चकलेटी हिरोको बजार

 अहिले बजारमा भाउ भएका सबैजसो चकलेटी हिरोहरुको समस्या के हो भने उनीहरुले लुक्सका हिसाबले ठिक छन् तर अभिनयमा उही स्तरको निखारता छैन । जबकि फिल्मममा सबैभन्दा बढी चाहिने भनेको अभिनय हो । अभिनय र फिल्म छनोटका मामलामा सतर्क नहुने हो भने उनीहरु सोचेभन्दा चाँडो विस्थापित हुन्छन् ।

अभिनेता अनमोल केसीलाई कुनै पनि निर्माता ५० लाख दिएर फिल्म खेलाउन तयार छन् । ‘लिली बिली’ हिट भए प्रदिपको पारिश्रमिकले पनि राम्रै छलांग मार्ने निश्चित छ । किनकि प्रदिपलाई फिल्ममा साइन गराउने निर्माता निर्देशकलाई वितरकहरु अहिले पनि ८० लाख निर्धक्क लगानी गर्न इच्छुक छन् । अनमोल र प्रदिपको पछि पछि पल शाह पनि छन् जसको पनि बजारमा राम्रै मोल भाउ छ ।

माथि उल्लेख गरेका सबै हिरोमा समान विशेषता छ । त्यो विशेषता भनेको उनीहरुको चकलेटी लुक्स हो । उद्योगमा अहिले एकातिर दीपकराज गिरी, सौगात मल्ल र दयाहाङ राईले लिड गरिरहेका फिल्म छन् भने अर्कोतिर अनमोल र प्रदिपले नेतृत्व गरेका फिल्म । तर, तुलनात्मक रुपमा हेर्ने हो भने चकलेटी अनुहारका हिरोको वर्चस्व बिस्तारै बढ्दै गइरहेको छ । किनकि यो लिस्टमा सलिनमान बानियाँ, धिरज मगर, आशिष पिया, आकाश श्रेष्ठ, निराजन प्रधान, अमृत ढुंगाना आदि पनि थपिंँदैछन् । जोशी दाजुभाइ आयुष्मान देसराज जोशी र आशिरमान जोशी पनि दौडबाट हटिसकेका छैनन् । सलिनले ए मेरो हजुर २मा चकलेटी लुक्सले टन्नै फ्यान कमाइसकेका छन् भने इन्टु मिन्टु लन्डनबाट नेपाली रजतपटमा यात्रा सुरु गर्न लागेका धिरज मगरको पनि फ्यान फलोइङ कम छैन । फिल्मको घोषणा कार्यक्रम मै उनको अटोग्राफ माग्न आउनेको भिडले पनि भविष्यमा उनको पछि पनि निर्माताको लाइन देखिने संकेत गर्छ ।
म्युजिक भिडियो मोडलको रुपमा राम्ररी नै स्थापित निराजन प्रधान पनि राम्रो डेब्यु पाए चकलेटीको भिडमा डिमान्डिङ हुने समर्थ्य राख्छन् । निराजनले प्रेमालय शीर्षकको फिल्मबाट डेब्यु  गर्ने भनिए  पनि उनी कृषा चौलागाईको फिल्ममा साइन भएका छन् । तर फिल्मको नाम अज्झै फिक्स छैन ।

बजारमा अनमोललाई एक नम्बर हिरो मान्नेमा धेरैको दुई मत छैन । सम्भवतः अनमोलपछि गन्ती हुँदा प्रदिप खड्का दोस्रो नम्बरमा आउँछन् । एक पत्रकारको टिप्पणी छ, ‘ अनमोलपछि प्रदिप हुन् त्यसमा शंका छैन । तर उनीहरुको बिचमा पनि ग्याप छ ।’
अनमोल र प्रदिपका बीचमा रहेको ग्यापमा जो कोहिले पनि स्थान बनाउन सक्छ तर यसका लागि माथि उल्लेखित हिरोमध्ये केहीले सही फिल्म र उही अनुसारको डेब्यु दिन सक्नु पर्दछ । यस हिसाबले यो खाली ठाउँमा धिरज मगर वा आशिष पियाले आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । धिरजको इन्टु मिन्टु लन्डनमालाई वर्षकै प्रतीक्षित फिल्म मानिएको छ भने युवा पुस्तामाझ अति नै लोकप्रिय समरलभमा अभिनय गरेका कारण आशिष पियाको पनि सम्भावना उत्तिकै छ । चकलेटी हिरोको बजारमा उनीहरु कहाँ अटाउँछन् भन्ने कुरा चाहिँ उनीहरुको फिल्मको व्यापार र अभिनय क्षमताले निर्धारण गर्नेछ । सार्वजनिक जीवनमा प्रस्तुत हुने रवैयाले पनि बजारमा ठूलो प्रभाव पार्नेछ ।

नेपाली फिल्मको ट्रेन्डलाई नजिकबाट नियालीरहेका पत्रकार गोकर्ण गौतम चकलेटी हिरोहरुको बजार राम्रै भए पनि यस्ता हिरोहरुले लामो यात्रा तय गर्न भने धेरै कुरामा सुधार गर्न पर्ने बताउँछन् ।
‘अहिले बजारमा भाउ भएका सबैजसो चकलेटी हिरोहरुको समस्या के हो भने उनीहरुले लुक्सका हिसाबले ठिक छन् तर अभिनयमा उही स्तरको निखारता छैन । जबकि फिल्मममा सबैभन्दा बढी चाहिने भनेको अभिनय हो । अभिनय र फिल्म छनोटका मामलामा सतर्क नहुने हो भने उनीहरु सोचेभन्दा चाँडो विस्थापित हुन्छन्,’ गौतमले भने ।
उनले चकलेटी हिरोहरुले बडीगार्ड वा अन्य प्रोपोगान्डा गर्नुको साटो अभिनय र भूमिकामा मामलामा मेहनत गर्न सुझाव दिए ।
हुन पनि हो, हिवो राजेश हमाल वा निखिलको जमानासम्ममा पनि नेपाली भाषामा फिल्म बन्नु नै पनि ठूलो कुरा हुन्थ्यो । तर, विश्वव्यापीकरणको प्रभावले मान्छेको चेतनामा पनि ठूलो उथल पुथल ल्याएको छ । गोजीको पैसा खर्च गर्ने सवालमा उपभोक्ताले त्यो सामान मात्र किन्छ जसले उसलाई अधिकतम सन्तुष्टि दिन्छ । यस्तोमा अभिनय र भूमिका छनोटमा ‘स्टेरियोटाइप्ड’ हुन नछाड्ने हो भने चकलेटी हिरोहरुको आयु पनि त्यतिबेलासम्म मात्र रहन्छ जतिबेलासम्म फेयरनेश क्रिमले काम गरिरहन्छ ।