राजेश हमाल या भुवन केसी : को महानायक ?

महानायक अर्थात नायकको पनि नायक । राजेश हमालको नामसँगै जोडिएर आउने गरेको यो विशेषण आज भोलि  बहसमा पनि तानिएको छ । कारण, उनलाई दिइएको यो विशेषण उनले अभिनय गरेका फिल्मले नधान्ने धेरैको तर्क छ । यही समयमा अर्का अभिनेता भुवन केसीले पनि महानायकमा दाबेदारी प्रस्तुत गरेपछि महानायकको पगरी पेचिलो बन्दै गएको छ । नेपाल चलचित्र प्राविधिक संघले दशकअघि अभिनेता राजेश हमाललाई औपचारिक कार्यक्रम मै ‘महानायक’को उपाधि दिएर हमालको स्टारडमलाई ब्रान्डिङ गरिदिएको थियो । तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका राजेशलाई चलचित्र प्राविधिक संघले उनले फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ‘महानायक’को उपाधि दिएको थियो ।

हमालले त्यसयता पनि थुप्रै वर्ष फिल्म खेलेर बिताए । तर, दुर्भाग्य यो रह्यो कि उनले यसको गरिमा कायम राख्न सकेनन्, कमसेकम फिल्म खेल्ने मामलामा । नयाँ पुस्ताले हमालको महानायकीमा प्रश्न गरिरहेको ठाउँ यही हो । यही समयमा अर्का अभिनेता भुवन केसी पनि असली महानायक आफू रहेको दाबीसहित देखा पर्न थालेपछि महानायकको विवादले नयाँ फेरो समातेको छ ।   आफूले अभिनय गरेका अधिकांश फिल्म बक्स अफिसमा हिट भएकाले आफू नै महानायकको हकदार भएको भुवनले अनौपचारिक रुपमा दाबी गर्दै आएका छन् । राजेश यो उपाधिले सम्बोधित भइरहँदा भुवन केसीको तर्क छ, ‘हातका औंला बराबर पनि सुपरहिट फिल्म दिन नसक्ने मान्छे कसरी महानायक हुन सक्छ ?’ राजेशको कामलाई नजिकबाट बुझ्ने फिल्मकर्मीहरु राजेशलाई नै महानायकको उपाधि दिनु अनुचित नरहेको बताउँछन् ।  फिल्म उद्योगमा ‘बा’का रुपमा परिचित छविराज ओझा हमाललाई महानायकको उपाधि दिनु सान्दर्भिक ठान्छन् । ‘जसले २०÷२५ वर्षदेखि फिल्म क्षेत्रलाई एक्लै धानिरहेको छ । उहाँलाई महानायकको उपाधि दिँदा आपत्ति मान्नुपर्ने म देख्दिन,’उनले भने ,‘मेरो विचारमा महानायकको हकदार राजेश हमाल नै हुनुहुन्छ । यसमा दुईमत छैन ।’

फिल्म वितरणमा सक्रिय वितरक सुनिल मानन्धर पनि राजेश हमाल नै ‘महानायक’ हुने भन्नमा सहमत छन् । ‘जुन समयमा नेपाली फिल्म चल्न सक्ने अवस्था थिएन । त्यो बेला राजेश हमालकै टाउको राखेर पनि फिल्म हिट भए । फिल्म चले पनि नचले पनि उनको सक्रियता सबैले स्वीकारिसकेका छन्,’मानन्धरले भने,‘राजेश हमाल नभएको भए नेपाली फिल्म अहिलेको अवस्थामा सायदै आउँथ्यो । उनीबाहेक अरु कोही कलाकार पनि महानायक हुनै सक्दैनन् ।’ सुनिल हमालले पाएको उपाधिलाई फ्लप वा हिटको कोटीभन्दा पर राखेर विश्लेषण गर्नु पर्ने बताउँछन् । ‘उनले नेपाली फिल्ममा गरेको योगदानको आधारमा हेर्न पर्छ,’मानन्धरको तर्क छ ।

राजेशलाई ‘महानायक’ उपाधि दिएदेखि नै विरोध गर्दै आएका भुवन केसी महानायक जो भए पनि उसमा राम्रो फिल्म खेलेर आगामी पिँढीलाई मार्ग निर्देशन गर्ने क्षमता हुनुपर्ने तर्क राख्छन् । ‘आफूलाई महानायक भन्दै पैसाका लागि जस्तोसुकै फिल्म नखेल्दिए हुन्थ्यो । बरू अन्तर्राष्ट्रिय क्षेत्रमा हामीलाई चिनाउने फिल्म खेलिदिए हुन्थ्यो,’उनले एक पत्रिकामा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘तर, आफू चर्चामा आएँ भन्दै संख्या बढाउने उद्देश्यले फिल्म भन्न नसुहाउने फिल्म खेल्दैमा महानायक भइँदैन । आफैँले आफ्नो टाउकोमा महानायकको पगरी गुथेर के हुन्छ र ! यो त बोझ हुन्छ । राम्रो काम गरेपछि ‘म महानायक हुँ’ भन्दै हिँड्नै पर्दैन ।’

अभिनेत्री तथा निर्मात्री रेखा थापा भने उपाधि नै दिनु परे राजेश हमाल हैन भुवन केसीलाई दिनु पर्ने धारणा राख्छिन् । ‘पहिलो कुरा महानायकको मापदण्ड के हो, त्यो थाहा पाउनुपर्छ । उसको अभिनय, फिल्ममा लगानीदेखि हरेक विषयलाई ध्यान दिनुपर्छ,’रेखा भन्छिन्,‘ एउटा दर्शकको रुपमा भन्ने हो भने मेरा लागि भुवन केसी नै महानायक हुन् । किनकि उहाँले लामो समयदेखि फिल्म निर्माण र अभिनयलाई सँगै अगाडि बढाइरहनुभएको छ । मेरो ममीको पुस्तादेखि अहिलेको पुस्तासम्मले भुवन केसीले बनाएका फिल्महरु नियमित हेरिरहेका छन् ।’

 फिल्मलाई संख्याभन्दा गुणको आधारमा पनि हेर्नु पर्ने रेखाको बुझाइ छ । ‘भुवन दाइले अभिनय गरेका प्राय फिल्म हिट छन् । फिल्म पनि बनाइरहनु भएको छ । अहिले छोरो पनि फिल्ममा नै काम गरिरहेको छ,’उनी प्रष्ट्याउँछिन्,‘तर राजेश हमालले फिल्ममात्र खेलिरहनुभएको छ । उहाँले अभिनयले मात्र योगदान दिनुभएको छ । निर्माणमा योगदान देखिँदैन ।’

अभिनेता राजेशसँग धेरै फिल्ममा सहकार्य गरेकी मिथिला शर्मा भने दुवै कलाकार महानायक भएको बताउँछिन् । ‘नेपाली फिल्ममा स्टारडम र स्टारभ्यालुको सुरुवात गर्ने भुवन केसी नै हुन् । उनले थोरै फिल्ममा अभिनय गरे पनि उनीप्रतिको दर्शकको चार्म घटेको छैन । उनी भर्सटायल व्यक्ति हुन् । जसले अभिनयसँगै फिल्म बनाउने काम पनि गरिरहेको छ,’मिथिलाको बुझाइ छ , ‘राजेशजीले धेरै फिल्ममा अभिनय गरिसक्नुभएको छ । फिल्मको अवस्थालाई अहिलेसम्म ल्याउन उहाँको योगदान पनि कम छैन । यस्तोमा दुइटामा एउटालाई महानायक छान्न गाह्रो छ । मेरा लागि दुवै महानायक हुन् ।’

अभिनेता नीर शाह भने यो उपाधि दिने प्रचलन नै गलत भएको बताउँछन् । उनको तर्क छ, ‘फिल्मको असली महानायक प्राविधिक हुन् ।’ राम्रो फिल्म बन्नमा प्राविधिकको ठूलो हात हुन्छ । कलाकारलाई स्टार भ्यालु दिने मान्छेहरुले ती प्राविधिकलाई कहिल्यै सम्झिएनन,’नीर भन्छन्,‘कलाकारलाई स्टार बनाउनु भन्दा प्राविधिकलाई पनि अहिलेको समयमा स्टार बनाउन आवश्यक छ । प्राविधिकलाई पनि महानायकको उपमा दिनुपर्छ ।’

महानायकको उपाधि पाएका राजेश हमालले आफू नै महानायक भनिनु पर्ने मत राख्छन् । उनले सिधा सिधा नभने पनि हालै प्रकाशित नेपाल साप्ताहिकको अन्तर्वार्तामा घुमाउरो हिसाबले आफू नै महानायक भएको दाबी पेश गरेका छन् । ‘यसका लागि असाध्यै मिहिन रुपमा नेपाली चलचित्रको इतिहास बुझ्न जरुरी छ । थाहा छैन, कतिले प्रयास गरेका छन् । यदि नेपाली चलचित्रको इतिहासबाट राजेश हमाललाई निकालिदिनुभयो, त्यसको गति, व्यावसायिकता, नेपाली जनसमुदायले नेपाली भाषाको चलचित्र ग्रहण गर्ने मनोविज्ञान के हुन्थ्यो ? आफै सोच्नुहोस् । योग्य छु÷छैन, कस्तो चलचित्र गरें भन्दा यसरी मूल्यांकन गर्नुभयो भने उत्तर पाइन्छ,’ तपाईलाई महानायक भनिन्छ । आफू यसका लागि उपयुक्त पात्र हुँ भन्ने लाग्छ ? भन्ने प्रश्नमा हमालले भनेका छन्,‘हेर्नुहोस्, आइन्स्टाइन, गान्धी, नेल्सन मण्डेलादेखि मार्टिन लुथर किङजस्ता महान् व्यक्तिले अनन्तकालसम्म भयंकर परिवर्तन गर्ने होइन । हरेक यस्ता व्यक्तिले आफ्नो अवधिमा सोच र प्रभाव छाड्ने हो । त्यसले अगाडि बढ्ने आधार र बाटो पाउँछ । तर, कसैले आफ्नो जीवनकालमा अनन्तकालसम्म लागि तार्किक निश्कर्ष दिन सक्दैन । यो त रिले दौड हो । उहाँहरुको तुलनामा म त धेरै सानो मान्छे । त्यसैले कुन परिस्थितिमा सुरुवात गरें, कस्ता अन्योल चिर्दै आएँ । कसरी आफ्नो बाटो आफैँ खन्दै आँउ ? यो कोणबाट पनि हेर्नुहोला ।’

हमालको यो उत्तरले हमाल आफू नै महानायक भएको दाबी गरिरहेछन् भन्ने बुझ्न गाह्रो छैन । तर, उपाधिको दुर्गुण के हो भने यसले सर्व स्वीकार्य मत बोकेर बस्दैन । उपाधिसँगै यसमा प्रश्न रहन्छन्, र यस्ता उपाधिका सान्दर्भिकतामा औंलाहरु ठडिरहन्छन् । यो बहसले कसलाई महानायक बनाउँछ वा यो उपाधि नै खारेज गर्छ ? छिनोफानो हुन सायद धेरै समय नलाग्ला  ।