पिज्जा लिएर घर घरमा केकी र ऋचा !

बैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘कोहोलपुर एक्सप्रेस’ले प्रचार प्रसारको नयाँ तरिका अपनाएको छ । ट्रेलर र गीतबाट उत्कृष्ट प्रतिकृया पाएको फिल्मले प्रदर्शनको २ साता बाँकी हुँदा फुडमान्डुसँगको सहकार्यमा प्रचार प्रसारको नयाँ शैली अपनाएको हो ।

घरमै नास्ता मगाएर खानेहरुको रोजाईमा रहेको फुडमान्डुमा आएका अर्डर अनुसारको नास्ता पुर्याउने जिम्मा केकी र ऋचाले लिएका थिए । उपत्यकाका तीन फरक स्थानमा केकी र ऋचा स्कुटर लिएर पिज्जा डेलीभरी गर्न पुगेका थिए । केकी अधिकारी र ऋचा शर्मा घरघरमा पिज्जा डेलिभरी गर्न पुग्दा त्यहाको माहोल निकै रमाइलो बनेको नायिका/निर्माता केकी अधिकारिले बताएकी छिन् । ‘पहिलो कुरा त फुडमान्डुमा केटा मान्छे मात्र डेलिभरी गर्न जानुहुन्छ, केटी देख्दा छक्कै पर्नु भयो । त्यसमाथी हामीहरु आउछौँ भनेर त थाहा हुने कुरानै भएन । उहाँहरुले निकै राम्रो प्रतिकृया दिनुभयो फिल्मको बारेमा पनि । निकै खुशी छौँ’, केकीले भनिन ।

उनिहरुले खाजासँगै कोहोलपुर एक्सप्रेसको लोगो प्रिन्टेड टिसर्ट उपहार स्वरुप प्रदान गरेका थिए । ‘कोहोलपुर एक्सप्रेस’मा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बिनोद न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । नायिका केकी अधिकारिको डेब्यु निर्माण रहेको फिल्ममा निर्देशक बिशाल भण्डारीको डेब्यु निर्देशन् रहेको छ । फिल्म बैसाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।