चर्चित भारतिय निर्माता तथा निर्देशक सुभाष घई नेपाल आउँदै

भारतीय चलचित्रका चर्चित निर्माता तथा निर्देशक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् । उनले निर्माण गरेको चलचित्र ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् । हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँगको भेटमा घईले आफू नेपाल आउने वचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले भने, ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ।’

टोलीमा एकेडेमीका संचालक प्रकाश पुरी, एकेडेमिक निर्देशक नरेशकुमार केसी र फिल्म मेकिंग विधाका विद्यार्थीहरु अशिन पौडेल र बाबुराम राउत रहेका छन् । टोलीले सोमबार मुम्बईको प्रख्यात फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गर्दै त्यहाँको विद्यार्थीहरु सहित त्यहाँको टेक्नोलोजीको अध्यन गर्नुका साथै त्त्यहाँका प्रमुख समेत रहेका निर्देशक घई, अध्यक्ष मेघना घई पुरी र हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो । भेटमा दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, फिल्म निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ । टोलीको विस्लिङ उड सहित एफटिआइआइ, पुने र बालाजी टेलिफिल्मको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।