सत्तालाई आतंकित पार्दै कवि विनोदविक्रम

कालो बादलले ढाकिएको आकाश गड्याङ गुडुङ गर्यो। दर्के झरीको भलबाढीले सडक खोलो बन्यो। छाता र रेनकोटले पनि नधान्ने गरी बर्सिएको पानीको पर्वाह नगरी युवाको एक हूल घरबाट निस्किएर गैह्रापाटनको गन्धर्व नाटकघर पुगिसकेको थियो।

बिहानै ८ बजेबाट विनोदविक्रम केसीका कविता सुन्ने व्यग्रता साँचेर त्यो हूल प्रतीक्षारत थियो। उता सजिलै त आफूलाई केही पनि नचाहिने उद्घोष गर्दै अप्ठेरो मान्छे शीर्षक कविता सिर्जेका केसीलाई कार्यक्रमस्थल पुग्नै अप्ठेरो परिरहेको थियो।

फेवातालभरिकै पानी आकाश उक्लेर झरेझैं गरी भएको वर्षाले शनिबार पोखरामा विनोदका कविताप्रेमीलाई भने रोकेन। खचाखच नाटकघरको छानो पानीले ढकढक्याइरहँदा भित्र भने विनोदका कविताले ‘स्पेलबाउन्ड’ पार्यो।

‘हरेक कविताको कथा हुन्छ’, मञ्चमा उभिएपछि विनोद बोले, ‘हरेक कविताको एउटा कारण र प्रेरणा हुन्छ।’ हस्पिटल भर्ना भएको साथीको कुरुवा हुँदा ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’ भन्ने भित्ते सूचना देखेर लेखेको कविता पाठ गरी केसीले कार्यक्रमको मेलो बढाए।

तपाईं अस्पतालमा बिरामी कुरिरहनुभएको छ

खाडीबाट नआइपुगेको, सद्गत गर्न बाँकी

आफन्तको लास कुरिरहनुभएको छ

यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि

तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ

समीक्षक गुरुङ सुशान्तका शब्दमा विनोद व्यंग्यचेत भरिएका कविता लेख्छन्। ‘व्यंग्य हँसाउन होइन बेथितिलाई प्रहार गर्न प्रयोग गर्छन्’, सुशान्तको थप प्रस्टोक्ति छ। विनोदले पनि त्यस्तै व्यंग्यचेतले भरिएको कविता गोल्डमेडल सुनाएर श्रोताहरूलाई काउकुती लगाइदिए। ओलम्पिक खेल हुँदा नेपालीले गोल्ड मेडल ल्याउन कुर्चीको खेल, चाकरी र चाप्लुसीको प्रतियोगिता गरिनुपर्ने माग गर्दै थिए उनी कवितामा।

बेमतलबी र निष्फ्रिक्री भएर मदमस्त हुने नेपाली युवालाई व्यंग्य गर्दै उनले डेन्जर जोन कविता सुनाए। त्यसमा उनले जति बेला पनि मोबाइलमा क्यान्डी क्रस गेम खेल्न झुन्डिनेहरूप्रति व्यंग्य गरेका थिए। कवितासँग भन्न पनि भ्याए, ‘युरोप अमेरिकातिर त क्यान्डी क्रसको लत छुटाउन रिह्याब सेन्टर खुलेका छन् रे।’ उनले विजेताहरूको इतिहास रटान गराइने शिक्षा प्रणालीमाथि कठोर प्रहार गर्दै बाढी पस्ने खेतबारीको ज्यामिती, झुपडीको अर्थशास्त्र, दुःखको अर्थशास्त्र र आँसुको रसायनशास्त्र पाठ्यक्रममा समेटिनुपर्ने तर्क गरे।

उज्ज्वल प्रसाईं, कल्पना चिलुवाल र उपेन्द्र पौडेलले विनोदका कविता वाचनमा सघाए। कविता वाचनकै बीचतिर समीक्षा गर्दै सुशान्तले विनोदका कवितामा आममान्छेको चासो हुने विशेषता बताए। ‘विनोदका कविताले तल्लो वर्गको निगरानी गर्छ र उपभोक्तावाद अनि विश्व साम्राज्यवादमाथि निरन्तर प्रहार गर्छ।’

सुशान्तले भनेकै जस्तो भूमण्डलीकरण कविता पनि विनोदको वाचनमा छुटेन। पार्टी सदस्यता झोलामा नबोकेरै कविताबाट राजनीति गर्ने कविको संज्ञा सुशान्तले विनोदलाई दिए। ‘विनोदका कवितामा शब्द थोरै हुन्छन् तर ड्याङड्याङ प्रहार गर्ने खालका हुन्छन्’, उनले भने, ‘उनका कविताबाट मान्छेहरू आतंकित भएका छन्। सत्ता संरचना आतंकित भएको छ। उनका कविता पढ्दा भित्रैदेखि आन्दोलित भइन्छ।’

एकसेएक कविताले तरंगित पारिरहेका विनोदले बीचबीचमा ठट्यौली पाराले कविता रचनाका प्रसंग र सन्दर्भहरू जोडिरहे। सानैदेखि पढेको ‘सुन्दर, शान्त र विशाल नेपाल’ भाष्यलाई चुनौती दिँदै नेपाल सानै छ देवकोटाज्यू सुनाइसकेर विनोदले पोखरा लाहुरेहरूको सहर भएको पनि बिर्सेनन्। नेपालीलाई खुन पिपासुको विम्ब बनाइरहेको बेलायतलाई ‘ओ घाम नअस्ताउने साम्राज्य’ शीर्षक कवितामार्फत चुनौती दिए।

झन्डै डेढ दर्जन कविताका बीचमा प्रेमभाव मिसिएका दुई कविता पनि विनोदले समेटेका थिए। अन्तमा विनोद जन्मेहुर्केको काठमाडौंको काँठको परिवेशमा उनकै गीत छोरी लाइदे आल्राम बोलको गीत संगीत श्रोतालाई गुन्गुनाउन लगाएर विनोदले बिट मारे। एकल कविता वाचनमा उभिन विनोदलाई र्यान्डम रिडर्स सोसाइटीले निम्त्याएको थियो।

साभार: अन्नपुर्ण पोस्ट