दम साम्राज्ञीको, खुशी नाजिरको

अभिनेता नाजिर हुसेन शुक्रबार बिहानै गोपिकृष्ण हल पुगे । गोपिकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको भन्दै फिल्म ‘तिमी सँग’का निर्देशक शिशिर रानाले फोन गरेपछि उनी गोपि पुगे । गोपिमा उनको खुशी खुबै देखियो । नाजिरले सायदै दर्शकको माया यसअगाडि यसरी पाएका थिएनन् र भिड देखेका पनि थिएनन् ।
किनकी, उनको यो बर्ष नै रिलिज भएको फिल्म ‘राज्जा रानी’ हेर्न दर्शक नै आएनन् । तर, ‘तिमी सँग’ले शुक्रबार र शनिबार राम्रो व्यापार गर्दा नाजिर खुशी थिए ।

हल–हलमा पुग्नका लागि उनीसँग फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र आकाश श्रेष्ठ नै थिएनन् । तर, यो फिल्मले इनिसियल व्यापार राम्रो गर्नुमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडमले मुख्य भूमिका निर्वाहा गरेको छ । तर, यो खुशीमा साम्राज्ञी नै सहभागी हुन पाइनन् ।
हलमा दर्शक तान्ने दम साम्राज्ञीले देखाइन् । तर, खुशी हुने मौका नाजिरले मात्र पाए ।