खर्च फिल्म निर्माताको, कमाइ पल शाहको

फिल्मको प्रचार भइरहेको समयमा म्युजिक भिडियो रिलिजले पलको रेट त बढाउला तर पललाई हलमा हेर्न चाहाने दर्शकको चाहाना घटाउँछ । अर्थशास्त्रमा प्रचलित मार्जिनल युटिलिटीको सिद्धान्तले पनि भन्छ ,‘ पानीको पहिलो घुट्की जति स्वादिलो हुन्छ दोस्रो तेस्रो उही स्वादको हुन्न ।’ फिल्म हलमा कलाकार पनि पहिलो घुट्की बनिरहँदा मात्र निर्माताको भलो हुन्छ ।


दिपेन्द्र घिमिरे नेपालमा अहिले निर्माताले औसतमा १ करोड बराबर लगानी गरेर फिल्म बनाउँछ । जसमा १५ देखि २५ लाख रुपैंया उसले फिल्मको प्रचारमा खर्च गरिरहेको छ । उसले गरेको यो खर्चले फिल्मको मात्र प्रमोसन भइरहेको हुन्न कलाकारको पनि प्रमोसन भइरहेको हुन्छ । एकाध अपवादबाहेक अहिले चल्तीमा रहेको कलाकारको लोकप्रियताको पछाडि कहिँ न कहिँ निर्माताले गरेको खर्चको योगदान रहेको छ । तर यस्तो प्रचारबाट निर्माताले जति कमाउँछन् त्योभन्दा बढी कलाकारले कमाउँछन् । पल शाह यस्तो प्रचारबाट फाइदा लिने कलाकारको पहिलो नम्बरमा पर्छन् सायद । म्युजिक भिडियो हुँदै फिल्ममा आएका पल शाहले फिल्म रिलिजको मौका पारेर पाएजति म्युजिक भिडियो खेल्ने मात्र होइन, यही मौका पारेर टन्न पैसा पनि लिने गरेका छन् । तर जब फिल्मको प्रमोसन सुरु हुन्छ, पलका औंलाले फिल्मका प्रचार सामाग्री कम आफूले खेलेको म्युजिक भिडियो ज्यादा सेयर गर्छन् ।
उनको यो समस्या पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’ खेल्दा नै सुरु भएको थियो । यही फिल्मको ‘चिया कफी खाउँ’ बोलको गीत सार्वजनिक भएको केही समयपछि नै सुन्तलीसँग नाचेको ‘आइ लव यु’ बोलको गीत सार्वजनिक भएको थियो । धेरै मानिसले पलसँग नाचेको देखेर फिल्ममा कुञ्जना घिमिरे (सुन्तली) पनि रहेको अनुमान गर्न थालेपछि आचार्यले धेरैलाई सुन्तली फिल्ममा नभएको स्पष्टिकरण नै दिनु् परेको थियो । त्यसयता पनि पलले फिल्म प्रचारको बेला म्युजिक भिडियो रिलिज गर्ने क्रम रोकेका थिएनन् । यही क्रम ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलमेन’का बेला पनि जारी थियो । उसबेला पनि निर्माताले यही विषयमा पलसँग चित्त दुखाउने गरेका थिए ।


अहिले फेरि पलको अभिनय रहेको ‘शत्रु गते’ रिलिजको संघारमा छ । तर पलले रिलिजको दुई दिनअघिसम्म पनि म्युजिक भिडियो रिलिजको क्रम रोक्न चाहेनन् । हुँदाहुँदा आइतबार र सोमबार पालै पालो दुइटा भिडियो सार्वजनिक गरे जबकि उनको करिअरमा महत्व राख्ने फिल्म शुक्रबारदेखि रिलिजको तयारीमा छ । महिनाभरिमा मात्र पलले आँचलसँग जोडी बनाएका ५ देखि ७ म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । फिल्म क्षेत्रमै ५० वर्ष बिताउन लागेका हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता हस्ती फिल्मलाई लिएर निदाउन नसकेको प्रतिक्रिया दिएर बसेका छन, उहीँ पल शाह भने फिल्मका दर्शकलाई कन्फ्युज पार्ने गरी म्युजिक भिडियो सेयर गरेर बसेका छन् ।
यसको मतलब यो होइन कि पलले म्युजिक भिडियो खेल्नै हुन्न । जति मन लाग्यो खेल्दा हुन्छ तर यसरी खेलेको भिडियो फिल्म रिलिजको संघारमा सार्वजनिक गर्नु हुन्न । यसले पलको म्युजिक भिडियोको रेट त बढाउला तर पललाई हलमा हेर्न चाहाने दर्शकको चाहाना घटाउँछ । छिनछिनमा मोबाइल मै देखिएपछि हलमा हेर्न को जान्छ ? अर्थशास्त्रमा प्रचलित मार्जिनल युटिलिटीको सिद्धान्तले पनि भन्छ ,‘ पानीको पहिलो घुट्की जति स्वादिलो हुन्छ दोस्रो तेस्रो उही स्वादको हुन्न ।’ फिल्म हलमा कलाकार पनि पहिलो घुट्की बनिरहँदा मात्र निर्माताको भलो हुन्छ ।
‘शत्रु गते’का निर्देशक प्रदिप भट्टराई भने के गर्ने के नगर्ने भन्ने कुरा कलाकारको आफ्नै विवेकमा भर पर्ने बताउँछन् । ‘शत्रु गते’ मल्टिस्टारर फिल्म भएकाले पल एक जनाको उपस्थिति वा अनुपस्थितिले केही फरक नपार्ने तर धेरै देखिँदा राम्रो नहुने धारणा राख्छन् । ‘ जहाँसम्म शत्रु गतेको सवालमा पलजीको म्युजिक भिडियोले कति असर गर्छ थाहा छैन तर धेरै आइराख्नु राम्रो चाहिँ होइन । गाउँमा मन्त्री जानु र राजा जानु फरक हुन्छ,’ भट्टराईले भने, ‘ पलको पृष्ठभूमि नै म्युजिक भिडियो भएकाले यसलाई अलि धेरै माया गर्नुहुन्छ । हाम्रो जस्तो मल्टिस्टार फिल्मलाई त असर नगर्ला तर सिंगल स्टार फिल्मलाई असर पर्छ जस्तो लाग्छ ।’


यो सत्य हो कि नेपालमा कलाकारले यति धेरै पनि पैसा पाउँदैनन् कि एउटै फिल्म गरेर उनीहरुलाई वर्षभरी पुगोस् । कलाकारले अरु काम पनि गर्नु पर्ने बाध्यता छ । तर, यसका बावजुद पनि फिल्मका सवालमा सत्य यो हो कि कलाकार अरुतिर भन्दा हलमा पर्दामा नै ज्यादा देखिएको राम्रो । यसले कलाकारको पनि आयु बढाउँछ र निर्माताको पनि खल्ती भरिन्छ ।