स्वाद न बेस्वादको ‘लाजपुर्जा’

२०६८ सालमा प्रदर्शनमा आएको ‘लुट’ नेपाली फिल्मका लागि ‘माइलस्टोन’ फिल्म मानिन्छ । व्यवसायिक सफलतासँगै कथा भन्ने शैलीमा ल्याएको क्रान्तिका कारण ‘लुट’लाई सर्वकालीन सफल फिल्मको सूचिमा राखिएको हो । यही सफल फिल्मका महत्वपूर्ण सदस्य थिए, निगम श्रेष्ठ । सो फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका निगमलाई ‘लुट’का मास्टरमाइन्डको रुपमा समेत चित्रित गरिन्थ्यो । यसैको परिणाम थियो, उनले निर्देशन गरेको फिल्म ‘छड्के’ इनिसियल व्यापारमा रेकर्ड राख्न सफल फिल्म बनेको थियो । नेपाली फिल्म एनालग छाडेर डिजिटल युगमा प्रवेश गरेपछि सम्भवतः ‘छड्के’ नै थियो जुन फिल्म हेर्न दर्शकको अपार भीड हलमा आएको थियो । तर, असाध्यै ‘हाइप’ बनाएर निराश बनाउने नामको रेकर्ड पनि सम्भवतः ‘छड्के’कै नाममा छ । यिनै निगम निर्देशित दोस्रो फिल्म ‘लालपुर्जा’ हलमा छ । यो फिल्मले ‘हाइप’ त बनाउन सकेको थिएन, तर फेरि एक पटक अब्बल दर्जाका कलाकार लिएर पनि बक्स अफिसमा कमजोर प्रदर्शन गर्ने फिल्मको रेकर्ड यसले राख्ने हो कि भन्ने आंकलन बजारमा छ । किनकि फिल्म न कलात्मक पक्षमा उम्दा लाग्छ न व्यवसायिक पाटोमा नै अब्बल । फिल्म हेरिरहँदा लाग्छ, निर्देशक कुन कथा भनिरहेको छु भन्ने कुरामा पुरै अलमलमा छन् ।


निर्देशक र कलाकारको पूर्वकामसँग परिचित धेरैले ‘लालपुर्जा’लाई कलात्मक फिल्मको कोटीमा राख्ने सम्भावना छ । फिल्मलाई निर्देशकले कलात्मक बनाउन प्रयास नगरेका हैनन् तर उनले फिल्मको कथा यति चालु रोजेका छन् कि यसले उनको प्रयासलाई कलाको तहमा ढिम्किनै दिएको छैन । त्यसैले यो फगत कुमार नगरकोटीलाई ‘ब्रान्डिङ’ गर्ने फिल्मको रुपमा स्थापित हुन पुगेको छ ।
‘लालपुर्जा’ को कथा हो सम्पत्तिका लागि झगडा गरिरहेका तान्त्रिक देवकोटा (सौगात मल्ल) र ओमनरसिंह देवकोटा –विपिन कार्की)को । बाबुको नाममा रहेको जग्गामा दुबैको दाबी छ । झगडा उत्कर्षमा पुगिरहँदा कथामा प्रवेश हुन्छ पर्पला (मिरुना मगर)को । दाजुभाइको झगडालाई साम्य पार्न पर्पलाले विवादित जग्गामा दुध डेरी खोल्ने प्रस्ताव राख्छे । तर, डेरी खोल्नु अगावै यस्तो सत्य बाहिर आउँछ जसले फिल्मलाई क्लाइमेक्स तर्फ डो¥याउँछ ।


सम्पत्तिका लागि दाजुभाइबीच हुने झगडा संसारकै फिल्ममा सबैभन्दा बढी दोहोरिएको विषय हो । ‘लालपुर्जा’को कथालाई माथि चालु भन्नुको मतलब नै यही हो कि यस्ता कथामा नेपालमा पनि दर्जनौं फिल्म बनिसकेका छन् । यही कथालाई पनि निर्देशक श्रेष्ठले कसिलो गरी भन्न सकेका छैनन् । फिल्मलाई यथार्थ र ‘म्याजिकल रियालिटी’ को दोहोरो पिङमा राखेर मच्चाउन खोज्दा फिल्म घरको न घाटको भएको छ । जग्गाका लागि दाजुभाइबीच हुने झगडा त यथार्थ नजिक छ तर ‘ट्रिटमेन्ट’मा निर्देशकले कहिँ नेपाली टेलिसिरियलको जस्तो शैली त कहिँ अति यथार्थवादी शैली अंगीकार गरेर फिल्मको कथ्यलाई दुविधाग्रस्त बनाएका छन् ।
फिल्मको केन्द्रमा रहेको जग्गालाई निर्देशकले राम्ररी स्थापित गर्न सकेका छैनन् । खेतको बीचमा भएको जग्गाको आर्थिक महत्व कति छ र के कारणले दाजुभाइ यही जग्गा नभइ नहुने अवस्था छन् भन्ने कुरा पुष्टि हुन सकेको छैन । अन्ततिर एउटा चरित्रले गाउँमा रोपवे आउने कुरा गरेको छ तर यही कुरा दृश्यमार्फत स्थापित नहुँदा फिल्मको केन्द्रिय द्वन्द्व नै कमजोर भएको छ । बाँकी बिगार नगरकोटियन शैलीले गरेको छ । आफ्ना लेखनमा ‘म्याजिकल रियालिटी’ घुसाएरै चर्चित बनेका कुमार नगरकोटीले फिल्मलाई आफ्ना किताब र पात्र स्थापित गर्ने माध्यम बनाउँदा यथार्थको टेकोमा उभिएको कथा दुई तीन पाइला नहिड्दै जमीन छाडेर हावामा उड्न थालेको छ । नगरकोटी फिल्मका अतिथी लेखक पनि हुन् । नगरकोटीका किताब र केही पत्रिकामा हरेक हप्ता छापिने उनका लेख पढ्नेले सजिलै चाल पाउँछ, फिल्ममा नगरकोटी हावी भइदिँदा निर्देशक कथा भन्ने सवालमा नराम्ररी फँसेका छन् ।


फिल्ममा पात्रको चरित्र र चित्रण पनि निर्देशकले विश्वसनीय बनाउन सकेका छैनन् । तान्त्रिक बनेका सौगात मल्ल फिल्ममा खप्नै नसक्ने लाउड लाग्छन् । कुनै समय सौगात मल्ल अभिनयका ‘आइकन’ मानिन्थे तर गत पछिल्ला वर्षहरूमा उनले अभिनय गरेका फिल्मका चरित्र र शैलीलाई नियाल्ने हो भने उनको अभिनय क्षमता यति नै हो र ? भन्ने प्रश्न सजिलै उठाउन सकिन्छ । लवज र लवाइ परिवर्तन गर्ने र चरित्रलाई अतिरञ्जित गर्ने कुरामा नै उनको अभिनय क्षमता थला परेको भएको छ । विपिन कार्की पनि यो प्रभावबाट मुक्त देखिन सकेका छैनन् । लवज र लवाइ परिवर्तन गर्ने शैली उनले पनि बदल्न सकेका छैनन् । यो फिल्ममा पनि सुस्त मनस्थितिको पात्रले जस्तो बोल्छन् र लवाइ पनि अंग्रेजी फिल्ममा देखिने ‘कन्ट्री फार्मर’को जस्तो छ तर दुबै कुराले फिल्मको कथालाई प्रभावित पार्दैनन् । यही फिल्मको सन्दर्भमा हेर्ने हो भने सौगात र विपिनको अतिरञ्जित पात्रको तुलनामा नवप्रवेशी अभिनेत्री मिरुना मगर स्वाभाविक लागेकी छिन्् ।
पात्र मात्र हैन लगभग आधा दर्जन लेखक मिलेर लेखेका संवादमा पनि उति सारो दमखम भेटिन्न । केही संवाद त दर्शक हँसाउन भनेरै लेखिएका छन् । जस्तो ट्रेलरमै पनि ‘गोरु राँगा’ लगाएको पैसा लिने दृश्य र संवाद छ तर विपिनले बोलेको संवाद दृश्यमा कहिँ पनि र कहिलै पनि स्थापित छैन । संवादझैं फिल्मभरि पर्पल रङ र बैगन किन जताततै छ त्यो पनि स्थापित छैन ।
‘लालपुर्जा’को राम्रो पक्ष कथ्य शैलीमा गर्न खोजिएको परिवर्तन हो । निगम र उनको समूहले स्थापित कथ्य शैली पछ्याउनुको साटो नयाँ बाटो हिड्ने साहस गरेका छन् । यो फिल्मको स्रहानीय पक्ष हो ।