लिलीबिली जो कोहिले आँट्न सक्दैन : मिलन चाम्स

म्युजिक भिडियो हुँदै ‘हँसिया’मार्फत फिल्म निर्देशनमा हात हालेका मिलन चाम्सका तीन फिल्म रिलिजको संघारमा छन् । चैत ३० गते रिलिज हुन लागेको ‘लिलीबिली’ निर्माणका हिसाबले कान्छो हो तर यही फिल्म चर्चाका हिसाबले अरुभन्दा अगाडि छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने दाबी गरिरहेका चाम्सले ‘लिलीबिली’ धेरै कारणले विशेष चलचित्र भएको दाबी गरे । सोही कुराकानीका खास अंशहरु :

 

लिलीबिलीलाई लिएर कतिको एक्साइटेड हुनुहुन्छ ?
एकदम एक्साइटेड छु  ।  नेपाली चलाचित्र पनि यो लेवलको बन्दोरहेछ भन्ने  हिसाबले पनि यो फिल्म  दर्शकलाई देखाउन आतुर छु ।  यो फिल्मको लेखक प्रदिप भारद्वाज पनि भेटेको बेला फिल्म कहिले रिलिज होला जस्तो भै सक्यो भन्नु हुन्छ । अहिले सम्मको रिजल्ट हेर्दा खेरि चै एकदमै एक्साइटेड छु ।

युकेसँग तपाईको गहिरो नाता छ यो नाता कसरी सुरु भयो?
युके सानै उमेरमा गइयो परिवार पनि त्यतै भएको कारणले गर्दा गहिरो नाता छ । जाने आउने भैरहन्छ ।

 तपाईले निरन्तर रुपमा बिदेशमा सुटिंग गरिराख्नु भएको छ,  त्यसको रेस्पोन्स व्यक्तिगत रुपमा र ब्यवसायिक रूपमा कस्तो पाउनु भएको छ ?
व्यक्तिगत रूपमा त सबै जनाले प्रसंसा गर्नुभएको छ कि नेपाली चलचित्रलाई त्यो लेवलसम्म पुर्याउनमा मद्धत गर्यो भनेर । ब्यवसायिक रुपमा परिणाम आउन बाँकि छ तर पनि फाइदै हुन्छ जस्तो लाग्छ । फेरी ब्यवसायीक रूपमा पैसा कमाउने नकमाउने भन्ने कुरा दोस्रो कुरा हो चलचित्र क्षेत्रलाई चै पक्कै पनि फाइदा भएको छ ।

नेपाल एउटा सानो बजार चलचित्रको लागि, तपाइँले युके जस्तो ठुलो ठाउँमा गएर रेड कार्पेट प्रोमोसन गर्दै आउनुभएको छ त्यो कतिको सम्भव थियो ?
पहिला त एकदमै गाह्रो थियो किनकी अझै पनि याद छ नेपाली चलचित्रको लागि भनेर मैले टिकट घरको ढोका ढोका ढकढकाएर बेचेको पनि छु । म अलिकति योंग हुदा खेरि अरुका चलचित्रहरु अनि आफ्नो चलचित्र पनि चलाउनको लागि रेड कार्पेट सेट गर्नको लागि एक्दमै गार्हो थियो किनकी हामी नेपालीहरुलाई रेड कार्पेट प्रिमियर भनेकै थाहा थिएन । अनि जब पहिलो चलचित्र हसिया रेड कार्पेट प्रिमियर भब्य रूपमा गरे, त्यो बेला मान्छेहरुलाई रेड कार्पेटमा यस्तो खालको ड्रेस लगाउनुपर्छ भन्ने सम्म ज्ञान थिएन । मान्छेहरु चप्पल र हाफप्यान्टमा आएका थिए । अहिले पछिलो पटक निरन्तरता हुदै जादा मान्छेहरुलाई ओ हो रेड कार्पेटमा त सुट लगाउनु पर्ने रहेछ, लेहेंगा लगाउनु पर्ने सारी लगाउनु पर्ने अथवा त्यो सँग मिल्दो जुल्दो ड्रेस लागेर जानु पर्ने रहेछ भन्ने एउटा ट्रेन्ड चै सेट भयो ।

ड्रेसिङ सेन्स कै कुरा गरिरहदा धेरै कलाकारहरुलाई तपाईले युके रेड कार्पेटमा लागिसक्नु भएको छ ।  वहाँहरुमा चै कस्तो पाउनु भएको छ तपाइँले ?
वहाँहरुमा चै कस्तो भन्दा खेरि पहिला राजेस हमाल दाइलाई रेड कार्पेटमा लैजादा खेरि ढाकाको पहिरनमा लगेको थिए । वहा चै कस्तो भने ड्रेसको कुरामा सेन्स राम्रो भएको कलाकार होइन । वहालाई गाइड गर्नुपर्ने हुन्छ । त्यस पछाडी हाम्रो दयाह्याङलाई लिएर गए । वहालाई चै सुट लगाउन मनाउनै गाह्रो भयो ।  म रिसाएपछी चाँही बल्ल बल्ल माने ।  हंगकंग मा रेड कार्पेट हुँदा सुट लगाइदिए  तर कतिखेर गएर खोलेर आएछन् । अनि युकेमा चै त्यस्तो नहोस भनेर पहिले नै सम्झाई राखेको थिए । कलाकारहरुमा तेस्तो बानी छैन । लेडिजहरुमा चाँही ड्रेस सेन्स छ तर अलिकति हाम्रो केटाहरुमा त्यती धेरै देखिन्न ।


कलाकारलाई तपाईले नेपालबाट बाहिर लगेर चलचित्र छायांकन पनि गरिरहनु भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
नेपाली कलाकारलाई जुन तरिकाले हेर्ने गरिन्थ्यो त्यो चाँही पक्कै परिवर्तन भएर गएको छ । चलचित्रले अहिले राम्रो ब्यापार पनि गरिरहेको छ । स्तरीयताको हिसाबले हेर्ने हो भने बलिउडमा चलाउने क्यामेरा नै हामीले चलाइरहेको छौ । अब नेपाली चलचित्र पनि राम्रो हुन्छ भन्ने मानसिकता बनिसकेको छ । अझ भनौ यो भुइचालो अनि नाकाबन्दीको कारण एक किसिमको आफ्नो देश अनि आफ्नो चलचित्रप्रति एक किसिमको भावनात्मक सम्बन्ध भएको छ । त्यो हिसाबले पहिलेको भन्दा अहिले धेरै नै परिवर्तन भएको छ । तर यो बेलामा हामीले अझै धेरै प्रमाणित गरेर देखाउने समय छ ।

तपाईंको अबको टार्गेट के छ  ?
मेरो त टार्गेट नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लानु पर्छ भन्ने हो । गर्न नसकिने भन्ने हैन । नेपाली सिनेमाबाट पैसा कमाउन पर्छ भनेर मैले कहिले पनि सोचिन । जस्तै लिली बिली कै कुरा गरौ यसमा हामीले कुनै पनि चिजको कमि गरेका छैनौ । म यस्तो भन्ने मान्छे हो कि मलाइ दिने खर्च बरु चलचित्रमा खर्च गरौ मलाई एक पैसा नि चाइदैन । यसरी नै मेरो निरन्तरता जारि छ । तर कुनै कुनै कुराहरुले चाँही हतोत्साहित बनाउछ । चलचित्र क्षेत्र भित्र नै मान्छेहरुमा एक आर्काको खुट्टा तान्ने प्रवृति छ । चलचित्र भित्रको पनि प्रत्येक क्षेत्रमा गुठ उपगुठ छ, निर्माताको एउटा गुठ छ, कलाकारहरुमा एउटा गुठ छ, पत्रकारहरुमा एउटा गुठ छ । त्यो चिजले चाँही घरिघरी अब मैले गर्न सक्ने यति नै होला, अब म मेरो आफ्नै ट्रयाक छ त्यतै तिर जानु पर्ला भन्ने सोच नआउने चाँही हैन । तर नयाँ नयाँ काम गर्दै जादा सिक्दै गइन्छ र दर्शकहरुले जुन तरिकाको प्रतिक्रिया दिनु हुन्छ त्यो हिसाबले चाँही हैन है फेरी पनि केहि गर्नु पर्छ भन्ने हुन्छ । अलिकती मिक्सअप छ तर जहिले सम्म सकिन्छ तैले सम्म नेपाली चलचित्र नै बनाएर बसौ, नेपाली चलचित्र नै दिउ, नेपाली चलचित्रलाई बाहिर लैजाऊ भन्ने नै छ । अब त्यो कहाँ सम्म पुग्न सकिन्छ थाहा छैन तर मेरो यात्रा चाँही मैले लामै तय गरेको हो । अप्रत्यक्ष रूपमा चलचित्र छायांकन गर्न बिदेश जाँदा पुरै देश कै प्रतिनिधित्व गरि राखेको हुन्छ । पहिलो पटक नेपाली चलचित्र टर्कीमा गएर अथोरिटी लिएर सुटिंग गरेको, अब युके त मैले गरिराखेको नै हो, स्कटल्याण्ड यसपाली ४५ दिन बसेर गरियो । त्यहाको न्युजहरुले कभरेज गरिदियो आखिरी कुरा त आयो नेपाल कै । आज भारतलाई बलिउडको देश भनेर चिनिन थालेको छ हामी पनि चलचित्र क्षेत्रको माध्यमबाट चिनाउ भन्ने मेरो भावना छ । आगामी प्रोजेक्ट मैले इटाली, फ्रान्समा गर्दै छु । त्यहाँ पनि हामी नेपाल कै प्रतिनिधित्व गरेर जान्छौ र हामी टिममा भएका हाम्रा टिम मेम्बेर जति छन् वहाहरुलाई हामी नयाँ कुरा सिक्ने अवसर दिन्छौ । चलचित्र बनाउने एउटा बाटो त छदै छ तर बिदेश गैसकेपछि केहि न केही नयाँ कुरा सिकेर आइन्छ । चलचित्र बनाउने एउटा माध्यम हो तर त्यसले फाइदा दिने धेरै कुराहरु छन् । त्यो हिसाबले गर्दा खेरि निरन्तरता जारी रहन्छ । तर अब हेरौ कहाँ सम्म पुगिन्छ अहिले भन्न सकिन्न ।

 प्रदिप, जसितालाई लिलीबिली  कसरी जोड्नु भयो ?
लिली बिली टाइटल मैले नै राखेको हो । कति जनाले मन पराउनु भएन तर मैले आफ्नु कुरामा अडिग रहेर मैले एउटा ब्राण्ड बनाउन सफल भए अनि प्रदिपसँग काम गर्ने भन्ने चाँही पहिला देखि नै कुरा भएको थियो प्रदिप ओके भयो । त्यसपछि जसितालाई एउटा सो डान्स अफ भन्नेमा भेट्ने मौका पाए त्यो पछि वहाको क्षमता देखिसकेपछि चाँही गर्न सक्छ भन्ने भयो । अनि मैले अडिसन लिइसकेपछी एउटा टिम भित्र ल्याए र काम सुरु गरियो ।

निर्देशकको रुपमा प्रदिप र जसिताको भबिस्य कस्तो देख्नुहुन्छ?
प्रदिपको काममा एकदमै लगाब छ, रिस भन्ने छँदै छैन अनि मेहेनती छ तर कहिले काँही अतालिन्छ । नत्र टिम राम्रो छनौट गर्ने र यहि रफ्तारले काम गर्ने हो भने उसले ५, १० वर्ष लिड गर्न सक्छ भन्ने देख्छु । जसिता न्यु कमर्स हो उनको भविस्य पनि एक्दमै राम्रो छ । अलिकति अनुसासित भइ अगाडी बढ्यो र मेहेनत गर्यो भने राम्रै छ । नृत्य राम्रो छ, अभिनय राम्रो छ, पक्कै पनि कलाकारको खाचो छ त्यो हिसाबले जसिताको पनि भविस्य राम्रो छ ।

समग्रमा लिलीबिली हेर्नका लागि दर्शक हलसम्म किन आउने  ?
थुप्रै कारणहरु छन् । यसको कथा दमदार छ जुन तरिकाले प्रदिप भारध्वजले लेख्नु भयो त्यो लेवलको कथा धेरैले लेख्ने सक्दैनन् । दोस्रो कारण प्रदिप, तेस्रो भनेको जुन तरिकाले खिचिएको छ १० मिलियनको त इन्सुरेन्स गरेका थियौ स्कटल्याण्डमा खिच्दा खेरि । त्यो नेपाली सिनेमाले आट्नै सक्दैन । अहिलेको हालतमा त्यो कारणले पनि हेरिनु पर्छ । चौथो कुरा भनेको यसको सबल पक्ष सिनेमेट्रोग्राफी, डाइरेक्सन बाहेक, अत्यन्तै सुन्दर लोकेसनहरुलाई क्याप्चर गरेका छौ स्कटल्याण्ड, लन्डन र स्तान्बुलमा । यहि नै कारणले गर्दा चलचित्र हेरिनुपर्छ जस्तो लाग्छ ।