पुनः नाटक इङघङ

धरानमा नाटक इङघङ पून मञ्चन भइरहेको छ । यसअघि गत माघ दोस्रो साता नाटक मञ्चन गरिएको थियो । नाटकप्रेमीको आग्रहमा फागुन २७ देखि इङघङ पुन मञ्चन भइरेको हो । रंगभूमि एकेडेमीको सक्रियतामा नाटक मञ्चन भइरहेको हो । नाटक चैत ११ गतेसम्म मञ्चन हुनेछ ।


पूर्वी लिम्बुवान गाउँको संस्कार ,संस्कृति र प्रेमलाई जीवन्त रुपमा नाटक प्रस्तुत गरिएको छ । जातीय छुवाछुत ,अन्धविश्वास र रुढीवादी समाजविरुद्ध नाटक इङघङ आवाज उठाएको छ । फरक फरक जातजातिका कलकारले लिम्बु घर्म संस्कृतिका विषयमा जीवन्त अभिनय गरेको आइतबार नाटक हेरेर निस्किएकी महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले बताइन् ।
नाटकको लेखन तथा निर्देशन विश्णु मोक्तनले गरेका हुन् । नाटकमा निर्देशक मोक्तानसहित दिपपेन्द्रसिंह दर्नाल ,कुमारी राई , तुलसा थापा , हरिइवाहाङ लिम्बु , प्रेसिका निरौला, सोनम मगर , निश्चल कुलुङ, मिलन राई , गेबी लिम्बु , शंकर थापा र उदीप लिम्बुको अभिनय रहेको छ । निर्माण संयोजनमा स्पन्दन राजा ,संगीत विनायक राई ,केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र नेत्र छन्त्यालले सहयोग गरेका छन् ।
लिम्बु संस्कृति
लाजेहाङ ,फुङ्साङ, कान्देनाङ ,केसाङ्मी ,च्याब्रुङ बोकेर बजाउँदै गीत गाउँदै चौतारीमा भेटिन्छन् । त्यही समयमा स्वाङ्फेमा र साम्फेरी हाम्फेरी पनि रक्सी बोकेर पश्चिमबाट झुल्किए । नम्बरी जग्गालाई (वन काइँली ) लिएर वन काइँला र उनीहरुकी छोरी छाया पनि त्यहीँ पुग्छन् । लिम्बु संस्कृति झल्काउने र दलित समुदायमा भएको भेदभावलाई जीवन्त उतारिएको नाटक इङघङ यसरी सुरु हुन्छ । अरुको बिहेमा धेरैपटक च्याब्रुङ बजाएर आशिर्वाद दिएका काका भने विनानम्बरी जग्गा बूढो हुन लागेकामा चिन्तित देखिन्न्छन् । केमुन्दुमीलाई साह्रै माया गरेता पनि उनी आँैसिया आइमाई भएकाले बिहेको कुरा सेलाएको छ । काकाले धेरैपटक केमुन्दुमीलाई सम्झउँदासमेत पण्डितले बताएपछि विवाह नगर्ने अड्डी कसेर बसेकी उनको बिहेको कुरा सेलाएको छ । काकाले धेरैपटक केमुन्दुमीलाई सम्झाउँदासमेत पण्डितको कुराले उनले चाहेर पनि बिहे गर्न सकिरहेकी थिइनन् । तर ,उनै पण्डितले दलित वन काइँलाको छोरीलाई पेट बोकाएर भगाएपछि कथाले अर्कै मोड लिन्छ ।
लिम्बू समाजको रहनसहन ,संस्कार र संस्कृतिलाई उत्कृष्ट पारामा प्रस्तुत गरिएको नाटक इङघङ जातीय छुवाछुत र अशिक्षाविरुद्ध सन्देश दिन सफल देखिन्छ । कुसंस्कार ,अन्धविश्वास र छुवाछुतलाई तोड्न तथा पश्चिमा संस्कृतिबाट मौलिक संस्कृतिको पहिचान जोगाइराख्नुपर्ने नाटक इङघङ को सार हो ।
लामो कथा
कथा निकै लामो छ ।करिब डेढ घन्टाको नाटकमा कुनै पट्यारलाग्दा दृश्य भने पाइँदैनन् । नाटकमा कलाकारको संवाद ,लिम्बु लवज ,अभिनय र विषयवस्तुले दर्शकलाई बाँधेर राख्छ । लिम्बू समाज र भाषा नबुझ्नेलाई यहाँ प्रयोग भएका संवाद छाडाजस्ता लागे पनि लिम्बू समाजमा महिलालाई अलि बढी स्वतन्त्रता हुने सन्देश पनि नाटकमा छ ।

साभार : नयाँ पत्रिका