‘शत्रुगते’ हेर्न नेताको भिड

रिलिजको सुरुदेखि नै दर्शकको साथ पाएको फिल्मलाई राजनीतिक दलका नेताहरुले पनि रुचाएका प्रतिक्रिया दिएका छन् । फिल्म हेर्न दिनदिनै नयाँ नयाँ नेताहरु हल धाउन थालेका छन् ।

शत्रुगते मन पराउने लिस्टमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि थपिएका छन् । शुक्रबार बागबजारको सिटीम्याक्स हलमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठसँगै फिल्म हेरेका नेपालले फिल्मले हँसाएको बताएको प्रतिक्रिया दिए । नेपालले हेर्नुअघि राजनीतिक पृष्ठभूमिका झलनाथ खनाल, भिम रावल,जीवनराम श्रेष्ठ, रविन्द्र मिश्र ठाकुर गैरे आदिले पनि फिल्म हेरेका थिए । फिल्मपछि प्रतिक्रिया दिँदै नेता नेपालले फिल्म रमाइलो रहेको प्रतिक्रिया दिए ।

‘फिल्म राम्रो बनेको छ । युवासँगै बृद्धसम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाए पनि छ । फिल्मको बारेमा पहिलादेखि नै सुनेको थिए , तर शत्रु गते हो कि १७ गते हो भन्ने कन्फ्युज थिएँ । पछि नाम किन यस्तो भन्ने पनि लागेको थियो तर फिल्म हेरेपछि थाहा पाएँ,’ उनले भने, ‘ म पहिला नै फिल्म हेर्न आउने तयारीमा थिए तर वरिष्ठ कलाकार मदनकृष्णजीको श्रीमती स्वर्गीय हुनु भएपछि रोकिएको थियो । त्यसपछि आज फुर्सद मिलाएर आएको हुँ । फिल्ममा सबैको भूमिका उत्तिकै राम्रो छ । फिल्म हेर्दा म धेरै ठाउँमा हाँसे । ’

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्मलाई पहिलो दिनदेखि दर्शकले रुचाउँदै आएका छन् । शुक्रबार ठिकठाक व्यापार गरेको फिल्म त्यसयता मल्टिप्लेक्समा आक्रामक देखिएको छ । सिंगल थिएटरमा भने फिल्मले औसत व्यापार गरेको धेरैको अनुमान छ । प्रदर्शनको चौथो दिन नै फिल्म हेर्न पुगेका झलनाथ खनालले भने महसंचारको फिल्मले निराश नबनाउने भन्दै फिल्म हाँसोले भरिएको टिप्पणी गरेका थिए । खनालको प्रशंसाले तानिएर हलसम्म आएको प्रतिक्रिया दिएका सेनापति राजेन्द्रबहादुर क्षेत्रीले कलाकार नीरशाहसँग क्युजमा केही दिनअघि फिल्म हेरेको बताएका थिए ।

‘फिल्म एकदमै राम्रो बनेको छ , यसमा मनोरंजनसंगै संदेश पनि छ’ प्रधानसेनापतिको प्रतिक्रिया थियो ‘मैले अभिनयमा कसैलाई कम्प्लेन गर्न सकिन तर हरिवंशजी र दीपकजीको अभिनय निकै बुलन्द छ । फिल्म हलमा रहदा कहिँ कतै बोर छैन ।’ सोही दिन अन्य सैनिक पदाधिकारीसंगै कांग्रेस नेता जगदीश नरसिंह केसी , नेत्री तथा गायिका कोमल ओली लगायतले पनि फिल्म हेरेर फिल्म मनोरंजनको पूर्ण प्याकेज भएको बताएका थिए ।

माधव नेपालसँगै फिल्म हेरेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि फिल्मले सामाजिक यथार्थलाई मनोरन्जनात्मक तवरले प्रस्तुत गरेको बताएका थिए । ‘समाजमा देखा परेका कुरितीलाई हटाउने सन्देश पनि यसमा छ । फिल्मले हसाउछ भने कहिँ कतै रुवाउने कोशिस पनि गरेको छ । फिल्मको चर्चा सुनिरहेको थिएँ , त्यसमा माधव कमरेडले जाउँ भन्नु भयो त्यसैले फिल्म हेर्न आए । फिल्म हेर्दा समय खेर गएको जस्तो लागेन ।’

तेस्रो सातामा प्रवेश गर्दा फिल्मले ८ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ । फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो , त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

सर्वसाधाण र विविध क्षेत्रका व्यक्तिले फिल्मलाई धाप मारिरहँदा फिल्मले समीक्षकहरुबाट भने तालीभन्दा ज्यादा गाली भेटेको थियो । खासगरी मदनकृष्ण र हरिवंशले अपेक्षा विपरित पैसा कमाउनकै लागि मात्र फिल्म बनाएको आरोप उनीहरुको थियो ।
तस्वीरहरु :आर्यन बिमली