लभ गर्नेका ‘लभ्ली संगीतकार’

श्रीधर पौडेल :-
‘अर्जुन पोखरेललाई चिन्नुहुन्छ ?’
‘धत्, कस्तो मूर्ख प्रश्न गरेको ? संगीतकार अर्जुनलाई नचिन्ने को होला त ?’ कसैले माथिको प्रश्न सोधे तपाईं सायद यसैगरी झोक्किनुहोला । किनकि, संगीतकार अर्जुन पोखरेललाई नचिन्ने संगीत पारखी सायदै होलान् । अझ लभसङका प्यासी त यो नामका ‘फिदा’ नै छन् । कति बिजोडीले उनकै गीतको सहारामा जोडी बाँधेका होलान्, कोही प्यारमा डुबुल्की मार्दै होलान् ।

विशेष गरी नेपाली फिल्म जगतमा रोमान्टिक गीतका संगीत सर्जकका रुपमा अग्रपंक्तिमा उभिन सफल छन्– अर्जुन पोखरेल । रोमान्टिक हिट सङले उनलाई यति हिट बनाइदिएको छ कि हरेक संगीत पारखीको गुनगुनाहटमा उनी झुन्डिइरहेका हुन्छन् ।
उनले तयार गरेका हरेक गीत रोमान्टिक धारका हुन्छन् । आफूले लभ सङ मात्र बनाइरहनुमा निर्माता निर्देशकले दिएको सीमारेखा नै कारक रहेको उनी सुनाउँछन् । ‘लभ सङ बनाइदिनुस् भनेर निर्माता–निर्देशक मसँग आउनु हुन्छ भने मैले अरु गीत बनाएर के गर्ने ? म त त्यही बनाउँछु नि । अर्डरअनुसार काम गर्नुपर्यो नि, हैन र ?’ उनले राज खोले ।
त्यसो त उनी फरक किसिमका गीत बनाउन पनि माहिर छन् । निर्माता–निर्देशक हाबी नहुने हो भने हरेक गीत फरक धारमा तयार गर्न सकिने उनको साहस छ । ‘यस्तो कथाका लागि गीत चाहियो मात्र भन्ने हो भने पो मैले नयाँ केही दिन सक्छु । लभ सङ दिनु भनेसी त्यही तयार गर्नै पर्यो नि ।’
आफूले आफूलाई लभ सङभन्दा फरक गीत पनि तयार गर्न सक्ने प्रमाणित गरिसकेको उनको दाबी छ । ‘धुवाँसरि’, ‘सरर बेग मारी’, ‘ओइ झुमा’, ‘त्यो काले केटाले,’ ‘किन आजकाल तिम्रो मन मैलो भो’ आदिलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गर्छन् उनी ।
अर्जुनले संगीत भरेका फिल्मका गीतहरुमा ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे,’ ‘सररर बेग मारी’, ‘म यस्तो गीत गाउँछ’ु, ‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्’, ‘मेरो सुखले दिन ढल्दैन’, ‘भन्छु आज मनका कुरा’, ‘तिमी रोएको पल तिमीलाई’ एकसे एक चर्चित छन् ।
सदाबहार लाग्ने यी गीतसँगै एल्बममा समावेश गीत पनि उत्तिकै हिट छन् । ‘ओई झुमा’, ‘त्यो काले केटाले’, ‘धुँवासरि फैलेछ कुरो त’, आफ्नो जिन्दगी आफैंलाई’, ‘म जुन दिनदेखि तिम्रो राजा बनेँ’ लगायत हिट गीतमा उनैले संगीत भरेका हुन् ।
रत्यौलीले रत्यायो, भजनले उक्सायो
चितवनको एक गाउँमा जन्मिएका अर्जुनको गाउँसमाज मात्र होइन, परिवार पनि सांगीतिक माहोलको थियो । उनमा सानैदेखि संगीतले प्रभाव पार्न थालेको थियो । गाउँमा रत्यौली र तीजको बेला रातभर मादल र मुरली बजाएर बस्थे उनी । आफ्नै घरमा आमाबुबा भजन गाउने हुनाले पनि उनमा संगीतको प्रभाव बढिरहेको थियो । भजनको अभ्यास उनकै घरमा भइरहन्थ्यो । संगीतले सबैलाई छुन्छ रे । अर्जुन पोखरेललाई त छोइदिएन मात्र, निथ्रुक्कै भिजाइदियो ।
संगीतमोहले कक्षा ८ मा फेल
घरको सांगीतिक प्रभावले उनमा संगीतको प्यास बढ्दै गएको थियो । उनी पढाइमा भन्दा संगीततिर बढी ध्यान दिन थाले । पढाइमा राम्रो मनिने उनी बिस्तारै कमजोर बन्दै गए । फलतः उनले कक्षा ८ मा असफलताको सामना गर्नुपर्यो । ‘संगीततिर ध्यान बढाउन थालेपछि पढाइमा कमजोर भएँ । कक्षा ८ मा त म फेल नै भएँ ।’
स्कुलमा एकदमै एक्टिभ थिए अर्जुन । हरेक क्रियाकलापमा सहभागी हुन्थे । भन्छन्, ‘जुनसुकै कम्पिटिसनमा भाग लिन्थेँ । संगीतमा लागेपछि त्यता पनि ध्यान कम भयो ।’ कक्षा ८ मा फेल भएपछि भने उनको होस खुल्यो । मैले पढाइमा पनि ध्यान दिनुपर्छ भन्ने बुझे । अनि कक्षा १० सम्मको पढाइ पूरा गरे । त्यसपछि उच्च शिक्षाको बहानामा संगीत सिक्न काठमाडौं उक्लिए ।
एसएलसीपछि काठमाडौं आएका उनी रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भए । गणित र अर्थशास्त्र विषय अध्ययन गर्न थाले । तर उनको उद्देश्य पढाइभन्दा पनि संगीत सिक्नु थियो । त्यसैले रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भएर अध्ययन गरिरहँदा पनि उनले अर्काेतर म्युजिक पनि पढिरहेका थिए । ‘आरआर त यसो भर्ना मात्र भएको हो, मेरो रुचि संगीततिरै थियो । त्यसैले संगीतमा नै बढी फोकस हुन्थेँ ।’
गायक बन्ने सोचसहित संगीत कक्षा लिन थालेका उनले आठ वर्ष संगीत अध्ययन गरे । जब उनले आफ्नो संगीतको पढाइलाई पूरा गरे, यही क्षेत्रमा केही गर्छु भन्ने हिम्मत बढ्यो । तर, उनलाई अवसर दिने कोही थिएन त्यतिबेला । नयाँ मान्छेलाई काम गर्ने वातावरण नहुने उनले बुझे । अर्जुन भन्छन्, ‘नयाँ मान्छेलाई यहाँ काम गर्ने मौका नै नमिल्ने रहेछ । काम गर्ने जोश भए पनि कामै कसैले नदिने ।’
निर्देशक दिवाकरलाई हराएर रोधीघरमा असर
घरबाट खर्च माग्दामाग्दा आफैं वाक्क थिए अर्जुन । आफै केही गर्नुपर्छ भन्ने सोच उनमा आइसकेको थियो । अब उनी धुइँधुइँती काम खोज्न थाले । संगीत सिकेको मान्छे, संगीतमा नै केही गरेर पैसा कमाउने सोच थियो ।
गौशालामा रहेको ‘रोधीघर’ मा एक जना हार्मोनियम बजाएर गीत गाउने मान्छे चाहिएको उनले थाहा पाए । त्यहाँ प्रतिस्पर्धा जिते गाउन पाइने थियो । प्रतिस्पर्धाका लागि दुई व्यक्ति थिए– अर्जुन र निर्देशक दिवाकर भट्टराई । अर्जुन भन्छन्, ‘मैले दिवाकरजीलाई त्यसबेला चिनेको थिइनँ । मसँग स्पर्धाका लागि उहाँ आउनुभएको रहेछ । मलाई के थाहा ?’
सामान्य चिनजानमा अर्जुन र दिवाकरबीच केही गफ भए । दिवाकरले अर्जुनसँग खुबै गफ लगाए । ‘दिवाकरजीले मलाई त बहुत गफ दिनुभयो । मेरो संगीत स्कुल छ । संगीत सिकाउँछु भन्नुभयो’, अर्जुन सम्झिन्छन्, ‘ला मैले त रोधीमा काम पाउँदिनँजस्तो लागिसकेको थियो ।’
तर नतिजा उल्टो भइदियो । अर्जुन त्यहाँ गीत गाउन छनोट भए । दिवाकर आउट भए । पछि दिवाकर हाँस्दै आएर भनेका थिए, ‘मैले एक-दुइटा नारायण गोपालको गीत सिकेको थिएँ, त्यही सिकाउँथें ।’
अर्जुन र दिवाकरले पछि फिल्म ‘मेरो जीवनसाथी’ मा सँगै काम गरे । उक्त फिल्म दिवाकरले निर्देशन गरेका थिए भने त्यस फिल्मको ‘सररर बेग मारी’ गीतमा अर्जुनले संगीत दिए । उक्त गीत हिट गीतको लिस्टमा छ ।
संघर्ष, अवसर र सफलता
करियरको सुरुवाती दिनहरूमा आफूले धेरै संघर्ष गरेको अर्जुन बताउँछन् । ‘आफ्नो गीत कुनै ब्यानरले लिन्छ कि भन्ने आशमा म धेरै निर्माता तथा निर्देशकसम्म पुगेको छु’, उनी सम्झिन्छन्, ‘त्यसबेला मैले धेरै जनालाई थुप्रै गीत सुनाएँ ।’ संगीत सुनाउदा उनलाई प्रायले राम्रो प्रतिक्रिया दिन्थे । आफ्नो फिल्ममा लिने आश्वसन पनि दिन्थे । उनी सम्झिन्छन्, ‘तर खै भोलिपल्ट अर्कै संगीतकार फिल्ममा आएको सुन्नुपथ्र्याे ।’
केही समयको संघर्षपछि उनले राजु गिरी निर्देशित फिल्म ‘दिलमाया’ मा काम गर्ने अवसर पाए । उनले त्यस फिल्ममा ‘छुट्छ कि साथ’ बोलको गीतमा संगीत भरे । अर्जुनकै शब्द रहेको उक्त गीत एकदमै हिट भइदियो । अर्जुनले सबैतिरबाट वाहवाही पाए । भन्छन् ‘त्यस बेलाका चर्चित संगीतकार सुरेश अधिकारीले पनि मेरो त्यो गीतको प्रशंसा गर्नुभयो । जसको मार्गनिर्देशन लिएर अगाडि बढिरहेको थिएँ, त्यही मान्छेले पनि राम्रो भनेपछि ममा ऊर्जा थपियो ।’
त्यसपछि उनले फिल्म ‘बिन्दास– २’ को ‘सुन्छु तिमीले मलाई’ बोलको गीतमा संगीत भरे । जुन गीत पनि एकदमै हिट भयो । दर्शक÷श्रोताले उक्त गीतलाई खुबै मन पराइदिए । अर्जुन भन्छन्, ‘मलाई दर्शकमाझ चिनाउने गीत नै यहीँ बन्यो ।’
उनले त्यसपश्चात धेरै फिल्ममा संगीत भरे । ‘बिन्दास– २’, ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘ऐश्वर्य’ लगायत फिल्मका गीतले उनलाई संगीत क्षेत्रमा नामी संगीतकारको परिचय दिए ।
‘अवार्डका लागि गीत बनाइनँ’
आजसम्म धेरै हिट गीत दिएका अर्जुनले अवार्ड जित्नै भनेर गीत तयार नगरेको सुनाए । ‘मैले अवार्डका लागि कुनै गीत तयार गरिनँ,’ उनी भन्छन्, ‘जति अवार्ड पाएँ, त्यो जुरीकै मूल्यांकनबाट हो ।’
अर्जुन अहिले पनि उत्तिकै व्यस्त छन् । धेरै नयाँ फिल्मका लागि उनी संगीत तयार गरिरहेका छन् । उनले संगीत दिने फिल्महरुमा ‘रामकहानी’, ‘क्याप्टेन’, ‘बाँध मायाले’, ‘लभ डायरिज’, ‘निर फूल’ लगायत छन् । ‘केही फरक गर्ने कोशिस गरेको छु,’ भन्छन्, ‘दर्शक–श्रोताले मबाट नयाँ टेष्ट पाउने पक्का छ ।’