बुद्ध लामाको गजलमा पल र आंचलको रोमान्स

चलचित्र शत्रु गते प्रदर्शनको संघारमा रहिरहदा नायक पल शाहको भने एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन् । केहि दिन आगाडी मात्र गायक सुनिल गिरिको ‘को होला त्यो’ ३ गितको भिडियोमा देखिएका शाहको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको स्वर रहेको गजल ‘तिमी साथ भएपछि…’ मा उनीसंगै शत्रु गतेकी नायिका आचल शर्मा समेत उक्त भिडियोमा देखिएकी छिन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् ।

गजलकार वाग्लेकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो । अर्जुन अधिकारी निर्देशित उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन भने सम्पादन  निशान घिमिरेको रहेको छ । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ ।

गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिस्र्यो तिम्रो याद…’ का समेत रचनाकार हुन् ।