मिलनजी, उसो भए केकीसँग फिल्म किन जुधाएको ?

निर्देशक मिलन चाम्सले सधै नै पत्रकारलाई नेपाली फिल्मलाई माया गर्नोस्, साथ दिनुहोस् भन्दै पाठ सिकाउँछन् । लगातार फिल्म निर्देशन गरिरहेका मिलनले नेपाली फिल्म चल्नुपर्छ भनेको हरेक कार्यक्रममा सुनिन्छ ।
तर, फिल्म ‘लिलिबिली’को प्रमोशनका क्रममा भने उनले फिल्म क्षेत्रबाट नै सन्यास लिने घोषणा गरे । उनले ३ बर्षपछि फिल्म नबनाउने र आफ्नै व्यवसायमा फर्किने बताए । उनले, सन्यास लिनुको कारण फिल्म क्षेत्रमा अरुको खुट्टा तान्ने, निर्माता–निर्माता झगडा गर्ने प्रथा व्याप्त रहेको बताए ।

तर, मिलनले यसो भनिरहँदा उनले नै आफ्नो कुरा काटिरहेका छन् । चैत्र ३० गते बलिउडको ठूलो फिल्म ‘२.०’ चल्ने चर्चा चल्दा मिलनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘लिलिबिली’ वैशाख १४ मा ल्याउने कुरा भयो । तर, हिन्दी फिल्मसँग नडराई निर्माता तथा कलाकार रोहित रुम्बाले फिल्म ‘नेप्टे’ चैत्र ३० मै रिलिज गर्ने बताए ।
तर, ‘२.०’ हटेपछि मिलनले फिल्म चैत्र ३० मै ल्याएर रोहितमाथि हमला बोले । मिलनले नै निर्देशन गरेको फिल्म ‘ह्याप्पी डेज’को मिति हिन्दी फिल्मसँग डराएर बारम्बार सारियो । तर, अन्तिममा मिलनले वैशाख १४ मा फिल्म रिलिजको डेट तोके । यो मितिमा पहिले नै अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को मिति तोकिएको थियो । मिलनले एक अभिनेत्रीकै फिल्मको मितिमा लगेर जुधाइदिए । हिन्दी फिल्मसँग डराएर भाग्ने, अनी नेपाली निर्मातामाथि नै कुठाराघात गर्ने काम मिलनले गरेका छन् । अनी, उनै मिलन फिल्म क्षेत्रमा खुट्टा तान्ने काम धेरै भएको भन्दै सन्यास लिन्छु भन्न थालेका छन् । यो त, ‘जो चोर, उसकै ठूलो स्वर’ भनेजस्तो भएन र ?