पञ्चायतमा गरेजति एक्स्पोज नर्मल हो : नीता ढुंगाना

बाल कलाकारका रुपमा फिल्मी करियर शुरु गरेकी नायिका नीता ढुंगाना फिल्म ‘पञ्चायत’का कारण निकै चर्चामा छिन् । यही शुक्रबार अर्थात चैत्र २ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा नीताले विद्यालय जाने उमेरकी बालिकाको चरित्र निर्वाह गरेकी छन् । यिनै नीतासँग फिल्म ‘पञ्चायत’का विषयमा गरिएको कुराकानी :

 

पञ्चायतको लागि के कस्तो तयारी गर्नुभएको थियो ?
मैले फिल्मको स्क्रिप्ट चाहिँ पाएको थिएँ । तर त्यसको केही तयारी गर्न पाएको थिएन । म त्यो समयमा अर्को फिल्मको सुटिङमा थिएँ । त्यसकारण यो फिल्मको सुटिङमै सबै मेहनत गर्नुप¥यो । यस्तो चरित्र मैले यसअघिका फिल्ममा गरेको थिइन । अहिलेको चरित्र भन्दा अलिकति बढी उमेरको चाहिँ अन्य फिल्ममा गरेको थिएँ । तर यस्तो चरित्र चाहिँ पहिलो हो ।

पञ्चायतको बारेमा केही थाहा थियो ?
म त्यस्तो डेप्थमा चाहिँ गइन् । तर पहिला पुलिस, अदालत नहुँदा गाउँमा गाउँमा प्रधानपञ्चले स्थानीय भद्र भलाद्मीलाई साक्षी राखेर न्याय सम्पादन गर्छन् भन्ने चाहिँ थाहा थियो । मैले आफ्नो परिवार तथा त्यो बेला न्याय सम्पादन गर्ने प्रधानपञ्चसँग पनि यो विषयमा कुराकानी गरेको थिएँ । सबैको कुराकानी सुनेपछि अन्तिममा एकजनाले निर्णय सुनाउँछन् भन्ने कुरा सुनेको थिएँ ।

तर, बीचमा तपाईको फिल्मका निर्माता गणेश गिरीबीच नै पञ्चायत बस्नु पर्ने अवस्था आएको सुनिएको थियो ? किन झगडा गर्नु भएको ?
त्यो बेला मलाई सञ्चो थिएन । उहाँसँग अलिकति डिस्कस परेको थियो । सञ्चो नभएको बेला मलाई इग्नोर गर्नुभयो । उहाँहरु आफ्नै काममा लाग्नुभयो । उहाँहरुले मलाई इग्नोर गर्नुभएको जस्तो लागेर झगडा पनि भएको थियो । तर पछि कुरा भएपछि सबै समाधान भयो ।

यो फिल्ममा बच्चाको क्यारेक्टर गर्नुभएको छ । यो चरित्रसँगै आफूलाई एक्सपोज पनि गर्नुभएको छ । गाह्रो भएको थियो ?
मैले फिल्ममा जति एक्सपोज गरेको छु, त्यति त मैले नर्मल अवस्थामा फिल्मको प्रिमियरहरुमा जाँदा पनि गर्ने गरेकी छु । गाउन लगाउँदा ब्याकसाइड धेरै चोटि देखाइसकेको छु । यत्ति त अधिकांशले गर्नुहुन्छ । यतिको एक्सपोज एक्सपोज जस्तो लागेन । तपाईलाई बढी गरी भन्ने लागेको हो र ?

‘पञ्चायत’ जस्तै ‘मसान’ पनि पिरियोडिक थियो । काम गर्दा केही फरक पाउनुभयो ?
मसान गोपाल प्रसाद रिमालको कृति हो । त्यो चाहिँ हामीले स्कुलमा पढेका थियौं । जुन क्यारेक्टर मलाई दिइएको थियो,त्यो लेखिसकेको क्यारेक्टर भएकाले मैले त्यही अनुसार काम गर्नुपर्ने थियो । मैले न्याय दिनुपर्ने थियो । तर पञ्चायत आफूले सुनेको भएकाले पनि केही फरक थियो ।

प्रिमियरमा फिल्मको नाम र कथावस्तु म्याच नभएको नेताहरुले नै टिप्पणी गरे । नाम एकातिर कथा एकातिर भए जस्तो लागेको छैन ?
मलाई त लागेको छैन । फिल्ममा पञ्चायत नै नभएको भए, त्यहाँ न्यायदाता नै नभएको भए वा त्यो ठाउँ नै नदेखाएको भए त्यहाँ नाम नमिलेको हुन्थ्यो । नाम नै नराख्नु ठिक हुन्थ्यो । तर त्यहाँ दुःख पाएको मान्छेले न्याय पनि पाएको छ । त्यसकारण त्यो पञ्चायत नाम राख्नु नराम्रो लागेन । जायज छ ।

नीर शाह र शिवम् अधिकारीसँग काम गर्दाको फरक के पाउनुभयो ?
मलाई दुवैमा मज्जा आएको थियो । किनकि नीर अंकलको मसानमा काम गर्दा मलाई मसानले छुट्टै पहिचान दिलाएको थियो । कमर्शियल थिमबाट फिल्म खेलिरहेकी केटी अथवा भनौं न कमर्शिलयल फिल्मबाट बाँचिरहेकी केटी भन्ने मात्रै थियो मान्छेलाई । गाला रातै मात्र हिट भयो भन्ने थियो मान्छेलाई । तर एक्टिङ पनि नीताले राम्रो गर्दोरहेछ भनेर मसानले चिनायो मलाई । त्यो फिल्मले मलाई  राष्ट्रिय अवार्ड पनि दिलायो अहिले चाहिँ फिल्म पञ्चायतबाट अमेरिकामा पुगेर बेस्ट एक्टे«सको अवार्ड पाएको छु । जुन फेस्टिबलमा २ सय १६ वटा फिल्म प्रतिष्पर्धी थिए । नीर अंकललाई फिल्म निर्देशनमा कसले सक्ने र ? उहाँ आफै अब्बल कलाकार हुनुहुन्छ । अहिले शिवम अधिकारीको पञ्चायतमा उस्तै राम्रो काम गरेको छु । त्यसकारण कम्पेयर गर्ने ठाउँ नै छैन ।

वास्तविक जीवनमा आज पनि दिनहुँ बलात्कारको समाचार आइरहन्छन् । तपाईंले पनि फिल्ममा लगभग त्यस्तै भूमिका गर्नु भएको छ । यो विषयमा तपाईंको बुझाइ के छ ?
१३-१४ वर्षकी बालिकालाई फिल्ममा जुन किसिमको व्यवहार गरियो । मलाई लाग्छ यो समझदारीमा भन्दा पनि रेप नै थियो । किशोरकिशोरीलाई विद्यालयदेखि नै यौन शिक्षाको आवश्यक छ । त्यही चिजबाट हामी जन्मेका छौं । त्यही चिजबाट दुनियाँ अगाडि बढ्छ भनेदेखि त्यसमा लाज मान्नुपर्ने कारण चाहिँ के छ । यो विषयमा प्रशस्त बहस र छलफल हुन जरुरी छ भन्ने लाग्छ ।