन गाना काट, एक रुपैंया देउ भनेको थिएँ । फिल्म चलाको चलाई मेरो गाना बजाको बजाइ अनि मैले किन क्षतिपूर्ति नलिने तपाईँ आफैं भन्नुस् ? अनि मैले ११ लाख रुपैयाँ दाबी गरे । त्यसमा पनि इस्यु भयो । फिल्म कर्मीले मलाई नानाथरि भने । दाइ गल्ती भयो, हामी माफी माग्छौं भनेर माफी मागेको भए एक रुपैंयामा कुरा सकिन्थ्यो तर उनीहरुको त इन्टेन्सन नै ठिक थिएन । मलाई तीन चार हप्ता लट्काउने उता धमाधम आफू चै पैसा कमाइ रहने ।
अझ मलाई त यो पैसा पनि चाहिएको थिएन, म त जति जे गर्छ अदालतले गरोस् भन्ने पक्षमा थिएँ । न्यायाधिशले पनि हेरोस् दुवै गीत भन्ने थियो । तर कोही पनि मानेन । सबैले भने कति दिन जेल बस्न पर्छ के के यता उति । अनि मैले क्षतिपूर्ति माग्दा चाँही शम्भु प्रधान ११ लाखमा बिक्यो भन्ने ? अनि अदालत जाउँ भन्दा चाहिँ नमान्ने ? चोरको पछि नेपाली फिल्म उद्योग उर्लेको देखेर पनि मलाई लेनदेनको कुरा राम्रो लागेको थिएन । जे गर्छ अदालतले नै गर्छ भनेर म उठेर हिँडेको हो । यहाँ त म उठेर हिँडेकोमा पनि अर्कै अर्कै कारण सुनिराछु ।
मैले यो पनि सुने कि अनमोलले सम्झना खेल्ने नमानेको रिस मैले यो केसमा पोखेको हो । यो पनि वाहियात कुरा हो । भुवन कै फोन आको थियो तीन चार महिना अगाडि । मैले कल गरेको होइन उसले नै गरेको थियो । त्यति बेला मैले भुवन म सम्झनाको आउट्लाइन लिएर फिल्म गर्दै छु । अनमोलसँग काम गर्नु पर्यो भने ।
उसले शम्भु दाइ गरौँ न त । तपाईं म भाउजु अनमोल बसेर डिनरमा आउनुस् न भन्यो । राम्रै कुरा भयो । त्यसपछि फ्याट्टफुट्ट कुरा हुन्थ्यो । कहिले काहीँ भेट्दा कुरा हुन्थ्यो । मैले भनेको थिएँ, ‘तिमीले खेलेको पिक्चर त्यस्तो पपुलर भयो, तिम्रो छोराले खेल्नु पर्छ त्यही स्टोरी लाइनमा, हिस्ट्री हुन्छ’ भन्दा ‘हुन्छ दाइ हुन्छ’ भन्यो । अनि मैले सोही फिल्म बनाइराछु भन्ने थाहा हुँदाहुँदै गीत लिने ? अझ उसले मलाई यहाँ स्थापित गराएको समेत भन्न भ्याएछ । उसले मलाई लिएर आको रे ? अब हेर्नुस् मलाई पर्सनल जान मन लाग्दैन । तल्लोस्तरको कुरा गर्न पनि मन पर्दैन । उसले सम्झना मा रोल कसरी पायो ? मायालुमा मैले कसरी खेलाएँ ? र सपना फिल्म मैले कसरी डिरेक्सन गरे ? त्यसको एउटा च्याप्टर नै बन्छ । अहिले मलाई त्यो भन्नु छैन । पर्सनल जाने दिन आयो भने म भन्छु । भुवन केसीलाई सबैले चिनेको छ । उसले भन्यो नी ३ करोड नेपालीले शम्भु प्रधानलाई चिन्यो । ल ३ करोड नेपालीलाई भोट् हाल्न लगाउनुहोस् कस्लाई कति भोट् आउछ । ३ करोडले शम्भु प्रधानलाई चिनेको भनेको होइन ? अनि ३ करोडले उसलाई चाँही चिनेको छैन ? अब अहिले भुवन केसी भन्दै छ शम्भु प्रधानको भ्यालु ११ लाख भनेर । भुवनलाई लाज लाग्नु पर्ने हो ।
सिधा कुरा चाहिँ मेरो यिनीहरुले गीत चोरेको हो । बोलाउँदा नआउने । एक दिन भनेर एक महिना बिताउने । मेरो गाना निकाल भन्दा लिङ्गर गर्ने । यिनीहरुलाई के भन्ने ? अनि इन्डस्ट्री गएर उनीहरुलाई सपोर्ट गर्ने ? मैले बुझ्नै सकिन यो सिस्टम के हो ? मैले पनि पन्ध्र बीसवटा फिल्म निर्माण गरेको छु, निर्देशन गरेको छु । मेरो चाहिँ केही योगदान छैन, यो उद्योगमा । भर्खर आएर दुई तीनवटा फिल्म बनाउने मान्छे चैं महान् भइगयो । उसले गीत चोरेको देख्दादेख्दै पनि उसकै सपोर्टमा कुर्लने । भोलि उनीहरुको सिर्जना पनि यसैगरी चोरी भयो, अनि उल्टै प्रमाण पेश गर्नुपर्यो भने, बल्ल उनीहरुले शम्भु प्रधानको पीडा बुझ्छ । चोरी गर्नुहुन्न भन्ने नजिर पनि बसोस् भन्ने मेरो चाहाना हो । म सत्यका लागि लडेको हुँ, बुझ्नेले बुझेका होलान्,नबुझे पनि मलाई केही छैन । किनभने मेरो आत्मालाई थाहा छ, मैले गलत गरेको छैन ।
तर,अझ पनि मलाई गिरीजीहरुको नियत ठिक लागिराको छैन । प्रहरी परिसरमै गीत तुरुन्तै हटाउने भन्ने कुरा भएको थियो । आज चार दिन भइसक्यो, गीत हटेको छैन । अझ पनि उनीहरुको नियत ठिक देखिराको छैन ।
शम्भु प्रधानसँग उनको निवासमा मेरो फिल्मले गरेको कुराकानीमा आधारित ।
 गीत (पहिलेको)

(अहिलेको)

२०७४ चैत १७ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *