सांसदकी छोरी नयाँ मिस नेपाल

मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो । तर बुधबार राती अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् । नेपालको समृद्धिका लागि मुख्य तीनवाट काम के गर्नु पर्छ भन्ने मुख्य निर्णायकको प्रश्नमा चित्त बुझ्दो उत्तर दिँदै शृंखलालाई अघिल्लो सालकी मिस नेपाल निकिता चन्दकलाई पूर्व मिस नेपालमा रुपान्तरण गरेकी थिइन् । २२ वर्र्षीय शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारिन् ।शृंखला एमाले सांसद विरोध खतिवडा की छोरी हुन ।मिस नेपाल बनेसँगै छोटो प्रतिक्रिया दिँदै शृंखलाले नेपाललाई मिस वल्र्डको उपाधि दिलाउन आफ्नो तर्फबाट हरसम्भव प्रयत्न गर्ने वाचा गरिन् ।‘यो प्रतियोगितामा भाग लिएदेखि नै देशका लागि मिस वल्र्डको उपाधि लिएर आउने लक्ष्य राखेकी थिएँ । मिस वल्र्ड बन्न लाई मिस नेपाल बन्न पथ्र्यो यो लक्ष्य त मैले पूरा गरेकी छु । अब दोस्रो लक्ष्यका लागि पनि लागिपर्नेछु । देशलाई गर्वित बनाउने केही न केही काम त पक्कै गर्नेछु,’उनले नेपाल टेलिभिजनलाई दिएको छोटो अन्तर्वार्तामा भनेकी थिइन् । बुधबार राति दस बजे सम्पन्न प्रतियोगितामा रोनाली अमात्यले मिस इन्टरनेसनलको उपाधि जितिन् भने प्रिया सिग्देलले मिस अर्थ विजेता बन्न सफल भइन् । विधागत अन्य अवार्डतर्फ रोनाली र प्रियाले क्रमशः ट्यालेन्ट र ब्युटी विथ प्रपोज आफ्नो पोल्टामा पार्न सफल भएका थिए । अघिल्लो सालबाट मात्र नेपालले सहभागिता जनाउन थालेको मिस युनिभर्सको ताज भने मनिता देवकोटाले पहिरिन् सफल भइन् । नग्मा श्रेष्ठले अघिल्लो साल नेपालबाट मिस युनिभर्समा पहिलोपल्ट नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।