गसिपले पाठ सिकायो – साम्राज्ञी राज्य लक्ष्मी शाह

दिपेन्द्र घिमिरे
स्टार बन्न नचाहने तपाई, छोटो समयमै स्टार हुनुभएको छ, कस्तो लागिराछ ?
स्टार बन्नै नचाहनेको त होइन । तर बनिहाल्छु भनेर चाहिँ सोचेको थिइँन । अहिले यो ठाउँमा पुगे । मेरो दर्शक मेरो शुभ चिन्तकहरूको माया अनी मेरो परिवारको सपोर्ट पाएको छु । एकदमै धेरै खुशी र गर्व लाग्छ ।
तपाईका अघिल्ला दुई फिल्म सुपरहिट रहे । ‘तिमीसँग’ रिलिजको संघारमा छ, हिटमा ह्याट्रिक हुन्छ ?
अरु बेलाभन्दा यसपाली एकदमै उत्साहित छु । फिल्मका लागि पनि अरु बेलाभन्दा धेरै समय दिन पाएको छु । मिडियालाई समय पनि मज्जाले दिएकी छु । ‘ड्रिम्स’को बेलामा त्यति धेरै मिडियामा समय दिन भ्याएको थिइँन । ‘ए मेरो हजुर २’ मा समय दिएको थिएँ तर सबैसँग त्यति धेरै खुल्न पाएको थिइँन । जहाँसम्म ह्याट्रिकको कुरा छ, त्यो दर्शकको हातमा छ । हाम्रो साइडबाट गर्ने मेहनत गरेका छौं ।

तपाईंले हरेक फिल्ममा फरक फरक एक्टरसँग काम गर्नु भएको छ , अनुभव कस्तो हुँदो रहेछ ?
एकदम रमाइलो । धेरै बुझ्ने मौका पाएको छु । केही कुरा सिकेकी छु, अनि केही सिकाएकी पनि छु । सिकाउन पाउँदा प्राउड फिल हुँदो रहेछ । ए मेरो हजुरमा सलिनलाई हेल्प गरेको थिएँ अनि तिमीसँगमा आकाशलाई पछिल्लो समय इन्टुमिन्टु लण्डनमा धीरजलाई पनि हेल्प गरेँ । उनीहरुभन्दा मलाई क्यामराको ज्ञान अलि बढी छ । अनि सटको बेलामा मैले उनीहरुलाई पोजिसनको बारेमा बताउँछु डिरेक्टरहरुले ‘वाह साम्राज्ञीले सिकाको’ भनेर जिस्काउनु हुन्छ । त्यो बेला खुसी लाग्छ ।
नेपालमा केटा स्टारसँग काम गर्न पाउँदा केटीहरु द्यंग पर्ने अवस्था थियो । तर, आज तपाईंसँग काम गर्न पाउँदा केटाहरु दंग हुन्छ ?
त्यो राम्रो कुरा हो नि होइन र ? जहिले पनि हामी हलिउड हेरौँ या बलिउड । हिरोइनको लागि स्टार हिरोसँगै काम गरौ भन्ने ईच्छा हुन्छ । तर अहिले केटीमान्छेले पनि एउटा स्थान बनाउँदा इन अ वे त्यो केटी मान्छेको लागि पनि धेरै ठुलो कुरा हो र इन्डस्ट्रीको लागि पनि ।
तपाईंका रिलिज भएका दुई फिल्म र ‘तिमीसँग’मा पनि हिमाली भेगको सुटिङ धेरै छ । सजिलो हो हिमालमा सुटिङ गर्न ?
धेरै गार्हो भएको थियो हामीलाई । तर तिमी सँगको टिम राम्रो थियो । सबै मिलनसार हुनुन्थ्यो । सबै रमाइलो गर्नुपर्ने खालको हुनुहुन्थ्यो । त्यो रमाइलोको कारणले पनि दुःखको अनुभव नै भएन । रमाइलोका बिच सुटिङ सकियो । पहिलो र दोस्रो फिल्ममा भने भिन्न अनुभव थियो ।

कुनै पनि प्रोजेक्टमा काम गर्दा आफ्नो को एक्टरसँगको सम्बन्ध तपाईं तिमी भन्दै तँ सम्म आइपुग्छ ? तपाईंको सम्बन्ध यस्तो भएको छ कि छैन ?
भएको छ , त्यो पनि तिमीसँगकै सुटिङमा । तिमीसँगको टिमसँग मात्रै होला जहाँ यति धेरै कम्फर्टेबल भएर काम भयो । अनि त्यो टिममा पनि नाजिरसँग चाहिँ तँ सम्म पुगियो । झगडा गर्दा फेरि तँ तँ भन्दै त्यसले नि कराउँथ्यो म नि कराउँथे । त्यतिले पनि थाहा हुन्छ हाम्रो बन्डिङ कत्तिको स्ट्रोङ थियो भनेर । फेरिसँगै काम गर्न पायो भने धेरै खुशी लाग्छ ।
साम्राज्ञीलाई कुन लेभलमा पुर्याउला तिमी सँग ले ?
कुन लेभल त भन्न सक्दिन तर दर्शकहरुको माया अझै बढी पाउने छु त्यसमा चाँही विश्वास छ ।
फरक के पाउँछन दर्शकले ?
हाम्रो फिल्म राम्रो छ । फिल्मभित्र कुनै पनि ठाउँमा डबल मिनिङ वा कसैलाई होच्याएर, गिज्याएर जबर्जस्ती हसाउँदैन । पारिवारिक फिल्म बनेको छ तिमी सँग ।
डिरेक्टोरियल पार्ट कस्तो छ फिल्ममा ?
शिशिर दादाको चाहिँ के छ भने उहाँ आँफै पनि धेरै पहिलेदेखि यो फिल्डमा आउनुभएको । धेरै दुख गरेर यो ठाउँमा पुग्नु भएको मान्छे हो । उहाँले सबैलाई समान व्यवहार गर्ने । आफुनै डिरेक्टर आफै एक्टर, आफै प्रड्युसर प्रोडक्सन पनि भ्याए सम्म आफैं गर्ने । यति धेरै काम भूमिका एउटैले गर्दा टिममा रिसिबी या केही हुन्छ तर तिमीसँगमा त्यस्तो केही भएन । सो शिशिर दादाप्रति एकदमै माया र सम्मान छ ।

छिल्लो समय साम्राज्ञी धेरै गसिपको सिकार बनेको छ ? राम्रो हो गसिप बन्नु ?
राम्रो हुँदै होइन । कस्तो हुँदो रहेछ भने गसिपले हामीलाई सतर्क बनाउँदो रहेछ । अहिले म आफैले पनि धेरै सिक्ने मौका पाएँ । केही गर्नु अगाडि धेरै चोटि सोच्नु पर्दो रहेछ । मलाई यी गसिपले कतिपय अवस्थामा स्ट्रोङ पनि बनाएको छ । गसिप बन्यो भन्दैमा मैले काम गर्न छोडिन । बरु त्यसलाई पाठको रुपमा लिएर अझै राम्रो काम गर्छु दर्शकलाई आफ्नो काम राम्रो गरेर देखाउँछु भन्ने हौसला पलायो । बोल्न सक्ने पनि भएको छु । लुकेर बस्नु हुँदो रहेनछ स्ट्रोङली फेस गर्न सक्नु पर्ने रहेछ हरेक कुरालाई र काम गर्न छोड्नु हुन्न ।
भिडियो :-